कोशी प्रदेशमा सत्ता गठबन्धनले मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतबारे नयाँ रणनीति बनाएको छ।
सभामुखको भूमिका निर्वाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डलमा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो।
गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईले आजै मुख्यमन्त्री थापाले विश्वासको मत लिने बताए।
‘बैठकको अध्यक्षता गर्नुहुने इस्राइल मन्सुरीले पनि मतदान गर्नुहुन्छ, मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ,’ राईले भने।
एमाले र राप्रपाका सांसद बिदामा बसेपछि अध्यक्ष मण्डलमा रहेका कांग्रेसका मन्सुरीले बैठक सञ्चालन गर्नुपर्ने भएको छ।
मन्सुरीले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
यसअघि आफ्नो पक्षमा बहुमत पुर्याउन सभामुखलाई राजीनामा दिन लगाएको गठबन्धनले एमालेबाट निर्वाचित उपसभामुख दनुवारले बैठक चलाए सहजै बहुमत पुग्ने रणनीति बनाएको थियो।
तर एमाले बैठक नै नचलाउने दिशामा गएपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो।
अध्यक्षता गरेका मन्सुरीलाई भोट हाल्नेबारे गठबन्धनले महान्यायाधिवक्तासहित प्रदेशका मुख्यन्यायाधिवक्तासँग पनि परामर्श गरेको गठबन्धनका एक नेताले जानकारी दिए।