नेकपा (एमाले) ले सार्वजनिक लेखा समिति र महिला सामाजिक मामिला समितिको उम्मेदवार टुंगो लगाएको छ।
नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको एक नेताले जानकारी दिए।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
संसद्को विषयगत समितिको निर्वाचन आइतबार हुँदैछ। एमालेको भागमा परेका तीनमध्ये दुई समितिमा उम्मेदवार करिब—करिब टुंगो लागेको एमालेले बताएको हो।
‘सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको टुंगो लागिसकेको छ। अहिलेसम्मको परिस्थिति यो छ,’ ती नेताले भने।
पोखरेल मोरङ—२ बाट निर्वाचित सांसद हुन्।
अनेरास्ववियुबाट राजनीति आरम्भ गरेको पोखरेल विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यसम्म भएका थिए। २०४७ सालमा एमालेको सदस्यता प्राप्त गरेका उनले एमालेका मोरङ जिल्ला अध्यक्ष पनि हुन्।
२०७० सालको संविधानसभा निर्वाचित भएका उनी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरेर सांसद निर्वाचित भएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने पोखरेलले थप राजकीय जिम्मेवारी पाएका थिएनन्।
त्यसैले यसपटक नेतृत्वको रोजाइमा परेको एमालेका नेताले बताए।
यो पनि:
कसलाई बनाउला एमालेले लेखा समितिको सभापति?
महिला तथा सामाजिक मामिला समितिका सभापतिको उम्मेदवार बनाउन लागेका किरण साह रौतहट—२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
२०७७ सालमा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका उनलाई गत मंसिरमा भएको चुनावमा टिकट पाएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
चुनाव जितेपछि उनी गत पुसमा नै एमाले फर्किएका थिए। त्यतिबेला नै सके मन्त्री नभए अरू भूमिका दिने सर्तमा एमाले फर्काएको दाबी एमाले नेताको छ।
साहलाई प्रभु साहले खोलेको आम जनता पार्टीमा राखिएको थियो तर उनले उक्त पार्टीमा बस्न अस्वीकार गरेका थिए। साहलाई आम जनता पार्टीको संसदीय विभाग प्रमुख बनाइएको थियो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको भने केही दिनमा मात्रै उम्मेदवारी टुंग्याइने एमालेले जानकारी दिएको छ।
त्यसको निर्वाचन नै केही दिनपछि गर्ने तयारी भएकाले उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एमालेको एक पदाधिकारीले बताए।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच समितिको भागबन्डा हुँदा एमालेको भागमा ३ वटा समिति परेको थियो।
यो पनि:
यसपालि एमालेले तीन वटा संसदीय समितिको नेतृत्वमा कसरी पायो भाग?
नेपाली कांग्रेसलाई ४, नेकपा (माओवादी केन्द्र)लाई २, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीलाई १—१ वटा समिति दिने सहमति भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भागबन्डामा परेका थिएनन्। रास्वपाले उम्मेदवार, समर्थक र प्रस्तावक जुटाउन सक्ने समितिमा उम्मेदवारी दिने गरी संसदीय दलको बैठकले निर्णय गरेको छ।
आइतबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोमबार मतदान गर्ने गरी तालिका निकालिएको छ।