हिरासतमा रहेका भुटानी शरणार्थी प्रकरणका दुई प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीमाथि फेरि बयान लिने र अनुसन्धान सुरू हुने भएपछि यस प्रकरणमा काम गरिरहेका प्रमुख प्रहरी अधिकृतहरू फेरबदल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दबाब दिएका छन्।
सभापति देउवाले केही दिनअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेर काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई त्यहाँबाट सरूवा गर्न दबाब दिएका हुन्।
उनीहरूलाई जसरी पनि हटाउनुपर्ने अडान देउवाले राखेको उच्च स्रोतले सेतोपाटीलाई बतायो।
देउवा पत्नी तथा सांसद आरजु राणाले पनि प्रचण्डलाई भेटेर यो प्रकरणमा फेरि अनुसन्धान अघि बढाउन लागेकोमा असन्तोष पोखेकी छन्। साथै देउवानिकट कांग्रेसका केही मन्त्रीले आफ्ना सभापतिको चासो सम्बोधन नगरे गठबन्धन बिस्तारै अप्ठ्यारोमा पर्ने भन्दै प्रधानमन्त्रीलाई सचेत गराएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवालीलाई त्यहाँबाट सरूवा गर्नुपर्ने प्रस्ताव लिएर प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवर पनि केही समयअघि प्रधानमन्त्री दाहालकहाँ पुगेका थिए।
यी सबै दबाब भुटानी शरणार्थी प्रकरणमा १८ जना नयाँ पीडितले उजुरी दिएपछि र त्यसमाथि अपराध अनुसन्धान कार्यालयले प्रक्रिया अघि बढाएपछि सुरू भएको हो।
पछिल्ला केही सातामा लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायत जिल्लाबाट आएका १८ जनाले दुलाल, भण्डारी र रामशरण केसीविरूद्ध तीनवटा किटानी जाहेरी दिएका छन्। आफूलाई भुटानी शरणार्थी बनाइदिने भन्दै उनीहरूले एक करोड ८५ लाख रूपैयाँ ठगेको जाहेरीमा उल्लेख छ।
यी जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाएको छ। नयाँ पीडितले किटानी जाहेरी दिएपछि हिरासतमा रहेका दुलाल, भण्डारी र रामशरण केसीमाथि फेरि अनुसन्धान हुनेछ र फेरि उनीहरूको बयान लिइनेछ।
यसरी भुटानी शरणार्थी प्रकरणमा नयाँ पीडितहरूको जाहेरी अघि बढेपछि र अनुसन्धानको नयाँ क्रम सुरू हुने भएसँगै नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका हुन्।
यसका दुई कारण हुन सक्छन् —
पहिलो, अपराध अनुसन्धान कार्यालयले भविष्यमा पनि थप पीडितबाट जाहेरी लिन सक्छ। त्यसले भुटानी शरणार्थी प्रक्रियामा अनुसन्धानको शृंखला जारी रहन सक्छ। अनि त्यसले भोलि थप नेतालाई लपेट्ने सम्भावना हुन्छ।
एसएसपी केसीले खोजी खोजी पीडितहरूलाई जाहेरी हाल्न 'उक्साएको' आरोप कतिपय कांग्रेसी नेताहरूको छ। भुटानी शरणार्थी प्रकरणमा पछिल्लो पटकको अनुसन्धान अघि बढेर मुद्दा अदालतमा पुगेको पनि दुलाल, भण्डारी, टंक गुरूङ र सन्देश शर्मालाई एसएसपी केसीले नै पक्राउ गरेपछि हो।
