असोज १५ र १६ गते हुने प्रदेश अधिवेशनका लागि नेकपा (एमाले) गण्डकीले बिहीबारबाट प्रतिनिधि चयन प्रक्रिया सुरू गरेको छ।
बिहीबार ११ वटै जिल्ला कमिटीले बैठक राखेर मतदाता नामावली रूजु गर्ने तयारी गरेको प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए।
उनका अनुसार शुक्रबार जिल्ला कमिटीले मतदाता नामावली प्रकाशन गर्ने छ। त्यसमाथि दाबी, विरोध सकिएपछि प्रतिनिधि मनोनयन दर्ता सुरू हुने दवाडीले बताए।
असोज ६ गते ८५ (२६ नगरपालिका, ५८ गाउँपालिका) मा प्रतिनिधिका आकांक्षीले उम्मेदवारी दर्ता गर्ने दवाडीले बताए।
‘सकेसम्म सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्नुहोस् भनेर भनेका छौं, सर्वसम्मत नभएका ठाउँमा ९ गते मतदानको मिति तय गरेका छौं,’ प्रदेश सचिव दवाडीले भने।
गण्डकीमा एमालेका ६३ हजार ५ सय ४७ पार्टी सदस्य रहेका छन्। सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको उपसचिव रश्मी आचार्यले जानकारी दिए। उत्पीडित क्षेत्रबाट ६० सदस्य बराबर एकजना प्रतिनिधि रहने छ।
पेशागत, मजदुर, युवा, विद्यार्थी विशेषबाट पनि प्रतिनिधित्व गराइने उपसचिव आचार्यको भनाइ छ। त्यसबाट ५० पार्टी सदस्य बराबर एक जनाको प्रतिनिधित्व रहने पनि उनले बताए।
प्रदेश अध्यक्षको आकांक्षीको भीड
एमाले गण्डकीले असोज १५ गते पोखराको अमरसिंह चौरमा अधिवेशनको उद्घाटन राखेको छ।
मुलुक संघीयतामा गएको ८ वर्षपछि पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनमा प्रदेश अध्यक्ष बन्न केन्द्रीय सदस्य नै मैदानमा उत्रने तयारी गरेका छन्।
पदेन पोलिटब्युरो र कार्यकारी अधिकार प्रयोग गर्न पाइने भएपछि केन्द्रीय सदस्य भूगोलको नेतृत्वमा रूचि देखाएका हुन्।
प्रदेशका एक नेताले दिएको जानकारीअनुसार अहिले केन्द्रीय सदस्य मायानाथ अधिकारी, तिलक महत, कृष्ण थापा, रामशरण बस्नेत, राजीव पहारी अध्यक्षको आकांक्षीको रूपमा देखिएका छन्।
‘प्रदेश अध्यक्ष नै आकांक्षीको रूपमा देखिएपछि प्रदेशको अहिलेको नेतृत्व बिलखबन्दमा परेको छ,’ एक नेताले सेतोपाटीसँग भने, ‘केन्द्रीय कमिटीको जिम्मेवारीमा रहेकाहरूले भूगोलमा रूचि देखाउँदा त्यहीँ काम गरेकाहरू जिम्मेवारीविहीन हुने भए।’
केन्द्रीय कमिटीका सदस्यहरू प्रदेशको नेतृत्वमा आउँदा नेतृत्व जाम हुने एक प्रदेश पराधिकारीले बताए।
‘तलबाट नेतृत्व विकास गर्दै ल्याउनुपर्ने छ। युवा, महिलाको समानुपातिक, समावेशी प्रतिनिधित्वको पनि कुरा छ। तर, हामीकहाँ केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकाहरू पनि तल ओर्लिएर नेतृत्व गर्न खोज्ने प्रवृत्ति देखियो। अधिवेशनले यो प्रवृत्तिलाई पनि निरूत्साहित गर्नुपर्छ,’ ती पदाधिकारीको भनाइ छ।
प्रदेश नेतृत्वको आकांक्षीका रूपमा अहिलेका अध्यक्ष नवराज शर्मा पनि रहेका छन्। त्यस्तै प्रदेश सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्यले पनि रूचि देखाएका छन्।
पृथ्वी सुब्बा र खगराजकै प्रतिस्पर्धा
एमाले गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको बीचमा प्रतिस्पर्धा देखिन्छ।
