भीम रावलका निम्ति आफ्नै कार्यालय विरानो थियो। चितवनको सौराहामा डेढ वर्षअघि भएको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीसँगै प्रतिस्पर्धा गरेपछि भीम रावल आँखाको कसिंगर हुने भइहाले।
चितवनबाट फर्किएपछि उनी पार्टीको जिम्मेवारीबाट पाखा पारिँदै गए। यहाँसम्म कि, गत मंसिरको प्रतिनिधि सभा निर्वाचनमा उनी अछाम-१ बाट सर्वसम्मत रूपमा एकल सिफारिस भएर आएका थिए।
तर सौराहामा आफूविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएको प्रतिशोध अध्यक्ष ओलीले साँधे। रावलले टिकट पाएनन्। झपट बोहोरा उम्मेदवार बने। एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भए।
त्यति बेला रावललाई टिकट दिनुपर्छ भन्ने मत पार्टीभित्र नभएको होइन। तर ओली कसैको कुरा सुन्ने मुडमा थिएनन्। पार्टीका उम्मेदवार पराजित बनेपछि 'हराउन लागि परेको' भन्दै भीम रावल झन् पाखा पारिने अवस्था बन्यो।
गत चैत दोस्रो साता विष्णु पौडेल अछामको साँफेबगर पुगेका थिए। त्यहाँ आयोजित कार्यक्रममा रावलका समर्थकहरूले होहल्ला गरे। उनीहरूले पौडेलसमक्ष रावललाई उम्मेदवार नबनाएकोदेखि पार्टीको जिम्मेवारी नदिएकोसम्मको असन्तुष्टि पोखे।
आफ्नै गृहजिल्लामा नेताहरू लर्को लागेर जाँदा आफूलाई खबरसम्म नगरिएको, अझ एमालेलाई मत नदिएको र चुनाव हराउन लागिपरेको लाञ्छना सहनुपरेपछि रावलको मन भाँच्चियो। यसै गरी घँचेटिरहे विकल्प सोच्नुपर्ने भन्दै उनले तत्काल आक्रोश पनि पोखे। त्यसयता एमालेसँगको उनको दुरी झनै बढेको थियो।
बीचमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनाएको थियो। सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति बनाइए पनि एकपटक छलफल गर्नेबाहेक त्यसले काम गर्न सकेन। पार्टी नेतृत्व र रावलबीचको दुरी छोट्याएन।
मंगलबार भने पार्टी अध्यक्ष ओली आफैंले रावलसँग संवादको पहल गरे। १० औं महाधिवेशनपछि उनीहरूबीच संवादको ढोका बन्द थियो। त्यसलाई तोड्दै उनीहरूबीच मंगलबार अपराह्न साढे चार बजेदेखि साढे ६ बजेसम्म ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा छलफल भएको हो।
'आज कुराकानी गर्नुपर्यो भन्दै बिहानै खबर आएको थियो,' रावल निकट स्रोतले सेतोपाटीसँग भन्यो।
छलफलपछि अध्यक्ष ओलीको कार्यकक्षबाट बाहिरिने क्रममा रावलले संवादहीनता तोडिएको र छलफल सुरू भएको बताए।
'हामीबीच भेट नभएको धेरै भएको थियो। आज भलाकुसारी गर्यौं। के छ, कस्तो छ र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ, यसमा हाम्रा सोच र दृष्टिकोणहरू के छन् भन्ने विषयमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने पनि भयो,' उनले भने।
रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो भनेर पत्रकारहरूले प्रश्न गरेका थिए। जिम्मेवारीबारे आजको बैठकमा कुराकानी नभएको उनले प्रस्ट्याएका थिए।
'हामीले अघि नै भनेका थियौं, धेरै लामो समयपछि भेटघाट भएको हो। उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश–विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने मात्र कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यति मात्रै हो,' उनले भने।
मंगलबारको संवादमा ओली नम्र रूपमा प्रस्तुत भएको रावलनिकट एक नेताले जानकारी दिए।
'अध्यक्ष रावललाई पार्टीमा जिम्मेवारी दिएर क्रियाशील तुल्याउने मुडमा नै देखिनुभएको छ। उहाँहरूबीच फेरि भेट्ने कुराकानी भएको छ,' ती नेताले भने।
एमाले उपमहासचिव विष्णु रिमालले पनि दुई नेताबीच कुराकानी सकारात्मक रहेको बताए।
'पार्टीका दुई नेताबीच लामो समयपछि कुराकानी भयो। भीम रावल पनि सकारात्मक हुनुहुन्थ्यो। अध्यक्षज्यू पनि उहाँ पार्टी काममा क्रियाशील हुनुहोस् भन्नेमा सकारात्मक हुनुहुन्छ। फेरि छलफल गर्ने कुराकानी भएको छ,' रिमालले सेतोपाटीसँग भने।
सचिवालयमा सल्लाहकार प्रस्ताव
सोमबार नेकपा एमालेको सचिवालय बैठक बसेको थियो। बैठकमा भीम रावलबारे अध्यक्ष ओली आफैंले कुरा उठाएका थिए।
'भीम रावलका बारेमा सकारात्मक कुरा आएको छ। उहाँलाई पार्टीमा जिम्मेवारी दिँदा के हुन्छ? सल्लाहकार बनाउँदा के फरक पर्छ?,' ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।
रावलसँग वार्ता गर्न गत चैत १८ गते एमालेले उपाध्यक्ष पौडेलको नेतृत्वमा समिति बनाए पनि त्यसले निष्कर्ष निकाल्न सकेन र प्रतिवेदन पनि बुझाएन।
पछिल्लो समयमा रावलले पार्टी र नेतृत्वविरूद्ध बोल्दिनँ, जिम्मेवारीमा नभए पनि पार्टीको सदस्यले गर्नुपर्ने काम गर्छु भनेपछि ओली उनीप्रति सकारात्मक रहेको ती नेताको भनाइ छ।
'ओलीले सल्लाहकार कमिटीमा प्रस्ताव गर्नुको अर्थ केन्द्रीय कमिटीमा ल्याउँछु भन्ने थियो। त्यसकारण रावलसँगै छलफल गरेर निचोडमा पुग्ने सचिवालयको निष्कर्षअनुरूप अध्यक्षले कुराकानी गर्नुभएको हो। कुराकानी सकारात्मक रहेको बुझेका छौं,' ती नेताले भने।
अब बस्ने सचिवालयले दिने छ जिम्मेवारी
एमालेका अर्का नेताले जानकारी दिएअनुसार भदौ ९ गते सचिवालय बैठक बस्ने तय भएको छ। राष्ट्रिय राजनीतिको परिदृश्यमा कुनै फेरबदल नआए त्यही मितिमा बैठक बस्ने छ। त्यो बैठकले रावललाई जिम्मेवारी दिने छ।
'आवश्यक पर्यो भने उहाँहरू (अध्यक्ष ओली र रावल) बस्न पनि सक्नु हुनेछ। अन्यथा सचिवालयले रावललाई जिम्मेवारी तोक्ने छ। रावललाई जिम्मेवारी दिएर पार्टी काममा क्रियाशील गराउन अध्यक्ष ओली एकदम सकारात्मक हुनुहुन्छ,' ती नेताले भने।