दर्जनौंको संख्यामा पीडितहरूले जाहेरी दिँदा पनि केसीभन्दा पहिले अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका एसएसपीहरूले यसमा कारबाही अघि बढाएका थिएनन्।
वर्तमान आइजिपी बसन्त कुँवर उक्त कार्यालय प्रमुख हुँदा नै भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै ८१ जनाले २०७९ जेठ १८ गते उजुरी दिएका थिए। उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी, टंक गुरूङविरूद्ध उजुरी दिएका थिए।
आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन प्रमाणसहित उनीहरूको उजुरी परेको थियो। त्यो बेला यति ठूलो ठगी काण्डमा किटानी जाहेरी परे पनि सुरूदेखि अनुसन्धानमा आलटाल गरियो। मुद्दा परेको दस दिनपछि २०७९ जेठ २८ गते मात्र काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध कार्यालयले पक्राउ पुर्जी लियो।
त्यसको केही दिनमै उनीहरू पक्राउ परे।
पक्राउ परेपछि दुलालले 'काम मिलाउन हामीसँग गृहमन्त्रीसहित सबैले पैसा लिने अनि अहिले प्रहरीले हामीलाई पक्रिने' भन्दै धम्क्याए।
उनीहरू पक्राउ परेको खबर गृह मन्त्रालयसम्मै पुग्यो। पक्राउ परेको केही घन्टामै उनीहरू छुटे। उनीहरू पक्राउ परेको रेकर्डसम्म कार्यालयमा राखिएन।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले नै कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा प्रमुख बनाएर पठाएका थिए। पछि उनलाई पहिलो नम्बरमा राखेर डिआइजीमा बढुवा गरियो। कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले उनलाई आइजिपी नियुक्त गरे।
कुँवरपछि अपराध अनुसन्धान कार्यालयमा २०७९ असार २२ गते जनक भट्टराई प्रमुख भएर आए।
पीडितहरू 'हामीलाई अन्याय भयो, प्रहरीले अनुसन्धान गरेन' भन्न आइरहन्थे तर भट्टराई हुन्जेल पनि अनुसन्धान अघि बढेन। २०७९ पुस २८ मा भट्टराईको पनि अन्तै सरूवा भयो र कार्यालय प्रमुखका रूपमा आए मनोज केसी।
केसी आएपछि पनि पीडितहरू आफू ठगिएको भन्दै धाइरहे। केसीले उनीहरूको कुरा सुनेर यो प्रकरणबारे गहिरो चासो राख्न थाले।
'पीडितहरू त पहिले पनि आउँथे तर उनीहरूको कुरा कहिल्यै सुनिएन,' अनुसन्धान कार्यालयमा कार्यरत एक अधिकृतले भने, 'मनोज सरले भने उनीहरूको कुरा सुन्न र केस बुझ्न थाल्नुभयो।'
केसीले चाँडै नै यो प्रकरणको गाम्भीर्य र सम्भावित राजनीतिक 'कनेक्सन' बुझे। सानो टिम खडा गरेर गिरोहका प्रमुख सदस्यहरूमाथि निगरानी बढाए र उनीहरूलाई समात्ने उपयुक्त समय खोज्न थाले।
'कुन मितिमा समात्ने भन्ने महत्त्वपूर्ण थियो। किनभने उनीहरू शक्तिशाली थिए र पहिले पनि समातेकै दिन छुटेका थिए,' ती अधिकृतले भने, 'मनोज सरले बडो रणनीतिक हिसाबले मिति छान्नुभयो।'
उनले अघिल्लो आइजिपी बिदा भइसकेको र अर्को आइजिपी आउन बाँकी रहेको समयमा २०७९ चैत १२ गते बिहानै गिरोहका तीन प्रमुख सदस्य केशव दुलाल, टंक गुरूङ र सानु भण्डारीलाई समाते।
चैत १० गते आफ्नो कार्यकाल सकेर आइजिपी धिरजप्रताप सिंह बिदा भएका थिए। नयाँ आइजिपी नियुक्त भएका बसन्त कुँवरले १२ गते १० बजेबाट कार्यकाल सम्हाल्दै थिए। कुँवर आइजिपीको कुर्सीमा बस्नुअघि नै त्यही दिन बिहान तीन जनालाई केसीले समातिसकेका थिए।
त्यसै दिन तीनै जनाको प्रारम्भिक बयान लिएर केसीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाए। अनुसन्धान कार्यालयले पक्राउ गरे पनि बयान र विस्तृत अनुसन्धानका लागि परिसरलाई बुझाउनुपर्छ।
यसरी राजनीतिक खतरा मोलेर केसीले भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारहरूलाई पक्राउ गरेका थिए। तिनै केसीले यसपालि पनि थप पीडितहरूको जाहेरी अघि बढाएपछि उनलाई त्यहाँबाट जसरी पनि हटाउने कसरतमा कांग्रेसको नेतृत्व लागेको हो।
त्यस्तै काठमाडौंका तीनवटै जिल्ला हेर्ने गरी गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवालीलाई हटाउन खोज्नुको पनि कारण छ।
अपराध अनुसन्धान कार्यालयले आरोपीहरूलाई बुझाएपछि भुटानी शरणार्थी प्रकरण छानबिनको काम जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुखका रूपमा एसएसपी दानबहादुर कार्कीले गरिरहेका थिए। त्यो छानबिन राम्ररी अघि बढेको थिएन। त्यसमा आफैं पहल गरेर उपत्यका प्रहरी प्रमुख ज्ञवालीले अनुसन्धान अघि बढाएका थिए।
ज्ञवालीले पूर्व-गृहसचिव टेकनारायण पाण्डेलाई आफ्नै कार्यालय बोलाएर बयान लिएका थिए। उक्त बयानले नै उनलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म पुर्याएको थियो। ज्ञवालीले आइजिपी कुँवरलाई जानकारी पनि नदिई खाणलाई पक्राउ गरेका थिए।
अब नयाँ जाहेरीसहित सुरू हुने नयाँ बयान र अनुसन्धानमा पनि ज्ञवालीले सक्रियता लिन सक्छन्। त्यसैले उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट हटाउन देउवासहित कांग्रेसका नेताहरूले जोडबल गरेका हुन्।
खाणलाई जोगाउन प्रहरीभित्रै भएको चलखेलको पनि ज्ञवालीले पर्दाफास गरेका थिए।
के थियो त्यो चलखेल?
काठमाडौं जिल्ला प्रहरी परिसरले गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरूङको २०७९ चैत १३ गते नै प्रारम्भिक बयान लिएको थियो। उक्त बयानमै भण्डारीले पूर्वगृहमन्त्री खाणलाई आफूहरूले एक करोड २५ लाख रूपैयाँ दिएको भन्दै उनको नाम भनेका थिए। भण्डारीले भटाभट 'हाइ-प्रोफाइल' व्यक्तिहरूको नाम पोल्न थालेपछि भोलिपल्टदेखि उनीहरूको बयान लिनै रोकियो। चैत १३ गते भएको बयान त्यसपछि एकैपटक चैत २४ गते मात्र लिइयो।
ती दस दिनमा के भयो?
