विराटनगरको मनास्लु इन पार्टी प्यालेसको खचाखच सभाहल र चर्को गर्मीमा पनि सभाहल बाहिर उत्तिकै बढी सहभागी देखेपछि सोमबार समाजवादी मोर्चाका शीर्ष नेता उत्साही देखिन्थे।
पहिचानवादी आन्दोलनका कारण मोर्चाको कार्यक्रमको ब्यानरमा ‘कोशी’ नाम गायब थियो। तर, कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका मोर्चा आवद्ध दलका कार्यकर्तालाई शीर्ष नेताहरूले ‘मोर्चा विस्तारै एकै पार्टीमा परिणत हुने’ आश्वासन दिएर फुरूक्क पार्दै बिदा गरे।
मोर्चाका सबै शीर्ष नेताहरूले उपस्थित कार्यकर्ताहरूलाई मोर्चाको औचित्यबारे बुझाउने प्रयास मात्रै गरेनन्, यो पार्टी एकताको प्रारम्भ भएको सन्देश पनि दिए।
नेताहरूले यस्तो सन्देश दिने अभिव्यक्ति दिइरहँदा कार्यक्रममा उपस्थित कार्यकर्ताहरू तालीले स्वागत गर्थे। मोर्चा एकताबद्ध रहने, विस्तारै पार्टी एकतातिर अघि बढ्ने भनेर नेताहरूले लोभ्याउन खोज्दा हल र बाहिरको प्रांगणमा सबैभन्दा धेरै ताली बज्थ्यो।
सत्तारूढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवको नेकपा कम्युनिष्ट पार्टी आवद्ध मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा आयोजना गरेको थियो।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित चारै जना शीर्ष नेता विराटनगर आएका थिए।
विराटनगरमा सबैभन्दा धेरै ताली प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाए। उनीभन्दा अघि बोलेका माधवकुमार नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री दाहालको नेतृत्वमा राम्रो काम भइरहेको भनेर प्रशंसा गरेपछि उनी हर्षित मुद्रामा पेश भएका थिए।
उनले समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साही पारेको लुकाएनन्।
‘समाजवादी मोर्चाको विभिन्न कार्यक्रमले मलाई उत्साह थपेको छ’, प्रधानमन्त्रीले भने, ‘समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो।’
‘पार्टी एकता नै पो गर्ने कि भन्ने सल्लाह नभएको होइन तर पहिले पनि हतारमा एकता गरेर फुर्सदमा फुटियो’, एमालेसँगको एकताले पाठ सिकाएको संकेत गर्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले अहिले हतारमा पार्टी एकता नगर्ने, बरू विचार मिल्नेहरूबीच मोर्चा बनाएर सहकार्य गर्दै अघि बढ्ने, एउटा आधार तयार भएपछि पार्टी एकता गर्ने हो।’
दाहालले विस्तारै पार्टी एकता हुने अभिव्यक्ति दिँदा सबैभन्दा धेरै ताली पाएका थिए।
पुराना दलहरूप्रति बढेको असन्तोष र नयाँ दलहरूले बढाउँदै लगेको आकर्षणले समाजवादी मोर्चाका कार्यकर्ता आत्तिएको संकेत सन्देश सभामा प्रकट हुन्थ्यो। त्यसैले नेताहरूले पार्टी एक हुने कुरा गर्दा उनीहरू उत्साही भएर हल्ला गर्दै ताली बजाउँथे।
‘वामपन्थीहरूको विगतको एकता टिकाउ भएन’, कार्यक्रममा सहभागी बन्न झापाबाट विराटनगर आएका रमेश रिजालले भने, ‘यो सहकार्य विस्तारै एकतामा पुर्याउनै पर्छ। नेताहरूले यो सन्देश दिएर राम्रो काम गरे।’
प्रधानमन्त्री दाहालले ‘आफूविरूद्ध षड्यन्त्र सुरू भएको’ पुरानै शंका फेरि प्रकट गर्दै कार्यकर्तालाई ताली बजाउन बाध्य पारे, ‘यो कठिन लडाइँमा चार पार्टीको मात्रै होइन, तपाईंहरू सबैको साथ चाहिन्छ।’
