साउन १० गतेदेखि संघीय संसद्का दुबै सदन कार्यसूचीमा अघि बढ्न सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन २ गते त्रिभुवन विमानस्थल अगाडिबाट बरामद भएको सुनबारे उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् चल्न दिएको छैन।
प्रमुख प्रतिपक्षीको मागमा सरकार लचक देखिएको छैन। सुन प्रकरणको छानबिनलाई लिएर सरकार र प्रतिपक्षबीच दूरी बढिरहेको छ।
संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्दा संक्रमणकालीन न्याय निष्कर्षमा पुर्याउने, बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग नेतृत्वविहीन हुने अवस्थामा छन्। बाढी-पहिरोलगायत मनसुनजन्य विपद्का कारण नागरिकहरूले भोग्नु परेका समस्याले संसदमा प्रवेश पाउन सकेका छैनन्।
प्रमुख प्रतिपक्षी एमालेले संसद्लाई ‘बन्धक’ बनायो र छानबिनको प्रक्रियामै रहेको सुन प्रकरणलाई अल्मल्याउन खोज्यो भन्ने आरोप व्यहोरिरहँदा उसले आइतबार पत्रकार सम्मेलन गरेर स्पष्ट पार्न खोज्यो।
आइतबारको पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भागभंगीमा हेर्दा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग उनी बढी नै रूष्ट देखिन्थे।
गृहमन्त्री कसरी रोष्ट्रममा उभिन सकेका!
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरण सत्ता संरक्षित अपराध भएको जिकिर गरे।
त्यसो त पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनुपूर्व नै एमालेले सरकारको सर्वाधिक कडा सुरक्षा प्रबन्ध रहेको भनिने अन्तर्राष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा सुन तस्करी त्यो पनि बारम्बार राजनीतिक र प्रशासनिक संरक्षण, मिलेमतो र संलग्नताबिना सम्भावना नै नरहेको निष्कर्ष सुनाएको थियो।
‘विभिन्न सञ्चारमाध्यममा सन्दिग्ध तस्करहरूको सत्तारूढ दलका विभिन्न नेताहरूसँगको अन्तरङ्ग बसाउठी, फोन सम्पर्क र भेटघाटका समाचारहरू सार्वजनिक भइरहेका छन्,’ प्रेस वक्तत्व्यमा भनिएको थियो।
यही कारण गृहमन्त्री पदमा रहन नैतिक हिसाबले अयोग्य रहेको ओलीले बताए।
‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु...राजीनामा गर्नुबाहेक त्यहाँ उभिन जानु भनेको अनौठो कुरा हो। यत्रो असफलता भएको छ। चुरोट भनेर ल्यायो सुन हुन्छ। राखेको ठाउँबाट चोरी हुन्छ। कस्तो हो त्यो? गृहमन्त्री जवाफदेही हुनुपर्ने होइन त्यसमा? क्विन्टलका क्विन्टल सुन एउटा मात्रै माध्यमबाट एउटा कम्पनीले ल्याएको छ। यस्ता कम्पनी कति वटाले ल्याएका होलान्। त्यस्तो मानिसलाई नागरिकता कसले दियो? कसको सिफारिसमा दियो। नागरिकतासम्बन्धी त्यतिबेलाको प्रतिवेदन कहाँ छ? त्यो गायब गरिएको छ,’ अध्यक्ष ओलीले भने।
ओलीले तार काट्ने, क्यामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी मर्काउने, कस्तो सरकार हो यो भन्दै विमानस्थलको सुरक्षा संवेदनशीलतामा प्रश्न उठाएका थिए।
सुन प्रकरणमा सरकारले देखाएको लाचारी, बदमासीको उच्चस्तरीय समितिमार्फत् न्यायिक छानबिन हुनुपर्ने अडान उनले दोहोर्याए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राजीनामा दिनुपर्ने उनको जिकिर छ।
‘प्रधानमन्त्रीलाई पनि यति नालायक, यति भ्रष्ट सरकारको, यति भ्रष्टताको चाङमा उभिएर म नेतृत्व गर्छु भन्ने अप्ठ्यारो हुनुपर्ने हो। उहाँले आफैं राजीनामा गर्नुपर्ने हो,’ उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा दिन नसकेर कसरी बस्न सकेको?आठौं कि नवौं आश्चर्य भन्नुपर्छ यसलाई!’
संसद् एमालेले अवरूद्ध गरेकै होइन!
