कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक आज बस्ने/नबस्ने अनिश्चित भएको छ।
उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं उडेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने/नबस्ने अनिश्चित भएको हो।
सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक निष्कर्षविहीन भएको छ।
‘प्रदेश सभा बैठक के गर्ने भन्नेबारे हामीले कुनै निष्कर्ष निकाल्न सकेनौं। १ बजेअघि फेरि बस्नेगरी बैठकबाट उठेका छौं,’ कोशीमा कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले भने।
मुख्यमन्त्री थापाका पक्षमा बहुमत पुर्याउन सत्ता गठबन्धनका दलले यसअघि नै सभामुखलाई राजीनामा दिन लगाएका छन्।
सभामुखले राजीनामा दिएपछि उपसभामुख दनुवारले सभामुखको जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ।
दनुवारले बैठक चलाउँदा थापाका पक्षमा विश्वासको मत सजिलै पुग्ने भएकाले उनी सोमबार बिहान काठमाडौं उडेकी हुन्।
उनले बैठक चलाउने जिम्मेवारी कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्।
मन्सुरीले बैठक चलाउँदा थापाका पक्षमा बहुमत पुग्दैन।
सत्ता गठबन्धनका नेताहरूले भने आजको बैठक नै नबस्ने बताएका छन्।
‘परिस्थिति हेर्दा अब आज बैठक बस्दैन,’ माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले भने।
मुख्यमन्त्री थापाले भदौ १३ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ।