नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरिएको तर नेपाली अधिकारीले चासो नदिएको बताएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको बिदाइ भेटमा राजदूत हेलले कतार पोखरा विमानस्थलबाट उडानका लागि तयार रहेको बताएका हुन्।
'मैले पोखराबाट कतार एयरलाइन्सको न्यारोबडी जहाजबाट उडानको व्यवस्था मिलाउनुहोस् भनेर कतारी राजदूतलाई भनेँ', राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सेतोपाटीसँग भने, 'उनले हामीले छ पटक नेपाल सरकारलाई पत्राचार गर्यौं। तर नेपाल सरकारले वास्ता गरेन भन्ने जवाफ दिए।'
कतारी राजदूतको जवाफले आफू नाजवाफ भएको तिमिल्सिनाले बताए।
'मैले राजदूत परराष्ट्र मन्त्रालयको उच्च अधिकारी भएका कारण उनी फर्किएपछि पनि पोखराबाट उडानका लागि पहल गर्न सक्छन् भन्ने ठानेर कुरा राखेको थिएँ', तिमिल्सिनाले भने, 'तर उनले कतारले पोखरा उडानका लागि ६ पटक पत्र पठाउँदा पनि नेपालका अधिकारीले ध्यान दिएका छैनन् भनिदिए।'
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पोखरामा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले ध्यान नदिएको बताए।
तिमिल्सिना गत जुन २१ तारिखमा चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको चार्टर्ड उडानबाट पोखरा उत्रिएका थिए। जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको पहिलो अन्तर्राष्ट्रिय उडान समेत थियो।
'पोखरामा सिचुवान एयरलाइन्सले डाइरेक्ट फ्लाइट गरेको मेरो कारणले हो। पोखरामा ड्रागन बोट फेस्टिभलमा चिनियाँहरू आउँदै त थिए। तर उनीहरू काठमाडौं उडेर पोखरा जाने तयारीमा थिए', तिमिल्सिनाले भने, 'तर मैले चीन जानुअघि नै नेपालका लागि चिनियाँ राजदूतलाई तिम्रो ऋण सहयोगमा एयरपोर्ट बन्यो तर आजसम्म अन्तर्राष्ट्रिय उडान भएको छैन। तिमीहरूको विभिन्न सहरबाट उडान हुनसक्छ। त्यसैले म फर्कंदा पोखरा ल्याण्ड गराउने व्यवस्था मिलाऊ भनेको थिएँ, पछि त्यहाँको नेशनल पिपुल्स कंग्रेसको अध्यक्षले म सँगको भेटमा छेन्दुबाट पोखरामा जहाज ल्याण्ड गर्ने जवाफ दिए।'