पत्रकार सम्मेलनको सुरूआतमै अध्यक्ष ओलीले एमालेले संसद् अवरूद्ध गर्छ भनेर प्रचार गरिए पनि यथार्थ त्यस्तो नरहेको बताए।
संसद् अवरूद्ध हुनु हुँदैन, अवरोधको स्थिति निम्त्याउनु हुँदैन भन्ने एमालेको मान्यता रहेको बताए।
‘संसद् अवरोध गर्नु हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश, जनताका लागि काम गर्ने थलो हो,’ उनले भने, ‘संसद् निदाएर बस्ने, सुतेर बस्ने ठाउँ होइन। चुपो लागेर संसद् जस्तो भए पनि चल्नुपर्छ बरू बोल्नु हुँदैन भन्ने कुरा हुँदैन। देश जनताको पक्षमा बोल्नुपर्छ।’
उनले सुन प्रकरणमा प्रतिपक्षीको आवाज दबाउन खोजिएको आरोप लगाए। सुनकाण्ड उच्चस्तरीय समिति बनाएर छानबिन गर भन्दा सत्तापक्षकै सांसद् उठेर हो-हल्ला गर्न थालेको बताए।
‘अहिले संसद्को अवरोध तपाईंहरूले देखिराख्नु भएको छ, हामी चलाउन खोजिरहेका छौं। तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष सबै जर्याकजुरूक उठेर होहल्ला गर्ने, संसदमा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने, प्रतिपक्षी बोल्यो भने... सुन तस्करीको शिलशिलेवार चलिरहेको छ। देशमाथि गम्भीर ढंगले प्रहार भइरहेको छ,’ उनले भने।
सुन तस्करी छानबिनब गर भन्दा सुनिल शर्मालाई जाली मुद्दा लगाइयो
सुनकाण्ड छानबिन गर भन्दा सरकार जाली मुद्दा लगाउन थालेको ओलीको आरोप छ। उनले ३३ अर्बको सुन आयात भएको दाबी गर्दै १ अर्बको समातिएको पनि भन्न भ्याए।
सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा मोरङ-३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई जाली मुद्दा लगाएर पक्राउ गरिएको बताए।
शर्मामाथि २५ वर्षपछि नक्कली सर्टिफिकेट प्रकरण अघि सारिनु पनि शंकास्पद रहेको ओलीको भनाइ छ।
‘जसरी सरकारले अड्डी लिएको छ, गठबन्धनकै सांसद बोलेमा समाइदिन्छु, थुन्दिन्छु भन्नेमात्र होइन, व्यवहारमा समाउने र थुन्ने, जाली मुद्दा लगाउने..?,’ उनले भने, ‘अहिले प्रमाणित नभएसम्म त्यो मुद्दा जाली नै हो। प्रमाणित भएछ भने भोलि अर्को रहेछ भनूँला। यसढंगले अडान लिनुको पछाडि कारण के छ? यो मासको दाल, त्यै पनि फलामको कराहीमा पकाएको कालो हुँदैन? कालै छ।’
उनले सुनील शर्माको सर्टिफिकेटबारे आफू जाँचकी नभएको र नजाँच पनि नभनेको बताए।
तर सुन प्रकरण चलिरहेको र सुनिल शर्माले त्यसबारे बोलेकै बेलामा उनको प्रमाणपत्र जाँच्न थाल्नु शंकास्पद रहेको उनले तर्क गरे।
३३ किलो सुनमा गलत दाबी
२०७४ माघ ९ गते त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन भित्रिएको काण्ड बाहिर आएको थियो। २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेपछि ओलीले त्यो काण्ड छानबिन गरेर निष्कर्षमा पुर्याएको दाबी गरे।
त्यो काण्डका सबै अभियुक्तहरू जेलमा रहेको ओलीको भनाइ छ। त्यो प्रकरण छानबिन गर्न ओलीले समिति बनाएका थिए।
गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वको समितिले ३३ किलो सुनकाण्ड निष्कर्षमा पुर्याएन।
सुन बोक्ने भरिया रहेका भनिएका सनम शाक्यको हत्या भयो। काठमाडौंबाट अपहरण गरेर धरान पुर्याइएका शाक्यलाई चरम यातना दिएर हत्या गरेको आरोपमा चुडामणि उप्रेती ‘गोरे’ जन्म कैदको सजाय पाइ अहिले जेलमा छन्।
३३ किलो सुन प्रकरणको प्रतिवेदनसम्म सार्वजनिक नगरेका ओलीले त्यो प्रकरण निष्कर्षमा पुर्याएको दाबी पत्रकार सम्मेलनमा गरेका थिए।
‘हाम्रो सरकार बन्नुभन्दा अगाडि अनेक सुनहरू उताबाट आउने उता जाने भएको रहेछ, हामीले छानबिन समिति बनायौं, सुन त भेटिएन, अरू कुराहरू भेटिएन, त्यस कुरामा संलग्नहरू कारबाही गरियो। तिनीहरू अहिले पनि जेलमा छन्। सुन त बाहिर पठाइसक्या, सुन त गायब गरिसक्या थियो,’ उनले भने।
त्यसबारे चित्त नबुझे अहिले पनि छानबिन गर्न सरकार स्वतन्त्र रहेको पनि उनले बताए।
पूर्वराष्ट्रपति भण्डारी एमाले फर्किने भनेर पार्टीभित्र समस्या ल्याउन खोजियो
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउन विष्णु पौडेललगायत नेताले भेटेकोबारे पनि जिज्ञासा राखेका थिए।
प्रश्न सुन्नेबित्तिकै ओली चिढिए।
त्यसो त सञ्चारकर्मीले सुरूमै एमाले संसद् अवरूद्ध गर्ने र अन्तिममा चिसै पानीले नुहाउने भनी सोधेको प्रश्नमा पनि उनी चिढिएका थिए।
भण्डारी एमालेमा पार्टीमा फर्कन लागेको भन्ने पत्रकारको जिज्ञासामा ओलीले उत्तर दिने क्रममा पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको टिप्पणी गरे।
‘पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ उपाध्यक्ष विष्णु पौडेलतिर देखाउँदै ओलीले भने, ‘विष्णु पौडेल उता पर्नुभयो रे.. (बसेको ठाउँ देखाउँदै) उहाँ उपनेता (सुवास नेम्वाङ) आएको हुनाले, पर्तिर सर्नुभएको हो। अघि भर्खर सर्नुभएको हो..! उता सार्यो रे!’
पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीका सबै नेताहरूको राष्ट्रपति भएर आदरणीय व्यक्ति रहेको उनको प्रतिक्रिया थियो।
‘त्योभन्दा अगाडि नै हाम्रो नजिकको मित्र नै हुनुहुन्छ, उहाँ हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि! हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो। त्यसमध्ये हामी कसैले भेट्नु ठूलो कुरा नै होइन। विष्णु पौडेल मात्र होइन, मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ,’ ओलीले भने।