नेकपा (एमाले) को भोलिबाट प्रदेश अधिवेशन सुरू हुँदै छ। वैशाख २८–३० मा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले २०८० साललाई अधिवेशनको वर्ष बनाउने निर्णय गरेको थियो।
त्यहीअनुसार एमालेले शनिबारदेखि प्रदेश तहका कमिटीबाट अधिवेशन सुरू गर्न लागेको हो।
लुम्बिनीबाट एमालेले प्रदेश अधिवेशन गर्दै छ।
कार्यकारी र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय नेताहरू नै प्रदेश अध्यक्षको दौडमा देखिएका छन्।
पोलिटब्युरो सदस्य भइसकेकाहरू पनि कार्यकारी भूमिकाको लोभमा प्रदेशको नेतृत्व गर्न इच्छुक देखिएको नेताहरूले बताएका छन्।
त्यतिमात्र होइन, प्रदेशका अधिवेशनहरूबाट चुनिएर आउने नेतृत्वले नेकपा (एमाले)भित्रको शक्ति–संघर्षलाई पनि देखाउने नेताहरूले बताएका छन्।
लुम्बिनीमा विष्णु पौडेल भर्सेस शंकर पोखरेल
साविक लुम्बिनी अञ्चल छँदै त्यहाँको एमालेको राजनीति विष्णु पौडेल भर्सेस शंकर पोखरेलजस्तो देखिएको थियो। नवौं महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपमहासचिवमा पोखरेल र पौडेलले उम्मेदवारी दिएका थिए।
पौडेल उपमहाचिव निर्वाचित हुँदा पोखरेल पराजित हुन पुगे।
त्यतिबेला पोखरेललाई प्रतिस्पर्धी ठानेका पौडेलले हाल एकीकृत समाजवादीका महासचिव रहेका घनश्याम भूसाललाई सघाएको आरोप पनि लाग्यो।
गत निर्वाचनमा पनि लुम्बिनी प्रदेशको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार तय गर्दा पनि उनीहरूबीच टकराव देखिएको थियो। त्यसको असर निर्वाचन परिणामा पनि परेको एमालेका नेताहरूको बुझाइ छ।
आरोपहरूलाई सत्य मान्ने ठोस तथ्य त भेटिँदैन। तथापि उनीहरूबीच अहिले पनि प्रतिस्पर्धा नै देखिन्छ। प्रदेशको अधिवेशनमा एमाले अध्यक्ष ओली खेमाकै दुई गुट मैदानमा देखिएका छन्।
लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ (भोलि)बाट सुरू हुँदै छ। अधिवेशनको रौनक बढ्दै जाँदा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको चुनावजस्तो देखिएको छ।
अहिले मैदानमा देखिएका आकांक्षीमा राधाकृष्ण कँडेल पौडेलनिकट हुन् भने हरि रिजाल महासचिव पोखरेलनिकट हुन्।
दुबै गुटले अहिले छुट्टाछुट्टै भेलालाई तीव्रता दिइरहेका छन्।
रिजाललाई १२ जिल्ला अध्यक्षमध्ये अधिकांशको समर्थन देखिएको छ। लुम्बिनी प्रदेशमा ८२ हजार ८९५ संगठित सदस्यमध्येबाट १ हजार ४ जना प्रतिनिधि चुनिएका छन्।
पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने अधिवेशनमा सर्वसम्मत नेतृत्व छानिने सम्भावना बढेर गएको एमालेका एक नेताले बताए।
अहिले राधाकृष्ण कँडेल प्रदेश अध्यक्ष छन् भने उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ छन्। प्रदेश सचिव भने दाङका लक्ष्मण आचार्य रहेका छन्।
को बन्दै छ सुदूरपश्चिम प्रदेश अध्यक्ष?
एमालेले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन असोज २१ र २२ गते गर्दै छ। अहिले पार्टी सदस्यता प्रमाणीकरणको काम भइरहेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेशमा ५२ हजारको आसपासमा संगठित सदस्य रहेका छन्। सदस्यताको प्रमाणीकरण सकिएपछि भदौ मसान्तभित्र प्रतिनिधि छनोट हुने उनले जानकारी दिए।
सात भूगोल र एक गैरभूगोलमध्ये अन्तिममा अधिवेशन हुने भए पनि सुदूरपश्चिम प्रदेश अध्यक्षमा आकांक्षीहरूको दौडधुप तीव्र भइसकेको छ।
अहिले अध्यक्ष रहेका दामोदर भण्डारी दोहोरिन पाउँदैनन्। बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकाले उनले प्रदेश अध्यक्ष बन्न नपाउने भएका हुन्।
अहिले प्रदेश अध्यक्षको दौडमा कृष्ण जैसी, लालबहादुर थापा र बचनबहादुर सिंह देखिएका छन्। यद्यपि अधिवेशन नजिकिँदै जाँदा आकांक्षी बढ्ने नेताहरूले जानकारी दिएका छन्।
कर्णालीमा ४ जना पोलिटब्युरो नै आकांक्षी
एमालेले कर्णाली प्रदेशमा असोजको १० र ११ गते अधिवेशन गर्दै छ। कर्णली प्रदेशमा ५०–५२ हजार हाराहारी संगठित सदस्य रहेको एमालेले बताएको छ। एक–दुई दिनभित्र प्रतिनिधि छनोटको मिति टुंगो लाग्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
कर्णाली प्रदेशबाट एमालेमा ४ जना पोलिटब्युरो सदस्य छन्।
गुलाबजंग शाह, भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लक्ष्मी पोखरेल पोलिटब्युरो सदस्य हुन्। चारै जना पोलिटब्युरो सदस्य प्रदेश अध्यक्षको दौडमा रहेको चर्चा चलाइएको छ। तर, पहिल्यै पोलिटब्युरो सदस्य भइसकेकाले उनीहरूको प्रदेश अध्यक्षमा खासै रूचि नदेखिएको एमालेको नेता बताउँछन्।
‘म अहिले नै पोलिटब्युरो सदस्य छु। प्रदेश अधिवेशन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारको चर्चा गर्नु त्यति सान्दर्भिक हुँदैन। म नेताहरूसँग सरसल्लाहमै छु,’ पोलिटब्युरो सदस्य शाहले भने, ‘नेताहरूले प्रदेशमा काम गर्नुहोस् भन्नुभयो भने तयार छु, मै हुनुपर्यो भनेर हिँड्ने कुरा आउँदैन।’
अहिलेका प्रदेश अध्यक्ष विनोद शाह दैलेख २ (ख) बाट प्रदेश सभामा निर्वाचित भएकाले उनी प्रतिस्पर्धामा छैनन्। एमालेको २३ औं सचिवालय बैठकले सांसदहरूलाई कार्यकारी कमिटीमा उठ्न निषेध गरेको छ।
सचिव कमल शाही जिम्मेवारीबाट बिदा भइसकेका छन्। त्यो ठाउँमा उपसचिव टेकराज पछाईं आएकाले उनको पनि दाबी रहेको एमाले नेता बताउँछन्।
त्यसका अतिरिक्त केन्द्रीय सदस्य नीरज आचार्य, विष्णु रिजाल, राजबहादुर बुढा, नगिन्द्र शाहा, दल रावललगायतको नाम चर्चामा रहेको एमाले नेताहरू बताउँछन्।
त्यस्तै ध्रुवकुमार शाही, रवीन्द्र शर्मा, राजबहादुर शाही पनि चर्चामा छन्।
गण्डकीमा आकांक्षीको लर्को
एमाले गण्डकी प्रदेशको अधिवेशनको मिति भदौ १५ र १६ गते तय भएको छ। गण्डकी प्रदेशमा ६० हजार हाराहारी संगठित सदस्य छन्। त्यही सदस्यमध्येबाट प्रतिनिधि चुनिएर प्रदेश अधिवेशन हुने हो।
प्रतिनिधि छनोटको मिति भने तय भइनसकेको इन्चार्ज गोकर्ण विष्टले बताए।
प्रदेश अधिवेशनको तिथि नजिकिँदै जाँदा मैदानमा झन्डै ७ जना आकांक्षी देखा परेका छन्।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, राजीव पहारीलगायत नेताहरू मैदानमा देखिएका छन्।
अधिकारी पुराना नेता हुन्। उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँगै राजनीति गरेका उनी उनैसँग निकट पनि छन्।
थापा पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यसँग पराजित भएका हुन्।
प्रदेश अध्यक्षको दौडमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य पनि छन्।
यसमध्ये म्याग्दीका अहिलेका प्रदेश अध्यक्ष शर्माकै सम्भावना बलियो रहेको स्रोतले बतायो। उनले केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललाई भेटेर ‘ग्रिन सिग्नल’ लिएर गइसकेका छन्।
उनले छोडे धनञ्जयको सम्भावना बलियो देखिएको छ। अध्यक्ष सचिव दुबै उपमहासचिव गुरूङनिकट पनि हुन्।
यसका अलावा गोरखाका रामशरण बस्नेत, बाग्लुङका हिरा केसी आदिको नाम पनि चर्चामा छ।
