कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।
सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।
कोशीमा ९३ जना सांसद छन्।
तर सोमबारको प्रदेश सभा बैठकमा भने ७७ जना सांसद मात्रै उपस्थित रहेका थिए। नेकपा एमाले र राप्रपाका केही सांसद आजको बैठकमा अनुपस्थित रहेका थिए।
मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका छन्।
मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको आजको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।
उपसभामुख सिर्जना दनुवार सोमबार बिहानै काठमाडौं गएकी थिइन्।
उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भएका छन्।
ज्येष्ठ सदस्य मन्सुरीले पनि मतदानमा भाग लिएपछि नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।