गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्।
राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाएका स्थापित नेकपा (एमाले) फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय बसेका छन्।
एमालेको सोमबार बसेको सचिवालय बैठकले उनीसहित सिराहका प्रदोदनारायण यादवलाई बिदा दिने निर्णय गरेको छ।
एमालेको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेपछि उनीसँग हामीले कुराकानी गरेका छौं।
सुरूमा उनले पार्टीबाट बिदा लिएको स्वीकार गर्न चाहेनन्। ‘कसले भन्छ मलाई समेत थाहा नभएको कुरा,’ उनले अस्वीकार गर्दै भने। तर पार्टीका नेताहरूले नै जानकारी गराएको भनेपछि ‘यो त मैले पो भन्नुपर्थ्यो’ भन्दै कारण बताउन थाले।
पार्टीको सक्रिय राजनीतिलाई केही समयका लागि बिसाएर अध्ययन र थाती रहेका केही काम गर्ने योजना रहेको बताए।
‘म केही समय अनुसन्धानमा सक्रिय हुन्छु, राजनीतिमा सक्रिय हुनुपर्दा त्यो पाटो छुटेको छ,’ उनले भने।
लामो समय एमालेकै राजनीति गरे पनि बीच-बीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए। उनी पछिल्लो पटक एमालेमा जोडिएको ८ वर्ष भएको थियो।
तपाईंले एमाले छाड्न लाग्नु भएको हो भनेर हामीले उनलाई पुनः सोध्यौं। तर उनले जीवन नै एमालेमा व्यतीत भएकाले यसबारे आफूले नसोचेको बताए। ‘मैले भनें नि, अध्ययन, अनुसन्धानमा सक्रिय हुन्छु। केन्द्रीय कमिटीबाट पो बिदा लिने भनेको त, पार्टीबाट होइन नि!,’ उनले भने।
उनले जीवनमा नयाँ-नयाँ काम गर्नुपर्ने भन्दै अहिले यसैका लागि केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको बताए।
‘जीवनमा नयाँ-नयाँ काम गर्नुपर्छ। यो त्यसैको सिलसिला हो,’ उनले भने।
उनी यसअघि २०५४ सालमा काठमाडौंको मेयर निर्वाचित भएका थिए। त्यसो त उनी २०४९ सालमै काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार थिए। तर नेपाली कांग्रेसका तत्कालीन उम्मेदवार नवीन्द्रराज जोशीसँग पराजित भएका थिए।
एमालेको तत्कालीन युवा संघ, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) का अध्यक्षसमेत रहेका स्थापित एमाले विभाजन भएर माले बनेसँगै मालेमा गएका थिए।
२०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट बन्न पुगे। त्यसको केही समयमै काठमाडौं महानगरको मेयर मनोनीत भए।
एमाले छाडेर नेपालको पहिलो राजनीतिक दल प्रजा परिषदमा आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा पुनः एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय त्यहाँ काम गरेनन्, भट्टराईसँगै खटपट पर्यो।
दोस्रो संविधान सभामा स्थापित एमालेबाटै फुटेर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।
२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।
उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री समेत बने। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली-गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तीमा परे। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।
२०७९ मा काठमाडौैं महानगरपालिकाको मेयर उम्मेदवार बनेका बेला पनि उनी विवादमा तानिएका थिए। धुम्बाराहीस्थित नेशनल कलेजले अन्तरक्रिया आयोजना गरेको थियो। स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएपछि आक्रोशित हुँदै उनले विवादस्पद अभिव्यक्ति दिएका थिए।
एक अभियानकर्मीले उनलाई लाग्दै आएको 'मिटू' आरोपबारे स्पष्ट पार्न भनेकी थिइन्। उनले जंगिँदै बहिनीको ‘फेस त नाइस छ तर थुतुनो भएन’ भनेपछि थप विवादमा आए।
काठमाडौं महानगरपालिकाको निर्वाचनमा उनी तेस्रो बनेका थिए। ६१ हजार ७६७ मत ल्याएर स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर जिते। ३८ हजार ३४१ मत ल्याएकी कांग्रेसकी सिर्जना सिंह दोस्रो भइन्। स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए।
यो पनि: केशव स्थापितले लिए एमालेबाट बिदा