नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिकांश केन्द्रीय सदस्यले जेल परेका बालकृष्ण खाणको बचाउ गरेका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई संगठित अपराध गरेको अभियोग लागेका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य खाण केही समयदेखि केन्द्रीय कारागार सुन्धारामा छन्।
प्रहरीले वैशाख २७ गते खाणलाई निवासबाटै पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
सुन्धाराको कारागारमा थुनामा रहेका खाणबारे जारी कांग्रेस केन्द्रीय समिति बैठकमा निलम्बन गर्न नहुने आवाज चर्को रूपमा उठेको छ। सभापति शेरबहादुर देउवा पक्षका नेताहरू खाणलाई अहिले नै निलम्बन गर्ने पक्षमा छैनन्।
खाणलाई अदालतले दोषी किटान गरिनसकेको भन्दै सभापति देउवाले निलम्बन गर्न मानिरहेका छैनन्। देउवाको यही कुरालाई केन्द्रीय समितिमा धारणा राख्ने उनीपक्षका नेताहरूले दोहोर्याइरहेका छन्।
खाणलाई निलम्बन गर्न माग उठे पनि केन्द्रीय समितिमा यो एजेन्डा औपचारिक रूपमा समावेश गरिएन। तर धारणा राखेका केन्द्रीय सदस्यहरूले आफूले बोल्न पाएको ७ मिनेटभित्र खाणबारे पनि केही न केही विषय बोलेका छन्।
सभापति, उपसभापतिहरू र महामन्त्रीहरूले धारणा राख्न बाँकी छ। उनीहरू सोमबार बोल्नेछन्।
आइतबारसम्म बोलेका अधिकांश पदाधिकारी र सभापति देउवानिकट केन्द्रीय सदस्यले अहिले नै खाणलाई निलम्बन नगर्न र अदालतको निर्णय कुर्न आग्रह गरेका छन्। यसअघि पनि कांग्रेसका नेताहरूमाथि यस्तै अभियोग लाग्दा निलम्बन गरेको परम्परा नभएको उनीहरूको तर्क छ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले खाणको नाम नलिई उनको बचाउ गरिन्।
‘हाम्रो एक जना साथीलाई आरोप लागेको छ। न्यायलयमा यो विचाराधीन मुद्दा छ। हाम्रै साथीहरू आरोप प्रमाणित गर्न दबाब दिइरहनुभएको छ,’ उनले भनिन्, ‘दबाब दिएर न्यायालयलाई प्रभाव गर्न खोजिएको छ। यसमा पार्टी सचेत हुनुपर्छ। म यसबारे छानबिन गर्न सभापतिज्यूलाई आग्रह गर्दछु।’
शणार्थी प्रकरणमै जोडेर पार्टीका अन्य नेतालाई पनि तान्न खोजिएको उनले बताइन्। ‘तथ्यहीन टेप ल्याउने काम भएको छ, यसबारे पनि छानबिन गरौं,’ उनले भनिन्।
यसपछि उनले दाङको एक घटना उदाहरणका रूपमा पेश गर्दै अन्यायमा परेका साथीहरूलाई साथ दिनुपर्ने बताइन्।
‘दाङमा अन्यायमा परेका एक साथीलाई छुटाइयो,’ उनले भनिन्, ‘आफ्नै साथी त्यहाँ (कारागार) पर्दै गर्दा खुसी हुने कि दु:खी? कसैले आरोप लगाएकै भरमा आरोपित भन्ने हो भने जिल्ला-जिल्लामा साथीहरूलाई आरोप लाग्दा के गर्ने हो? पक्षमा उभिने हो कि नउभिने हो?’
