नेकपा (एमाले)ले सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक गर्ने भएको छ।
एमालेले पूर्वपश्चिम राजमार्गबाट १४ किलो मिटर उत्तर चुरेनजिकै पर्ने विष्णुपुरकट्टीमा २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिन चौथो महाधिवेशन आयोजना गरेको थियो।
अहिले ३४ वर्षपछि त्यही ठाउँमा सचिवालयको बैठक आयोजना गर्न लागिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।
एमालेले आगामी भदौ ९ गते त्यहीँ ठाउँमा २५ औं सचिवालय बैठक राख्दै छ।
‘पञ्चायत ढाल्ने तरखरमा थियौं हामी। त्यही बेला चौथो महाधिवेशन आयोजना गर्ने कुरा आयो,’ त्यतिबेलाको क्षण सम्झँदै ज्ञवालीले भने, ‘सिराहामा चौथो महाधिवेशन गर्ने भनिएको थियो। ठाउँबारे हामी पनि अनभिज्ञ थियौं। डर र जंगल छिचोल्दै राति–राति त्यहाँ पुगिएको थियो।’
उदरपुरसँग सीमा जोडिएको विष्णुपुरकट्टीमा एक स्थानीयको घरमा महाधिवेशन राखिएको थियो। महाधिवेशन राखिएको घरको तल्लो भाग खुला र माथि कोठा भएको ठूलो कटेरोजस्तो थियो। चोटामा फल्याक ठोकेर बस्न मिल्ने बनाइएको ज्ञवालीले स्मरण गरे।
‘भूमिगतकाल थियो। चोटामा हामी बन्दसत्र गर्थ्यौं। मुनिपट्टि स्थानीयहरू पहरा दिनुहुन्थ्यो। नयाँ मानिसहरू आए भनेर टाढैबाट सोधिखोजी गरेर जानकारी गराउनुहुन्थ्यो। भात–भान्छाको प्रबन्ध पनि स्थानीयकै सहयोगमा गरेका थियौं,’ उनले भने।
त्यतिबेला धनुषा, सप्तरीदेखि स्थानीयले चामल, दाल-तरकारी जुटाएर सहयोग गरेको मुकुन्द न्यौपानेको अनुभव छ।
‘वारेन्ट जारी भएका नेताहरू लुकिछिपी महाधिवेशन स्थल आउनुपर्ने भएकाले सुरक्षित स्थान खोज्दै जाँदा त्यहाँ पुग्नुपरेको हो।त्यतिबेला कोही जयनगर, निर्मलीबाट नेता आउनुपर्ने अवस्था थियो। अर्को, महाधिवेशन आयोजना गर्न पार्टीको जनाधार राम्रो भएको ठाउँ पनि चाहियो। त्यही भएकाले उदयपुरसँग जोडिएको चुरे नजिकैको ठाउँ छनोट भएको हो,’ उनले भने।
मदन भण्डारी महासचिव निर्वाचित भएको ठाउँ
२०४३ वैशाख २९, जेठ ५ र जेठ १२ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भएको थियो। तत्कालीन नेकपा माले (२०४७ सालमा मार्क्सवादीसँग एकता गरेपछि एमाले बनेको) ले राष्ट्रिय पञ्चायतको निर्वाचन उपयोग गर्ने नीति लिएको थियो। दलहरू माथि प्रतिबन्ध लागेकाले १ हजार ५ सय ४८ जना स्वतन्त्र उम्मेदवारमध्ये मालेका पनि उम्मेदवार थिए। मालेका ७ जना उम्मेदवारले जिते। पद्मरत्न तुलाधर, जागृत भेटवाल, सोमनाथ प्यासीलगायतले जितेका थिए।
त्यस्तै २०४३ चैत ७ र १० गते भएको निर्वाचनमा पनि मालेले आफ्ना उम्मेदवार उठाएका थियो। जसमा १ सय ५० बढी प्रधानपञ्च, त्यसको दोब्बर तीन सयदेखि ३ सय ५० को हाराहारीमा उपप्रधानपञ्च र एक हजारजति वडाध्यक्षलगायत प्रतिनिधि जितेको थियो।
त्यसपछि बहुदलीय प्रतिस्पर्धाको वैचारिक आधार फराकिलो भएको मुकुन्द न्यौपानेले बताए। विष्णुपुरकट्टीको महाधिवेशनले माओत्सेतुङ विचारधारा छाड्दै पार्टीको मार्गदर्शक सिद्धान्तको रूमा मार्क्सवाद लेनिनवाद मात्रै मान्ने निष्कर्ष पनि निकालेको थियो।