भण्डारीले खाणको नाम भनेपछि त्यो खबर उनीसमक्ष पुग्यो। हिरासतमा रहेका दुलाल र भण्डारीसँग सम्पर्क बढाउने र कुरा मिलाउने प्रयत्न खाणले सुरू गरे। खाणका पिए नरेन्द्र केसीले दुलाल र भण्डारीसम्म पुग्न कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग सहयोग मागे। शेर्पाको गिरोहका सदस्यसँग राम्रो हिमचिम थियो। शेर्पा आफैं पनि अमेरिका पठाइदिने भन्दै मानिसहरूसँग पैसा उठाउँथे।
खाणको दूतका रूपमा शेर्पाले हिरासतमा गएर दुलाल र भण्डारीलाई जम्मा तीनपटक भेटे। उनको पहिलो भेट प्रहरीको रेकर्डमा छैन। चैत २३ र २९ गते भेटेको कुरा भने जिल्ला प्रहरी परिसरको रेकर्डमा देखिन्छ।
शेर्पासँगको पहिलो भेटमै दुलाल र भण्डारीले आफूहरूले खाणलाई सवा करोड रूपैयाँ बुझाएको र त्यो पैसा फिर्ता गरे अर्को बयानमा उनको नाम नभन्ने सर्त राखे। दुलाल र भण्डारीको त्यही सन्देश आङटावा शेर्पाले खाणका पिए केसीलाई सुनाए। केसीले केही दिनमै शेर्पालाई आफ्नै घरमा बोलाएर एक करोड रूपैयाँ दिए। त्यो एक करोडमध्ये शेर्पाले ७० लाख आफैं राखेर ३० लाख रूपैयाँ सानुका दाइ राजु भण्डारीलाई बुझाए।
शेर्पाले उक्त ७० लाख रूपैयाँ आफूले पैसा उठाएका पीडितहरूलाई बुझाएको अनुमान छ। राजु भण्डारीले प्रहरीसमक्ष आएर आफूले शेर्पाबाट ३० लाख बुझेको कागज गरिदिएका छन्।
यसरी खाणले दुलाल र भण्डारीलाई पैसा फिर्ता गरेपछि चैत २४ गते मात्र उनीहरूको दोस्रोपटक बयान लिइयो। उक्त बयानमा भण्डारी र दुलाल दुवैले खाणको नाम लिएनन्। बरू अघिल्लो बयानमा आवेशमा आएर मात्र उनको नाम पोलेको बयान दिए।
उनीहरूले बयान फेरे पनि खाणका तर्फबाट शेर्पाले उनीहरूलाई पैसा बुझाएको प्रमाणसहित प्रहरीले सरकारी वकिलकहाँ मुद्दा बुझायो। र, सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लग्यो। अहिले अदालतको आदेशमा खाण, दुलाल, भण्डारीसहित करिब डेढ दर्जन व्यक्ति हिरासतमा छन्। मुद्दाको अन्तिम फैसला भएको छैन।
अब फेरि बयान र अनुसन्धान सुरू भयो भने दुलाल र भण्डारीले फेरि खाण लगायत कांग्रेसका अरू नेतालाई पनि पोल्न सक्छन् भन्ने डर कांग्रेस नेतृत्वमा परेको देखिन्छ।
अस्ति बयान फेरेको भए पनि यसपालि दुलाल र भण्डारीले खाणविरूद्ध बयान दिए भने उनीविरूद्ध अदालतमा विचाराधीन मुद्दा झनै बलियो हुनेछ। अरू नेतालाई पनि पोले भने त्यसले 'नयाँ लफडा' सुरू हुने डर कांग्रेसलाई छ।
त्यसैले एआइजी श्याम ज्ञवाली र एसएसपी मनोज केसीलाई उनीहरूको कार्यालयबाट सरूवा गरेर अन्तै लैजान कांग्रेसले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको हो। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीलाई भने हटाउन नहुने उनीहरूको जिकिर छ।
'प्रधानमन्त्रीले अहिलेसम्म त दबाब थेग्नुभएको छ तर भविष्यमा के हुन्छ थाहा छैन,' उच्च स्रोतले भन्यो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा राम्रो भूमिका खेलेका प्रहरी अधिकृतहरूलाई हटाउन नहुने अडान राखेका छन्।
अपराध अनुसन्धानमा एसएसपी केसीको सरूवा भएको जम्मा सात महिना मात्र भएको छ भने काठमाडौं उपत्यकामा एआइजी ज्ञवाली गएको त झन् चार महिना मात्रै भएको छ। राम्रो काम गरिरहेका अधिकृतहरूको यति चाँडै सरूवा गर्ने हो भने प्रहरीभित्र मनोबल खस्किने प्रहरी अधिकृतहरू बताउँछन्।
यो पनि पढ्नुहोस्: