पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे प्रतिनिधि सभाले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्रा भएको बताएका छन्।
बुधबारबाट नेपालमा एमसिसीका परियोजना कार्यान्वयनमा जान लागेका छन्। परियोजना कार्यान्वयनमा गएकै दिन पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधि सभाले गरेको व्याख्यात्मक टिप्पणीलाई ‘झुटको खेस्रा’ को संज्ञा दिएका हुन्।
‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरूले (सत्ता पक्ष) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो,’ बुधबार विराटनगर विमानस्थलमा ओलीले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीले संसदलाई धोका दिनुभयो। पहिला नै पास गर्दा ठीक हुन्छ र हुँदैन भनेर छलफल गर्नुपर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन।’
सिरहामा हुने पार्टी सचिवालय बैठकमा सहभागी हुन अन्य नेताहरूसँगै विराटनगर आइपुगेका ओलीले सञ्चारकर्मीसँग भने, ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ। सोध्नु किन पर्यो? उहिले नै एमसीसीले जवाफ दिएको छ। उहिले नै भनेको छ यो सम्झौता हो। योभन्दा अरू केही पनि हुँदैन। कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरोकार छैन। हामी जान्दैनौं उसैबेला भनेको छ।’
१२ बुँदे व्याख्यात्मक टिप्पणी सम्झौताको अंग नहुने ओलीको भनाइ छ।
एमसिसीबारे जनस्तरबाटै शंका उत्पन्न भएपछि तत्कालीन संसद्ले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेको थियो। ओली नेतृत्वको एमाले भने त्यसबेला माधव नेपालसहितका १४ जना सांसदको पद खारेज हुनुपर्ने भन्दै संसदमा नाराबाजीमा थियो। एमालेको नाराबाजी, वेल घेराउकै बीचमा १२ बुँदे व्याख्यात्मक टिप्पणी घोषणा गर्दै संसदले एमसिसी पारित गरेको थियो। शेरबहादुर देउवा त्यसबेला प्रधानमन्त्री थिए।
यो पनि पढ्नुस्:
एमसिसीको व्याख्यात्मक घोषणासँग सहमत छौं: अमेरिका
आजबाट कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।
एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।
प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी-रातमाटे-नयाँ हेटौंडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल-भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।
नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ।
सडक आयोजनाअन्तर्गत पूर्व(पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।
यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ।
आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ।