विन्दबासिनी कंशाकार प्रतिनिधि सभाकी सदस्य हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले गत जेठमा कंशाकारलाई समानुपातिक सांसद बनाएको हो।
१० वर्षअघि कक्षा १२ मा पढिरहेकी कंशाकारलाई राजनीतिमा आउने न सपना थियो न रूची। तर एउटा घटनाले उनको जीवन मोडिदियो।
२९ वर्षकी विन्दबासिनीले बितेका १० वर्षमा शारीरिक र मानसिक पीडा खेप्नुपर्यो। तर उनले हिम्मत हारिनन्, सकारात्मक उर्जासहित काम गरिरहिन्। त्यही हिम्मतले आज उनलाई नीति निर्माण गर्ने देशको सर्वोच्च स्थानमा पुर्याएको छ।
२०७० को वैशाख ९ गते कंशाकार हेटौंडामा रहेको आफ्नो भाडा पसलमा बसिरहेकी थिइन्। एकदिन दीलिपराज केसरी नाम गरेका युवक पसलमा आए। ती युवकको पनि हेटौंडामै किराना पसल थियो। उनले विन्दबासिनीलाई मह छ भनेर एउटा बोतल दिन्छन्। उनले बोतल समाउन नपाउँदै उनीमाथि एसिड प्रहार भयो।
‘उसको किराना पसल भएर मह ल्याएको हो कि भनेर मैले बोतल समाउन खोजें। त्यो बोतलमा एसिड छ कि भनेर मलाई थाहा थिएन। त्यस्तो थाहा पाएको भए मैले त्यो बोतल खोल्न दिन्न थिएँ होला,’ उनले भनिन्, ‘बिर्को खोल्नासाथ उसले मेरो अनुहारमा केही फ्याँक्यो। म २ सेकेन्ड जति चिच्याएँ। यसले के छ्याप्यो, तातोपानी हो कि चिया हो भन्ने सोचें। के हो भनेर पत्ता लगाउन सकिनँ।’
अनुहार धेरै पोलेपछि उनी चिच्याउँदै बुवा भएको ठाउँमा पुगिन्। छोरी चिच्याउँदै आएको देखेर बुवा नजिक पुगे। उनले गन्धबाटै थाहा पाइहाले-छोरीलाई कसैले तेजाब छ्यापेर गयो।
‘एसिड छ्यापेको थाहा पाएपछि ममाथि २ सय लिटर पानी खन्याइयो। तर त्यो पानी अनुहारमा थोरैमात्र परेछ। जसले गर्दा अनुहारमा लागेको एसिड पखालिन सकेन। त्यसैले होला, मेरो अनुहारमा धेरै क्षति भयो,’ उनले भनिन्।
२ सय लिटर पानी खन्याएपछि उनलाई हेटौंडा सामुदायिक अस्पताल लगियो। त्यो बेलामा उनको अनुहारमा क्रिम लगाइएको थियो। त्यसको सट्टा अनुहार सफा गरेको भए केही राम्रो हुन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ।
सामुदायिक अस्पतालबाट उनलाई आँखा अस्पताल रिफर गरियो। आँखा अस्पतालमा तेजाब पखालेपछि उनलाई औषधी लगाइयो र काठमाडौं जान भनियो।
काठमाडौंमा उनी तिलगंगा आँखा अस्पताल गइन्। त्यहाँ आँखा थप सफा गरेर उनलाई बिएण्डबी अस्पताल लगियो। त्यति बेलासम्म उनको अनुहार धेरै सुन्निएको थियो भने आफ्नो छाला आफैंलाई गन्हाएको थियो।
‘बिएण्डबी अस्पताल गएपछि त्यहाँबाट नेपाल मेडिकल कलेज पठाइयो। त्यसपछि भने तीन महिनासम्म मेरो उपचार सोही अस्पतालमा भएको थियो,’ उनले भनिन्, ‘उपचार गराउने क्रममा जलेको छाला निकालियो। त्यसपछि प्लाष्टिक सर्जरी गरियो। मेरो अनुहारभरि ब्याण्डेज लगाइएको थियो।’
आँखा र नाकको प्वाल देखिने गरी मात्रै ब्याण्डेज काटिएको थियो। त्यो बेला भने उनलाई निकै डरसमेत लाग्यो। तीन महिनाको बीचमा उनको ४/५ ओटा अपरेशन भयो। त्यसपछि नेपाल मेडिकल कलेजले कस्मेटिक सर्जरीको लागि बाहिर जान सुझाव दियो।
उनको उपचार भारतको मधुराईस्थित देवदस अस्पतालमा भयो। अस्पतालका चिकित्सकले ७० देखि ८० प्रतिशत अनुहार ठीक पार्ने आश्वान दिएका थिए। त्यसयता अहिलेसम्म पनि उनले त्यहीँ उपचार गराइरहेकी छन्।
‘प्लाष्टिक सर्जरी र कस्मेटिक सर्जरी मिलाएर उपचार भइरहेको छ। आजसम्म आइपुग्दा मैले मास्क नलगाइकन हिँड्न सक्ने भएको छु,’ उनले भनिन्।
उपचारबाट फर्किएपछि एकातिर शारीरिक अनि अर्कोतिर मानसिक पीडा उनले भोग्नुपर्यो। अनुहारमा ब्याण्डेज लगाएर हिँड्नुपर्ने बाध्यता छँदै थियो, सँगै घटनाको दोष पनि उनलाई नै आउँथ्यो।
‘सुरूवाती चरणमा मलाई धेरै गाह्रो भयो। केटाले यत्तिकै तेजाब त हान्दैन नि भन्थे। मैले बाहिर केही भन्नासाथ सिधै केही गरेर त हानेको होला भन्थे,’ उनले भनिन्।
