नेपाली कांग्रेसमा अन्तर्घातका दुई हजार एक सय उजुरी परेका छन्।
गत वर्ष भएका स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई अहसयोग गरेको आरोपमा अनुशासन कारबाही माग गर्दै उजुरी परे पनि अहिलेसम्म छानबिन भएको छैन।
यस्ता उजुरी छानबिनका लागि केन्द्रीय अनुशासन समिति रहने विधानको व्यवस्था छ। समितिमा संयोजक आनन्द ढुंगाना मात्रै छन्, चार जना सदस्य मनोनीत हुन बाँकी छ।
केन्द्रीय सदस्यमध्येबाट अनुशासन समितिका ४ जना सदस्य मनोनीत हुनुपर्ने हो। तर संयोजक मनोनीत भएको एक वर्षसम्म पनि समिति सदस्य मनोनीत भएको छैन। समिति पूर्ण नभएकोले प्राप्त उजुरीमाथि छानबिन गर्न नसकिएको संयोजक ढुंगाना बताउँछन्।
मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा पनि ढुंगानाले अनुशासन समिति प्रतिवेदन पेश गरेनन्। ‘समिति नै पूर्ण भइसकेको छैन, त्यसैले सभापतिज्यू, मैले टिपोर्ट मात्रै पेश गरेँ,’ उनले भने।
गत वर्ष साउन २ को केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य ढुंगानालाई अनुशासन समिति संयोजक मनोनीत गरेको थियो।
ढुंगानाका अनुसार स्थानीय, प्रदेश र संघीय चुनावमा ४६ जिल्लाबाट अनुशासन उल्लङ्घनका उजुरी प्राप्त भएका छन्। जिल्ला कार्यसमितिलगायतले चुनावमा अन्तर्घात गरेकाहरूको नामवली केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेका हुन्।
‘२१ सय उजुरी आएका छन्, समिति पूर्ण नभएकोले त्यसबारे छानबिन बाँकी नै रहेको छ,’ उनले भने। कांग्रेसले उपनिर्वाचनका बेला चितवन, बारा र तनहुँका नेता/कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसबेला केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भए पनि केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी छ।
कांग्रेसले विधानको धारा ३४ अनुसार यसअघिका चुनावमा अन्तर्घात गरेकाहरूलाई कारबाही गरेको थियो। आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, बागी उम्मेदवार तथा उसका प्रस्तावक र समर्थक बस्नेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो।
‘बागी उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने ८७ जनालाई कारबाही गर्न उजुरी आएको छ,’ उनले भने।
तर वैशाख १० को उपनिर्वाचन जित्न चितवन, बारा र तनहुँका नेता/कार्यकर्ताको कारबाही फुकुवा गरिएको थियो। उपनिर्वाचनमा पनि कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गरेको थियो। तनहुँ र चितवनमा कांग्रेसबाटै उम्मेदवार भए पनि चुनाव जित्न सकेनन्। बारामा भने गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव बिजयी भएका थिए।
२०७९ वैशाख ३० गते भएको स्थानीय चुनावमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर चुनाव जितेकाहरूलाई पनि कांग्रेसले पार्टीमा भित्र्याउने भएको छ।
जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, बर्दिवास नगरपालिकाका मेयर प्रहलादकुमार क्षेत्री र उपमेयर तारा देवीलगायत ३५ जनालाई पार्टीमा फर्काउन लागिएको हो।
‘स्थानीय तह निर्वाचन जितेका ३५ जनालाई कारबाही फुकुवा गर्न खोजिएको हो,’ ढुंगानाले केन्द्रीय समिति बैठकमा भने, ‘उहाँहरू पहिले कांग्रेस नै हुनुहुन्थ्यो। उम्मेदवार हुँदा हामीले कारबाही गरियो। गल्ती गरियो, अब पार्टीमै फर्केर काम गर्न चाहन्छु भनेर चुनाव जितेकाहरूले निवेदन दिनुभएकोले कारबाही फुकुवा गर्न अनुमोदनका लागि पेश गरेको छु।’
सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव जितेकाहरूलाई कारबाही फुकुवा गरिदिन मौखिक निर्देशन दिएपछि अनुशासन समितिले 'केन्द्रीय समितिले अनुमोदन गर्ने गरी कारबाही फुकुवा हुने' पत्र लेखेर दिएको ढुंगानाले बताए।
‘ज-जसले पार्टी छाडेर गल्ती गरेँ, कारबाही फुकुवा होस् भनेर निवेदन हाल्नुभएको छ। उहाँहरूलाई मात्रै फुकुवा गर्न लागेको हो,’ उनले भने।
चितवनका दिनेश कोइराला, कृष्ण सापकोटा, भीमबहादुर श्रेष्ठ, सम्भु अर्याल, मीना खरेल र आनन्द राउतको कारबाही पनि फुकुवा गरिएको थियो। स्थानीय चुनाव जित्नका लागि उनीहरूको कारबाही फुकुवा गरिएको ढुंगानाले बताए। तर कांग्रेसले चितवनमा चुनाव जित्न सकेन।