अर्का सहमहामन्त्री महेन्द्र यादव एक कदम अघि सर्दै खाणको बचाउमा उत्रिए। उनले राज्यले नै खाणलाई फसाउन लागेको आरोप लगाए।
‘हाम्रो आदरणीय जुझारू नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ,’ यादवले भने, ‘अहिलेसम्मकै अनुसन्धानबाट न कुनै जाहेरी छ, उहाँको नाम न कसैले पोलेको छ। न कुनै प्रमाण भेटिएको छ। थप मुद्दा राजद्रोहसमेत लगाइएको छ। लेनदेन र ठगीमा राजद्रोह मुद्दा लगाउने हो भने दिनका १०/२० वटा मुद्दा आउँछ।’
उनले खाणलाई कुनै कसुरदार भन्न नमिल्ने व्याख्यासमेत गरे।
‘उहाँ पार्टीकै साथी हो। उहाँलाई अभियोग मात्र लगाएको छ। संविधानको धारा २० को ५ मा भनेको छ- कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन,’ उनले भने, ‘यो कुरा हामीले बनाएको संविधानमा छ। अन्तिम निर्णय नभएसम्म उहाँ कसुरदार होइन।’
खाणले पार्टीमा धेरै दु:ख गरेको उनले बताए।
‘उहाँबारे बाहिर जे पनि बोल्न भएन। तपाईंलाई लठ्ठी हान्दा उहाँले हिजोका दिनमा छेक्नुहुन्थ्यो। हाम्रो परम्परा त्यही थियो,’ उनले भने, ‘उहाँले धेरै दु:ख र लाठी खाएर आउनुभएको छ। सक्नुहुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं।’
खाणलाई अदालतले निर्दोष सावित गर्ने यादवको विश्वास छ।
परराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले अदालतको निर्णय हेरेर मात्रै खाणबारे पार्टीले निर्णय लिनुपर्ने बताए।
‘भुटानी शरणार्थीका बारेमा पनि धेरै चर्चा चलिराखेको छ। कहिलेकाहीँ केही घटनाहरू यस्ता हुन्छन्- प्रत्यक्ष प्रमाण हुन्छ। घूस खाएको फोटो आइहाल्यो भने त्यही दिन निकालिदिए हुन्छ,’ उनले भने, ‘कोही मानिस छानबिन प्रक्रियाबाट भाग्यो भने तत्काल उसलाई निकालिदिए हुन्छ। तर छानबिन प्रक्रियामा गएको छ भने पार्टीले पनि सहयोग गर्नुपर्छ। अदालतको अन्तिम निर्णय पर्खिनुपर्छ।’
उनले केही पत्रिकाले लेखेका आधारमा पार्टीले कारबाही गर्दा हित नगर्नेसमेत बताए।
केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले आफूहरूको नेता जेल परेको र यसबारे अदालतले हेरिराखेको बताइन्।
‘हाम्रा नेता जेल पर्दा न्याय दिने हामीले होइन न्यायलयले हो,’ उनले भनिन्, ‘न्यायलयको कठघरामा उहाँ जानुभएको छ।’
उनले कांग्रेस घर र कांग्रेसका नेता/कार्यकर्ता एकै परिवारको भएको कुरा पनि राखिन्।
‘कांग्रेस घर हो। गल्ती कमजोरी हुँदा घरका साथीले दु:ख मान्नुपर्ने हो,’ उनले भनिन्, ‘नेता पक्राउ पर्दा गृहमन्त्रीलाई भेटेर राम्रो गर्नुभयो भन्ने?’
न्यायलयले गल्ती भएको प्रमाणित गरे सजाय दिनुपर्ने उनले बताइन्।
प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि खाणको बचाउ गरे।
‘हाम्रो परिवारको कुनै सदस्य अभियोगमा मुछियो भने वकिल राख्छौं कि राख्दैनौं? कि थपक्क थानामा बुझाउन लैजान्छौं? पुलिसले खोज्यो भने लुकाउँछौं कि थानामा लगिन्छ?,’ आफू कानूनको विद्यार्थी भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस घर हो। छिटो पक्रनुपर्यो भन्दै साथीहरू गृहमन्त्रीकहाँ जाने? त्यत्रो आदर्शवादी भइसक्यौं हामी?’
उनले कोही दोषी हो वा होइन भन्ने छुट्याउन अदालतलाई नै दिनुपर्ने बताए।
‘अदालतले दोषी हो कि निर्दोष ठहर नगर्दै नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालत हो जसले दोषी ठहर गर्ने?,’ उनले प्रश्न गरे, ‘अरू पार्टीले आफ्नो नेता बचाउन लागेका छन्। हामी गृहमन्त्रीलाई भेटेर र केन्द्रीय समितिमै छलफल गरिरहेका छौं यी विषय?’
