धरान भानु चोकको घन्टाघरमा राखिएको घडीले शनिबार दिउँसो दुई बजेको संकेत दिँदै थियो, ठीक त्यहीबेला मनकुमार नयुङ नजिकैको घडी मर्मत केन्द्रमा बिग्रेको घडी बनाउन आइपुगेका थिए।
‘बेकारमा तनाव उठाउन खोजियो’, सञ्चारकर्मीको हुलले कुराकानी थाल्नेबित्तिकै उनले दिक्दारी पोखे ‘यस्तो तनावले कसैलाई राम्रो गर्दैन।’
धरान–५ का ४५ वर्षे मनकुमार पेशाले यातायात मजदुर रहेछन्। धरानमा प्रशासनले जारी गरेको निषेधाज्ञाले उनलाई हातको घडी मर्मत गर्ने ‘फुर्सद’ मिलाइदिएको थियो।
यद्यपि यो फुर्सदले उनलाई आनन्दको सट्टा चिन्ता र त्रास थोपरेको मनकुमारको अभिव्यक्तिबाटै झल्किन्थ्यो।
‘विदेशमा गएर हाम्रा मान्छेले पैसा कमाएनन् भने देश चल्नै नसक्ने अवस्था छ। यस्तो देशमा जातका नाममा, धर्मका नाममा लडाइँ झगडा गर्नु राम्रो हुँदैन, गर्नु हुँदैन’ भानु चोकको पिपल छहरीमा उनले भने, ‘आजभोलि हाम्रो धरानमा जे जस्तो हुँदैछ, त्यो राम्रो होइन। हामी वर्षौंदेखि सबै यहाँ मिलेर बसेका छौं, अब पनि मिलेरै बस्नुपर्छ। लडाइँ, झगडा गर्नतिर लाग्नुहुँदैन। त्यतातिर लाग्दा यी यस्तै निषेधाज्ञा, कर्फ्यू, तनाव मात्रै हुनेछ।’
धरानमा निषेधाज्ञा निम्त्याउने काम भने हिन्दूवादी संघसंस्थाले शनिबार गर्ने भनेको ‘धार्मिक र्याली’ थियो। जसका लागि झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट सहभागीहरू आउने प्रचार गरिएको थियो।
केही दिन अघि मात्रै धरानमा एउटा समूहले गोरुको मासु खाएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि सञ्जालमै त्यसविरूद्ध कडा प्रतिक्रिया प्रकट भएको थियो।
‘गौरक्षा’ को वकालत गर्दै आएका हिन्दूवादी संघ–संस्थाहरूले प्रदर्शन गर्ने तय भएको थियो। धरानमा त्यस्तो प्रदर्शन भए प्रतिकार गर्ने चेतावनी पनि सामाजिक सञ्जालबाटै प्रकट भइरहेको थियो।
यस्तो अवस्थाबीच आयोजना हुने ‘धार्मिक र्याली’ ले दुर्घटना निम्त्याउने जोखिम आकलन गरेर सुनसरी प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो।
राजनीतिक दलहरू समेतको सल्लाहमा लगाइएको निषेधाज्ञाले धरानमा हुन सक्ने सम्भावित झडप टार्यो। तर, सर्वसाधारण भने निषेधाज्ञा लगाउने अवस्था नै आउन नहुने बताइरहेका छन्।
यस्तै सोच्नेमध्येका हुन् मनकुमार।
‘धरानमै जन्मेर, हुर्केर यतिको उमेरको भइयो, अहिलेसम्म यस्तो विषयमा तनाव भएको थाहा थिएन’, उनले थपे, ‘यहाँका हामी सबै मिलेर बसेको हो। अब पनि मिलेरै बस्नुपर्छ। त्यो बाहेक अर्को उपाय के छ? त्यसैले यस्तो विषयमा कोही पनि उग्र हुनुहुँदैन।’
यस्तो अवस्थाले निम्त्याउने दुष्परिणामको तुलना उनले व्यक्तिको जीवनसित गरे।
‘अहिले नेपालमा धेरै मान्छे डिप्रेसनमा परेका छन्, व्यक्तिगत जीवनको तनावले त्यहाँ पुर्याएको हो नि’, उनले भने, ‘त्यस्तै जातीय र धार्मिक द्वन्द्वले समाजलाई डिप्रेसनमा लैजान्छ। समाज डिप्रेसनमा परे डरलाग्दो अवस्था हुन्छ। भोलि भोकमरी ल्याउँछ। लडाइँ झगडाको बाटो हिँड्नै हुँदैन। नहिँडौं।’
भानु चोकको पिपल छहारीमा उनीसँगै बसेका धरान ११ का बमबहादुर विकले उनको कुरामा सही थापे।
‘धार्मिक, जातीय कुरालाई लिएर कोसँग कहिलेसम्म झगडा गर्नु?’, उनले सोधे, ‘यसले हामीलाई कहाँ पुर्याउँछ?’
