राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अनुपस्थित रह्यो।
सोमबार राति सुन प्रकरण छानबिन गर्न उच्चस्तीय समिति बनाउन सरकार तयार भएपछि एमालेले शीतल निवास जान अनुपयुक्त ठानेको भने होइन।
त्यसो त, सुन प्रकरण छानबिनका लागि सरकारले तदारूकता देखाइरहेका बेला राष्ट्रपतिले ‘सक्रिय’ हुन खोजेको कारण देखाएर एमाले सर्वदलीय बैठकबाट पन्छिएको पनि होइन।
राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिसँग असन्तुष्ट भएका थिए।
गत साउन ३१ गते राष्ट्रपतिबाट बोलावट भएपछि ओली शितल निवास पुगेका थिए।
त्यसदिन हार्दिकतापूर्ण कुराकानी हुन नसकेको एमालेका एक पदाधिकारीले बताए।
संसद्लाई नियमित कार्यसूचीमा अघि बढ्न नदिने सूचना टाँसेर बैठक स्थगित गरिरहँदा राम्रो सन्देश नजानेतर्फ राष्ट्रपतिले संकेत मात्र गरेनन्, त्यसको दोष अध्यक्ष ओलीको थाप्लामा हाल्न खोजेको ती पदाधिकारीको दाबी छ।
‘सदन नियमित सञ्चालन हुनुपर्छ। जनताको आवाज बोल्ने थलो लामो समयसम्म अवरूद्ध हुनु हुँदैन। सदन कार्यसूचीमा प्रवेश गर्न नसक्दा जनतामा निराशा छाएको छ। यसको जम्मै दोष तपाईंको थाप्लोमा आउँछ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने।
राष्ट्रपतिको त्यो भनाइबाट ओली असन्तुष्ट बनेका थिए।
‘उहाँले अलि बढी नै सक्रियता देखाउन खोज्नुभएछ। राष्ट्रपतिले सदन अवरोधको दोष अध्यक्ष ओलीकै थाप्लामा आउँछ भनेपछि उहाँले त्यहीँ असहमति जनाउनुभयो,’ एमालेका एक नेताले भने।
नागरिकतासम्बन्धी निष्क्रिय ऐन प्रमाणीकरण गर्ने, अदालतको फैसलालाई अनदेखा गरेर रेशम चौधरीलाई कैद माफ गरिदिनेलगायत काम गरेर राष्ट्रपति संविधानभन्दा दायाँबायाँ जाना खोज्ने, संसद्को अवरोधको दोषी हामीलाई करार गर्ने भन्दै ओली त्यहीँ असन्तुष्टि राखेको एमालेका एक नेताले बताए।
एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि असन्तुष्टि राखेको थियो।
‘प्रधानमन्त्री राति १० बजेसम्म राष्ट्रिय दलसँग बसेर सहमति गर्न खोजिराख्नु भएको छ। आज दिउँसो पनि बैठक बस्दै छ,’ ती नेताले भने, ‘राष्ट्रपतिले फेरि किन बैठक बोलाउनुपर्यो!’
राष्ट्रपति पौडेलले कार्यसूची नै राखेर बैठक बोलाएको भन्दै आज नजाने निष्कर्षमा पुगेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘राष्ट्रपतिले चिया मात्रै खान बोलाउनु भएको होइन, एजेन्डा नै राखेर बैठक बोलाउने कुरा गलत हो, त्यही भएर हामी सहभागी भएनौं,’ सचेतक बर्तौलाले भने।
एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सर्वदलीय बैठक शितल निवासमा केहीबेरअघि सकिएको छ।
बैठकमा राष्ट्रपति पौडेलले बैठक बोलाएर आफू सक्रिय हुन नखोजेको बताएका छन्।
‘सर्वदलीय बैठक राखेर मैले सक्रियता देखाउन खोजेको होइन,’ राष्ट्रपति पौडेलले भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दु:ख पाएको मानिस हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’