‘२०४३ देखि २०४६ सम्म पुग्दा बहुदलीय जनवादको वैचारिक आधार तयार भइसकेको थियो। मदन भण्डारीले आफ्नो छवि विस्तार गरिसक्नुभएको थियो,’ न्यौपाने भन्छन्, ‘विष्णुपुरकट्टीको महाधिवेशनले मदन भण्डारीलाई नेतृत्वमा पुर्याउने अवस्था बन्यो।’
२०३९ सालमा तत्कालीन मालेको महासचिव झलनाथ खनाल थिए। हाल मालेको महासचिव रहेका चन्द्रप्रकाश मैनाली (सिपी)लाई विस्थापित गरेर उनी महासचिव बनेका थिए।
२०४६ सालमा खनालले मदन भण्डारीलाई महासचिव प्रस्ताव गरेको ज्ञवालीले बताए।
‘त्यो एउटा महत्त्वपूर्ण परिघटना थियो। ९० हाराहारी प्रतिनिधिको बीचमा आफैंले राजनीतिक–वैचारिक दस्तावेज प्रस्तुत गरेर खनालले मदनलाई महासचिव प्रस्ताव गर्नुभएको थियो,’ उनले भने।
त्यही महाधिवेशनले बहुदलीय व्यवस्थाका लागि संघर्ष, संयुक्त जनआन्दोलन, पञ्चायती व्यवस्थाको अन्त्यको नीति लिएको पनि ज्ञवालीले बताए। पछि मंसिरमा कास्कीको साराङकोटनजिकै बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले संयुक्त जनआन्दोलनमा जाने निर्णय गरेको थियो। कार्यदल बनाएर राधाकृष्ण मैनालीलाई संयोजक तोकिएको थियो।
विष्णुपुरकट्टीलाई एमालेले चौथो महाधिवेशन स्थलकै रूपमा संरक्षण गरेको छ। त्यहाँ मदन भण्डारी स्मृति पार्क पनि बनाइएको छ।
‘त्यही ठाउँमा बैठक गर्नुको ध्येय चौथो महाधिवेशन स्थलको संरक्षण गरौं। आफ्नै आन्दोलनलाई फर्किएर हेरौं र दुरगामी महत्त्वको केही घोषणा पनि गरौं भन्ने हो,’ ज्ञवालीले भने।
यो स्थान अहिले धनगढीमाई नगरपालिकाको १४ नम्बर वडामा पर्छ।
चौथो महाधिवेशनले मदन भण्डारीको नेतृत्वमा जना वैकल्पिकसहित २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।
माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा, चन्द्रप्रकाश मैनाली पोलिट्ब्युरो सदस्य थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली त्यतिबेला जेलबाट भर्खरै रिहा भएकाले केन्द्रीय सदस्यमात्रै चुनिए।
‘एमालेले आफ्नो इतिहास स्मरण गर्नु राम्रो कुरा हो। हामी कहाँबाट आयौं भनेर सम्झनु राम्रो कुरा हो,’ न्यौपानेले भने, ‘आफ्नो इतिहास बिर्सिएर, हिजोका कार्यकर्ता बिर्सिएर पो पार्टी कमजोर भएको त!’
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार चौथो महाधिवेशन आयोजना गरिएको घर हिराबहादुर सुनुवारको हो। हाल उनी दिवंगत भइसकेका छन्।
कम्युनिस्ट पार्टी स्थापना दिवसको ७५ वर्ष पूरा हुँदै छ। त्यही अवसरमा एमालेले हिरक महोत्सव पनि गर्दै छ।
विष्णुपुरकट्टीमा हिरक महोत्सवको स्तम्भ शिलान्यास गर्ने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले बताए।
‘विष्णुपुरकट्टी कम्युनिस्ट आन्दोलनको ऐतिहासिक ठाउँ हो। त्यही भूमिबाट २०१८ सालमा पुष्पलालले ल्याउनु भएको नेपाली कांग्रेससहितको संयुक्त आन्दोलनको नीति पुनः अघि सारेका थियौं,’ सचिव भट्टराईले भने, ‘मदन भण्डारी महासचिव भइसकेपछि पुनः उहाँले कांग्रेससँग सम्वाद गर्नुभएको थियो। त्यसको ऐतिहासिकता उजागर गर्न पनि हामीले त्यहाँ बैठक राखेका हौं।’
के पारित गरेको थियो चौथो महाधिवेशनले?
चौथो महाधिवेशनले चुनेको केन्द्रीय कमिटी