आफू नेतृत्वको सरकार कतिन्जेल टिक्छ भन्ने कुराको कुनै चिन्ता नभएको पनि बताउँदै उनले आफूलाई ‘सत्ताको लोभ नभएको’ सन्देश दिन खोजेर फेरि ताली पाए।
विदेशमा भएका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गराएको, मिटरब्याजविरूद्धको कानुन पारित ल्याएको, नागरिकताको समस्या हल गरेको उल्लेख गर्दै उनले भने, ‘यी कामहरू सामाजिक न्यायका पक्षमा भएका राम्रा काम हुन्। यस्ता कामहरूले समाजवादको भ्रूण तयार पार्ने हो।’
उनले अगाडि भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करी जस्ता घटनाले कुशासनका पक्षधर आत्तिएर षड्यन्त्र गर्दैछन्। यो लडाइँ कठिन छ। मोर्चामा आबद्ध पार्टीहरू मिलेर मात्रै यो लडाइँ जित्न कठिन छ। त्यसैले मेरो यो अभियानमा म जनताको साथ खोजिरहेको छु। कति दिन टिक्छु यकिन छैन, त्यसको चिन्ता पनि छैन। तर, यो लडाइँ टुंगोमा पुर्याएर मात्रै छोड्नेछु।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वमा भइरहेका भ्रष्टाचारविरोधी काम, सामाजिक न्यायका कामहरूको सूची बनाएर समाजवादी मोर्चा गाउँ–गाउँ जानुपर्ने बताए।
‘म प्रधानमन्त्रीजीलाई सुझाव दिन्छु’, नेपालले भने ‘तपाईंको नेतृत्वमा धेरै कामहरू भएका छन्, ती कामहरूको सूची तयार पारौं। बुँदागत रूपमा तयार पारेको सूची लिएर मोर्चा तलैसम्म जाउँ यसले हाम्रो कामबारे जनतालाई थाहा हुनेछ।’
माधव नेपालले दाहाल नेतृत्वको सरकारको कामको अपनत्व मोर्चाले लिने बताउँदा पनि कार्यकर्ताले तालीको समर्थन प्रकट गरे।
उनले पनि सबैभन्दा धेरै समर्थन एकतावाला कुरामै पाए।
‘विचार मिल्ने राजनीतिक शक्तिहरू एकतामै पुग्न सक्छौं’, नेपालले भने ‘समाजवादी मोर्चा विचार मिल्नेहरूको साझा अभियान हो। मोर्चाको स्थापनाले मुलुकमा आशा बढाएको छ। इतिहासको रथलाई अगाडि लैजाने शक्तिका रूपमा यो अभियान सुरू भएको हो। मिसन समाजवाद यसको लक्ष्य हो।’
‘मोर्चाबारे अनेक शंका गरिएका छन्’, उनले अगााडि भने, ‘कसैले पनि नकारात्मक टिप्पणी गर्न जरूरी छैन।’
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले मोर्चा कसैको विरूद्ध नभई मुलुकको निकासका लागि बनाइएको बताए।
उनले मोर्चाको सहकार्य कांग्रेससँग पनि भइरहेको बताए।
‘कांग्रेसकै केही साथीहरूलाई भ्रम परेको रहेछ, यस्तो भ्रमबाट मुक्त हुनस्’, यादवले भने, ‘विकास, शान्ति, स्थिरता र समृद्धिका लागि मोर्चा बनेको हो। तर, संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध उभिनेहरूविरूद्ध मोर्चा सशक्त रूपमा पेश हुनेछ।’
सोमबारको कार्यक्रममा सबैभन्दा धेरै ताली पाउने नेता थिए नेत्रविक्रम चन्द विप्लव।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुलुक पेचिलो अवस्थामा पुगेका कारण मोर्चा जरूरी भएको बताउँदै दोहोर्याए ‘कमरेड प्रचण्ड, माधव कमरेड तपाईंहरू सरकार सम्हाल्नुस्, हामी सडक सम्हाल्छौं। जब मुलुक समस्यामा पर्छ, माओवादीहरू एक हुन्छन्, कम्युनिस्टहरू एक हुन्छन्। समाजवादीहरू एक हुन्छन्। यसमा सबैजना ढुक्क हुनुभए हुन्छ।’