कोशी प्रदेश सरकारसम्बन्धी विवाद पुनः सर्वोच्च अदालत पुगेको छ।
पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) कोशीका संसदीय दलका नेता हिक्मतकुमामर कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कार्कीले उत्प्रेषणयुक्त परमादेश तथा जो चाहिने उपयुक्त आदेश गरिपाउँ भनी रिट दायर गरेका हुन्।
सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर थापाले विश्वासको मत पाएका थिए। एमालेले त्यसलाई असंवैधानिक भन्दै आएको छ।
सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।
कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा बैठकमा भने ७७ जना सांसद मात्रै उपस्थित रहेका थिए। नेकपा एमाले र राप्रपाका केही सांसद बैठकमा अनुपस्थित रहेका थिए।
मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिएका थिए भने विपक्षमा ३० जना सांसदले मत दिएका थिए।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि मन्सुरीले सभा चलाएका थिए।
ज्येष्ठ सदस्य मन्सुरीले पनि मतदानमा भाग लिएपछि नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।