गण्डकीमा अहिले पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारीबीच प्रतिस्पर्धाजस्तो देखिएको छ। दुबै आफूनिकट नेताहरूलाई प्रदेश अध्यक्षमा जिताउने गरी तयारी गरिरहेको एमाले नेताहरूले बताए।
बागमतीमा कैलाश ढुंगेल र खेम लोहनीमध्ये एकको सम्भावना
बागमती प्रदेश असोज ८ र ९ गते प्रदेश अधिवेशन हुँदै छ। उद्घाटन भृकुटीमण्डपमा गरेर बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले तयारी छ।
एमालेले बागमती प्रदेशको इन्चार्जमा गुरू बराललाई तोकेको छ।
बागमती प्रदेशमा एमालेलेको एक लाख ७ हजार हाराहारी प्रतिनिधि रहेको कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए। एमाले बागमतीले भदौको २७ गते प्रतिनिधि छनोट गर्दै छ।
बागमती प्रदेशबाट करिब एक हजार ५० देखि १ हजार १ सयको हाराहारीमा प्रतिनिधि छानिने पोखरेलले जानकारी दिए।
बागमती प्रदेशको अध्यक्ष बन्न पोलिटब्युरो सदस्य महेश बस्नेत, रामेश्वर फुयाल, अरूण नेपालले चासो देखाएका छन्।
यद्यपि पदेन पोलिटब्युरो सदस्य बन्न पोलिटब्युरोबाटै नेताहरू प्रदेशमा जाने सम्भावना आफूले कम देखेको महेश बस्नेतले बताए।
‘मेरो पनि प्रदेश अध्यक्षमा रूचि छैन। अहिले नै पोलिटब्युरो सदस्य छु, पदेन बन्न किन जानुपर्यो र!,’ उनले भने।
रामेश्वर फुयालले पनि प्रदेश अध्यक्षको दौडमा आफू नरहेको र यसको अहिले चर्चा गर्नु सान्दर्भिक नहुने बताए।
एमाले नेताहरूले दिएको जानकारीअनुसार अध्यक्षमा धादिङका खेम लोहनी र रामेछापका कैलाश ढुंगेलबीच प्रतिष्पर्धा देखिएको छ। हुन त केन्द्रीय सदस्य माधव ढुंगेल पनि केही अघिसम्म अध्यक्षका आकांक्षी थिए। तर, उनलाई २४ औं सचिवालयको बैठकले संगठन विभागको सचिवको जिम्मेवारी दिएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्ण दहाल, चितवनका कृष्णभक्त पोखरेल, दोलखाकी रचना खड्का, नुवाकोटका केशव पाण्डे, चितवनकै विजय सुवेदी पनि प्रतिस्पर्धामा छन्। पाण्डे अहिले प्रदेश अध्यक्ष र सचिव सुवेदी छन्।
पाण्डेप्रति कार्यकर्ता रूष्ट रहेकाले पुनः अध्यक्ष बन्ने सम्भावना न्यून रहेको एक नेताले जानकारी दिए।
मधेसमा रेवती पन्तको सम्भावना
मधेसमा असोज ५ र ६ गते प्रदेश अधिवेशन हुँदै छ। त्यसका लागि भदौ २६ गते प्रतिनिधि छनोटको मिति तय गरिएको छ। संगठन विभागले संगठित सदस्यहरूको रुजु गरी शुक्रबार अन्तिम रूप दिँदै छ। त्यही आधारमा प्रतिनिधिको संख्या निर्धारण हुने एमालेले बताएको छ।
दलित र मुस्लिम समुदायका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एकाइ मानिने, मजदुर विशेष कमिटी भएका जिल्लाबाट १ महिला अनिर्वायसहित २ जना प्रतिनिधि छनोट गर्न जिल्लालाई परिपत्र गरिसकेको एमालेले बताएको छ।
पालिकास्तरबाट छनौट हुने प्रतिनिधिमा खुल्ला, महिला, ४० वर्षमुनिका युवा र अन्य क्षेत्रको समावेशितालाई ध्यान दिन भनिएको एमालेले बताएको छ।
प्रदेश अध्यक्षको प्रतिष्पर्धामा सर्लाहीका रेवती पन्त अगाडि देखिएको एक नेताले बताए। त्यसो त पोलिटब्युरो सदस्य रहेका बाराका पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्य सुमन प्याकुरेलको नाम पनि चर्चामा छ। यद्यपि पौडेल प्रदेशको अध्यक्षको दौडमा नरहेको उनीनिकट नेताले बताए।
यसका अतिरिक्त रामदयाल मण्डल, राजकिशोर यादवले पनि आकांक्षा राखेको एमालेका नेताहरूले बताए।
कोशीमा को-को आकांक्षी छन्?
एमालेले कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते विराटनगरमा गर्दै छ। त्यसका लागि असोज ५ गते सबै पालिकामा एकैदिन प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ।
कोशी प्रदेश अध्यक्षको दौडमा अहिलेका अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टीका चेम्जोङ, सचिव चिन्तन पाठक देखिएका छन्।
त्यसो त कोशी प्रदेशमा पोलिटब्युरो सदस्य विशाल भट्टराईको नाम पनि चर्चामा छ। यद्यपि उनले अहिले अध्यक्षको दौडमा नरहेको बताए। ‘म तल झरेर प्रदेश अध्यक्ष बन्दिनँ। पोलिटब्युरो सदस्य हुँदाहुँदै पदेन बन्नु जरूरी छैन,’ उनले भने।
उनका अतिरिक्त मोरङका विनोद ढकाल, घनश्याम खतिवडाको नाम पनि चर्चामा रहेको छ।