त्यो बेलामात्रै होइन अहिले पनि तेजाब आक्रमण गर्नेलाई भन्दा आक्रमणमा पर्नेलाई दोष देखाइने गरेको उनको अनुभव छ।
‘हुन त अहिलेसम्म केही घटना भयो भने केटीलाई दोष देखाइन्छ। यद्यपि केटाहरू पनि तेजाब पीडित भएका छन् तर दोष पीडकलाई होइन कि पीडितलाई नै दिइन्छ,’ उनले भनिन्, ‘शारीरिक पीडा त औषधीले निको हुन्छ तर मानसिक पीडाबाट निस्किन समय लाग्छ भन्ने कुरा पर्नेलाई मात्र थाहा हुन्छ।’
विन्दबासिनी अहिले सांसद भएकी छन्। दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर उनलाई सांसद बनाएको हो।
गत मंसिरको चुनावभन्दा अघि साढे २ वर्ष विन्दबासिनीले कुमारी बैंकमा काम गरेकी थिइन्। रास्वपाको समानुपातिक सूचीमा परेपछि मात्र उनले बैंकको जागिर छोडेकी हुन्।
बैंकमा काम गर्नुभन्दा पहिला उनले आफ्नो पढाइलाई अघि बढाउँदै तेजाब आक्रमणका पीडितका पक्षमा आवाज उठाइन्। त्यही क्रममा उनी तेजाब आक्रमणमा परेकाहरूको पक्षमा कानुन बनाउन दबाब दिने अभियानम जोडिइन्।* त्यही अभियानले आफूलाई थप सशक्त र बलियो बनाएको उनको अनुभव छ।
‘तेजाब आक्रमणमा परेर उपचार गरी घरमा फर्किँदासमेत मलाई आक्रमण गर्नेमाथि कुनै कारबाही भएको थिएन। त्यसपछि मैले जलनमा परेका व्यक्तिको पक्षमा आवाज उठाउने निधो गरें,’ उनले भनिन,‘मलाई उज्ज्वलविक्रम थापाले धेरै सहयोग गर्नुभयो। उहाँले दिनुभएको साथ मैले भुलेको छैन।’
जलनमा परेका व्यक्तिहरूको पक्षमा कानुन बनाएर त्यसलाई कार्यान्वयन गराउने अवस्थामा पुग्नुको पछाडि आफूहरूको संघर्षले काम गरेको उनको बुझाइ छ।
‘मेरो पहिलो प्राथमिकता भनेको जलनमा परेका व्यक्तिको उपचारमा कुनै अभाव नहोस् भन्ने हो। अस्पतालले अरू कुरा केही नसोधिकन उपचार गराउने वातावरण हुनुपर्छ भनेर म लागेको छु,’ उनले भनिन्, ‘भर्खरै सांसद भएको छु। अनुभव गर्दैछु, केही सिक्दैछु अनि सिक्ने क्रम जारी छ।’
कुमारी बैंकमा काम गरेदेखि नै आफूलाई समाजमा पुनर्स्थापना हुन थप सजिलो भएको उनको अनुभव छ।
त्यहाँ उनले कुनै किसिमको मानसिक तनाव झेल्नु परेन। बरू धेरै व्यस्त भएर आफ्ना सबै पीडालाई भुल्न सकेकी थिइन्।
‘अढाइ वर्ष कुमारी बैंकमा काम गरेकी थिएँ। त्यहाँ काम गर्दा धेरै व्यस्त भएँ। मैले मेरो जीवनमा घटेको घटनाबारे सोच्नै पाइनँ। व्यस्त भएपछि यस्ता कुरा दिमागमा नआउने रहेछ,’ उनले भनिन्, ‘मेरो बारेमा कसैले नराम्रो कमेन्ट गरेनन्। ग्राहक र त्यहाँका कर्मचारीले गरेको व्यवहारले मलाई थप उत्साही बनाएको थियो।’
सांसद भएपछि उनलाई पीडा दिने होइन, सम्मान गर्ने झन् थपिएका छन्। उनलाई अहिले आफूले भोगेको पीडाले कुनै समस्या पारेको छैन। बरू तेजाबपीडित मात्रै होइन कि विभिन्न कारणले जलन भएका व्यक्तिको पक्षमा आवाज उठाउन साहस बढेको छ। तर उनको मनमा एउटा प्रश्न भने छ- के साँच्चै मैलेजस्तै सबै जलन पीडितले सम्मानित भएर जिउन पाएका छन्?
‘कहिलेकाहीँ त म सांसद भएरमात्र यो माया पाएको हो कि भन्ने लाग्छ। मलाई जति माया गर्नु भएको छ सबै जलेका व्यक्तिलाई यस्तै माया गरिदिनुहोला। जति पनि जलेका व्यक्ति आउँछन् उनीहरूलाई कुनै प्रश्न नगरिकन उपचार होस् भन्न चाहन्छु। यसको लागि म जोडदार आवाज समेत उठाउन चाहन्छु।’
अहिले उनी एसिड आक्रमण पीडित मात्र होइन होइन अहिले त उनी सबैखाले जलन पीडितको पक्षमा लागेकी छन्।
‘मलाई एउटा इच्छा र विश्वास थियो, तेजाबको लागि कानुन बनाउँछु भन्ने। म उहाँहरूलाई न्याय दिन राजनीतिमा आएको हो,’ उनले भनिन्, ‘मेरो पहिलो प्राथमिकता नै जलन पीडितहरू हुन्। त्यसकै लागि मेरो अबको यात्रा राजनीति र समाजसेवाको लागि हो।’
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोापाटी।
*यसअघि असावधानीवस अन्यथा परेकाले सच्याइएको छ। - सम्पादक।