पूर्वउपसभापतिसमेत रहेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले खाणलाई पुर्पक्षका लागि कारागार जानुअघि बचाउनुपर्ने तर नसकिएको बताएका छन्।
‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। त्यहाँ पुग्नबाट उसलाई रोक्न सकिन्थ्यो, किन रोकिएन,’ उनले भने, ‘पुर्पक्षमा जसलाई पनि राख्न पाउँछ। दोषी ठान्न भएन। उहाँका बारेमा यसरी छलफल नगरौं। हाम्रो परिवारको एक सदस्य कारागारमा छन्।’
उनले पनि खाण निर्दोष भएर आउन सक्ने बताए।
नेपाल तरूण दलका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य जितजंग बस्नेतले खाण पक्राउ परेपछि केहीले गृहमन्त्रीलाई भेटेर धन्यवाद दिएको प्रसंग निकालेका थिए।
‘म साथीहरूलाई सोध्न चाहन्छु कति डराउने हो हामी? हाम्रै नेतालाई गाली गर्नचाहिँ पछि पर्दैनौं। अनि भुटानी शरणार्थी कुरामा अख्तियार प्रमुखको नाम आउँदा कोही बोल्न तयार छैन,’ उनले भने, ‘एमाले नेता
विष्णु पौडेल जग्गा फिर्ता गरे, त्यसमा हामी बोल्न तयार छैनौं, किन? कस्तो अवस्था सिर्जना भयो। २ नागरिकता २ राहदानी बोकेका मानिस पार्टी सभापति भए, हामी यी विषयमा किन बोलेनौं?’
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कांग्रेसले कानूनी राज्य मान्ने र न्यायीय सर्वोच्चता मान्ने बताउँदै खाणको बचाउ गरिन्।
‘हाम्रो कुनै नेता अभियोग लागेर समातिँदै गर्दा कांग्रेसकै नेता, कार्यकर्ता गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ, किन र के कारणले पुगेको थाहा छैन,’ उनले भनिन्, ‘त्यस्तै अमुक पार्टीका बारेमा प्रश्न उठ्दा उहाँहरू केही बोल्नुहुन्न। उहाँहरूको बोली किन फुट्दैन?’
उनले पार्टीभित्रै फरक विचारको व्यक्तिलाई खुइल्याउन तताएको डेक्चीको तातोपानी 'हात तलमाथि हुँदा आफूलाई पर्न सक्छ भन्ने' हेक्का राख्नसमेत चेतावनी दिएकी छन्।
केन्द्रीय समिति बैठकअघि खाणलाई निलम्बन गर्न माग गरेका संस्थापनइतर समूहका नेताहरू केन्द्रीय समितिमा भने 'मौन' जस्तै देखिए।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बाहेक अरूले खाणको निलम्बन विषय उठाएका छैनन्।
खाणमाथि अन्याय भयो भन्ने हो भने तत्काल सरकारबाट कांग्रेस फिर्ता आउनुपर्ने शिवाकोटीको भनाइ छ।
‘बाघले खाए खाओस् तर कुनै पनि स्वरूपको भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न सक्दैन,’ शिवाकोटीले व्यङ्ग्य गर्दै भने, ‘अहिले प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी छ। केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलगअलग आरोपमा यो सरकारले थुनामा राखेको छ। खाणलाई अन्याय भयो भन्ने हो भने पार्टीले सरकार छाडोस्। आफ्नै साथीहरू मन्त्री भएका बेला खाणलाई थुनामा पठाइएको हो।’
खाणबारे सभापति देउवा र पार्टीको द्विविधा अचम्मकै भएको बताए।
‘सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ। खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्यो। होइन आफ्नै भने साथीहरू सम्मिलित सरकारले थुनामा पठाउँदा उहाँलाई निलम्बन गर्नुपर्छ,’ उनले भने।
उनले 'पार्टीका साथी खाण वा सरकार के रोज्ने' जारी केन्द्रीय समितिले टुंगो लगाउनुपर्ने बताएका थिए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भुटानी शरणार्थी, सुन र बालुवाटार जग्गा प्रकरणलगायत भ्रष्टाचार काण्डको छानबिनमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए।
‘हाम्रो साथी मुछिएको भनेर केही भावनात्मक कुरा पनि आएका छन्,’ उनले भने, ‘हामी भ्रष्टाचारविरूद्ध सशक्त उभिन सकेनौं भने अर्को चुनावमा बढारिन्छौं।’
अर्का केन्द्रीय सदस्य शेखर कोइरालाले भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नसकिने बताए।
‘भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो विषय हो। यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन,’ कोइरालाले भने, ‘यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ।’
यस विषयमा केन्द्रीय समिति पारदर्शीता र सुशासनका पक्षमा उभिने विश्वास आफूले लिएको कोइरालाले बताए।