यद्यपि, प्रदेशको संगठनमा उपमहासचिव पृथ्वीसुब्बाको राम्रै पकड रहेको त्यहीँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू बताउँछन्।
पृथ्वीसुब्बाको चाहना अहिलेकै नेतृत्व दोहोर्याउने छ। बरू अहिलेको कमिटी समावेशी नभएकाले त्यसलाई मिलाएर लैजानुपर्ने उनको बुझाइ छ।
तर, केन्द्रीय सदस्यहरू नै मैदानमा देखिन थालेको र नेताहरू नै बाँडिने अवस्था आएकाले उनी अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको एक नेताले बताए।
‘उहाँ (पृथ्वीसुब्बा गुरूङ) अहिलेका अध्यक्ष नवराज शर्मा र सचिव धनञ्जय दवाडीलाई नै दोहोर्याउनेमा हुनुहुन्छ। तर, खगराज अधिकारीलगायत नेताहरू केन्द्रीय सदस्यलाई बनाउनुपर्छ भन्ने मान्यतामा देखिनुभएको छ,’ ती नेताले भने।
मायानाथ अधिकारी एमालेका पुराना नेता मानिन्छन्। पृथ्वीसुब्बासँगै राजनीतिक गरेका उनी केन्द्रीय सदस्यको भूमिका छन्।
उनलाई अध्यक्ष बनाउनुपर्ने स्थायी कमिटी सदस्य खगराजको मत देखिन्छ। अधिकारी अघिल्लो प्रदेश सभामा एमालेका प्रमुख सचेतक थिए।
२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा पराजित भएका कृष्ण थापाले पनि आकांक्षा राखेका छन्।
तर, उनको पक्षमा केन्द्रीय नेताहरू खुलिसकेका छैनन्।
गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत पनि अध्यक्षको दौडमा देखिएका छन्। उनको आकांक्षा प्रतिनिधि चयनसम्ममात्रै रहने नेताहरू बताउँछन्।
पछिल्लो समय राजीव पहारी पनि अध्यक्षको दौडमा देखिएका छन्। युवा संघका पूर्वअध्यक्ष रहेका उनलाई अध्यक्ष बनाउन पोलिटब्युरो सदस्य महेश बस्नेत लागेको पनि एमालेका नेताले बताए।
‘अन्तिममा सर्वसम्मत नेतृत्व चयन हुने बाटोमा जानसक्छ। चुनाव गराएर गण्डकीको अहिलेको राजनीति बिथोल्न कोही चाहन्छजस्तो लाग्दैन,’ उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट एक नेताले भने।
पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र पृथ्वीसुब्बा गुरूङबीच संवाद बाक्लिएको छ। गुरूङले अध्यक्ष ओलीको कार्यशैलीप्रति विमति राख्छन्। महासचिव शंकर पोखरेलको कार्यशैलीको त गुरूङ आलोचक नै हुन्।
त्यसैले गण्डकी प्रदेशमा गुरूङलाई चिढ्याउने पक्षमा पार्टी अध्यक्ष नदेखिएको ओलीनिकट नेताको बुझाइ छ।
गत भदौ १ गते अहिलको प्रदेश अध्यक्ष नवराज शर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पनि भेटेर नेतृत्वमा दोहोरिने चाहना राखेका थिए।
‘तपाईंले भनेरै म प्रदेश अध्यक्षको जिम्मेवारी लिएँ। कार्यसम्पादन चित्त बुझेको छैन भने भन्नुहोला। नत्र एक कार्यकाल अध्यक्ष दोहोरिने चाहना छ। अहिले मैदानमा केन्द्रीय सदस्य पनि देखिएका छन,’ नवराज शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
जवाफमा अध्यक्ष ओलीले शर्माको कार्यशैली सन्तोषजनक रहेको बताएका थिए। साथै ओलीले शर्मालाई अध्यक्षमा दोहोरिन ‘ग्रिन सिग्नल’ पनि दिएका थिए।
महासचिव पोखरेले पनि ‘काम गर्न नै भूगोलमा खटाएकाले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न’ भनेको स्रोतको दाबी छ।