सञ्चारकर्मीहरूसँग यी दुई जना गफिइरहँदा उनीहरूको गफ सुन्न झुम्मिनेको संख्या बढ्यो।
सबैले यी दुवै अधबैंशेको विचारमा सहमति प्रकट गरे।
केही युवा भने धरानमा अहिलेसम्म केही नभएको, बाहिरका मान्छेले धेरै उचालिएर धरानमा तनाव निम्त्याउन खोजेको आरोप पनि लगाए।
‘धरानमा यस्तो तनाव हुन्थेन पनि होला, बाहिरको मान्छेले बढी उचाल्यो’, भानु चोकमै भेटिएका २६ वर्षे युवा अनिश लिम्बूले भने ‘त्यसको ‘ग्राउण्ड’ चाहिँ धरानेले नै दिएको हो।’
उनका अनुसार एउटा समूहले गोरुको मासु खाएको भन्दै भिडिओ प्रचार गर्नु गलत थियो। तर, त्यही निहुँमा अरूले जुलुस गर्नु, सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिनु पनि गलत नै थियो।
‘मैले आज के खाएँ भिडिओ हाल्नु जरूरी छ र ?’, उनले भने, ‘ल एउटाले त्यसो गर्यो अरे, अरूले त्यसैलाई आधार बनाउँदै प्रतिकार गर्न खोज्नु पनि गलत हो।’
उनले भने जस्तै शुक्रबार दिनभर सामाजिक सञ्जालमा चलेको अभियान आक्रामक थियो।
‘शनिबार धरान जाऔं’ भन्ने नारालाई हिन्दूवादी संघ संस्थाले व्यापक पारेका थिए। धरानका सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरूसम्मले पनि पछिल्लो तनावले धरानलाई कुनै असर नपारेको बताइरहेका छन्। तर, धरान बाहिरबाट व्यक्त प्रतिक्रिया र धरान लक्षित प्रदर्शनले भने समस्या ल्याउने जोखिम थियो।
केही साताअघि मात्रै मन्दिरकै अघि चर्च स्थापना भएको भन्दै असमझदारी उत्पन्न भएको धरानमा त्यो विषयले खासै समस्या पारेको थिएन। बरू दलहरूको अगुवाइमा यो विषयमा धरानमा सहमति कायम भइसकेको थियो।
‘यहाँ सुरूमा चर्च–मन्दिर प्रकरणले केही समस्या उत्पन्न हुन खोज्यो’, पूर्वमेयर तिलक राईले भने, ‘तर, केही समयमै साम्य भयो। सहमतिपूर्वक असमझदारी हट्यो। तर, बाहिरका मान्छेले भने यसलाई ठूलो विषय बनाइरहे। यसपटक पनि त्यस्तै देखिन्छ।’
यद्यपि धरान उपमहानगरका मेयर हर्क साम्पाङले यस्तो विषयलाई परिपक्व रूपमा समाधान गर्ने तदारूकता नदेखाएको भन्दै राईले असन्तोष प्रकट गरे।
‘यस्ता समस्या आएपछि समाधानका लागि मेयर र नगर सरकारले तत्कालै पहल लिनुपथ्र्यो’, राईले भने, ‘तर, मेयरमा त्यो परिपक्वता देखिएन।’
शनिबारको प्रदर्शनकैबारे छलफल गर्न पूर्वमेयर राई, कुमारबहादुर कार्की र पूर्व सांसद जयकुमार राईले शुक्रबार इटहरी पुगेर जगत गुरू बाल सन्त मोहन शरणसँग भेटेर छलफल गरेका थिए।
त्यसक्रममा जगत गुरूले निषेधाज्ञा क्षेत्र बाहिर मात्रै सद्भाव र्याली निकालिने वचन दिएका थिए।
‘यस्तो अग्रसरता मेयरबाट पहिल्यै लिइनुपर्थ्यो’, राईले थपे, ‘तर, मेयरले सामाजिक सञ्जालमा सस्तो टिप्पणी लेखेर समय खेर फ्याले। उनले परिपक्वता देखाउनुपर्छ।’
पूर्व मेयर राई धरानमा अहिलेसम्म जातीय र धार्मिक सद्भावमा कहिल्यै खलल नपुगेको र अब पनि नपुग्ने बताउँछन्।
‘देशका विभिन्न भागमा विभिन्न आन्दोलनमा धेरै समस्या आएको सुनेका हौं,’ उनले भने, ‘तर, अहिलेसम्म धरानमा त्यस्तो समस्या केही आएन। अब पनि आउँदैन। हामी आउनै दिँदैनौं। आज पनि धरानमा केही समस्या छैन। जे छ बरू बाहिरै धेरै सुनिन्छ।’
धरानका राजनीतिक दलहरूको अगुवाइमा सद्भाव र्याली आयोजना हुँदा मेयर हर्क त्यहाँ उपस्थित थिएनन्।
सद्भाव कायम गर्न आग्रह गर्दै एउटा अपिल जारी गरेर शनिबार बिरूवा रोप्न जाऔं भनेर फेसबुकमा लेखिरहेका थिए। सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेपछि भने उनले शनिबार बिरूवा रोप्ने कार्यक्रम स्थगन भएको भन्ने सूचना फेसबुकमा लेखेका थिए।
शनिबार धरान प्रवेश गर्ने सबै नाकामा परिचालित सुरक्षाकर्मीले कडाइ गरेका थिए।
इटहरीमा भेला भएर जुलुससहित अघि बढेको धार्मिक र्यालीलाई धरानको सीमा क्षेत्र पानीपियाभन्दा अघि बढ्न सुरक्षाकर्मीले दिएनन्। यसले गर्दा सम्भावित दुर्घटना टरेको सुरक्षा अधिकारीहरू बताउँछन्।
यद्यपि धार्मिक भनेर निकालिएको र्याली ‘धार्मिक’ नारामा मात्रै सीमित थिएन।
विराटनगरको कञ्चनबारीमा निस्केको र्यालीमा होस् अथवा इटहरी, दुवै ठाउँमा गणतन्त्रविरोधी नाराले प्राथमिकता पाएको थियो।
नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागदेखि प्रधानमन्त्री र गहृमन्त्रीसम्मको राजीनामा मागिएको थियो। नारास्थलमा सुनसरी र मोरङका राप्रपाका नेता कार्यकर्ताको उपस्थिति बाक्लो थियो। जुलुसको अघिअघि राप्रपाका चिनिएका नेता कार्यकर्ता लामबद्ध थिए।
त्यसो त शनिबारको जुलुसमा धरानका मेयर हर्क साम्पाङविरूद्ध पनि नारा लाग्यो।
उनले धरानमा इसाई समुदायलाई संरक्षण गरेको भन्दै हिन्दू संघसंस्थाले असन्तोष जनाउँदै आएका छन्।
यद्यपि शनिबार आफैंविरूद्ध पनि नारा लागेपछि भने अरूबेला भन्दा शिष्ट प्रतिक्रिया मेयर साम्पाङले प्रकट गरेका छन्।
‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नुभो, चर्चमा पनि मान्छेको आस्था छ अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानू?’ मेयर साम्पाङले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्नता छैन र कानुनविपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु। धर्मको आडमा राजनीति कसैले नगर्नुहोला।’