नेकपा (एमाले) प्रवेश गर्ने नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको प्रस्ताव अलपत्र परेको छ।
दोहोर्याएर मूल घर फर्कने र संगठित सदस्यता नवीकरण गर्ने चाहना असार ३ गते पार्टी मुख्यालय च्यासल पुगेर उनले अध्यक्ष केपी ओली समक्ष राखेका पनि हुन्।
जेठ १९ गते बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेर नेतृत्वमा आउने तगारो उघारो गरिदिएपछि उनले एमालेको खातामा ६० लाख सदस्य संख्या पुर्याउने महत्त्वाकांक्षी कार्ययोजना पनि सुनाउन भ्याइसकेका थिए।
तर, उनको प्रस्तावले एमाले वृत्तमा उत्साह सञ्चार नगरेको पार्टीका नेता–कार्यकर्ता बताउँछन्।
त्यसो त, वामदेव गौतम रित्तै एमालेमा फर्कने चाहना व्यक्त गरेका थिएनन्।
साथमा उनले नेपाली विशेषताको समाजवाद निर्माणसम्बन्धी प्रारम्भिक अवधारणा पनि बोकेर लगेका थिए।
अहिले एमाले छिर्ने प्रस्ताव र आफूले अघि सारेको समाजवादको मोडल दुवै अलपत्र परेको वामदेव गौतमको ठम्याइ छ।
‘म एकताको प्रस्ताव लिएर गएको हुँ। केपी ओलीसँग सौहार्द कुराकानी भएको थियो। खुलस्तै कुराकानी पनि भएको हो, उहाँले एकता गर्नुपर्छ, आउनुस् भन्नुभएको थियो,’ सेतोपाटीसँगको कुराकानीमा उनले भने, ‘तर, अहिले उहाँहरूले कुनै खबर गर्नु भएको छैन। बोलाउनु पनि भएको छैन।’
भेटमा आफूले समाजवाद निर्माणको आधारसहित आफू फर्कन चाहेको र त्यसका लागि पार्टीले के जिम्मेवारी दिन्छ भनेर सोधेको पनि बताए।
त्यतिबेला उनले ठोस जवाफ पाएका थिएनन्। अहिले पनि आफू मूर्त जवाफको प्रतीक्षामै रहेको उनले बताए।
‘मैले म मात्रै आउने होइन, पार्टीको कुरा छ भनेँ। हुन पनि मसँग पार्टी छ। संगठन छ। कमिटी छ, त्यसको व्यवस्थापनको कुरा के हुन्छ भनेर सोध्नै पर्यो। उहाँले ठोस जवाफ दिनु भएन। उहाँले तपाईं पार्टीमा आउनुपर्छ। जिम्मेवारी मैले मात्रै दिएर हुँदैन। कमिटीले निर्णय गर्नुपर्छ भन्नुभयो, त्यसपछि थप कुरा भएको छैन,’ उनले भने।
एमालेले प्रस्ताव अलपत्र पारेपछि आफूले खोजीनिती नगरेको संयोजक गौतमले बताए।
उमेर हद हटाए एमालेमा फर्कने बताइरहँदा नेता गौतम समाजवादी मोर्चामा सामेल हुने चर्चा पनि नचलेको होइन।
तर, त्यहाँबाट पनि औपचारिक प्रस्ताव नआएको गौतमले बताए।
‘समाजवादी मोर्चाबारे कसैले पनि मसँग कुरा गरेको छैन। खोजी नगरी चर्चा गर्ने कुरा पनि भएन,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा ब्युँताउनुपर्छ भनिरहेका छन्। आइतबार भक्तपुरमा नारायणविलास जोशीको स्मृति दिवसमा आयोजित कार्यक्रममा पनि उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेकपातिरै फर्कनुपर्ने कुरा गर्ने गरेको बताए।
नेकपा एकता अभियानलाई दलकै रूप दिएका गौतम पनि त्यही पक्षमा छन्।
एमालेभित्र आफ्नो प्रस्ताव अलपत्र परे पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै छातामुनि उभ्याइ छाड्ने उनले बताए।
‘म जहिल्यै एकताको पक्षमा हो। कम्युनिस्ट पार्टी एकताबद्ध नभइ समाजवादी आन्दोलनको लक्ष्य पूरा हुँदैन भन्नेमा ढुक्क छु। त्यसैले नेकपा एमालेसँग मात्र होइन। माओवादी केन्द्र, एकीकृत समाजवादी सबै एकताबद्ध हुनुपर्छ। पहिले यी तीन पार्टी एकताबद्ध हुने त्यसपछि अरू पार्टीलाई ल्याउनुपर्छ। मेरो त लक्ष्य नै यही हो। यसमा म बाँचुञ्जेल लागिरहन्छु। म लक्ष्यमा पुग्छु पनि। वामदेव जहिल्यै एकताको पक्षमा हो भन्ने सन्देश दिन म कटिबद्ध छु,’ उनले भने।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि वामदेवको प्रस्ताव अघि बढ्न नसकेको बताए।
अध्यक्ष ओलीसँगको कुराकानीपछि त्यो प्रस्ताव त्यत्तिकै रहेको उनको भनाइ छ ।
‘अध्यक्षज्यूसँग बसेर कुराकानी भएको हो। त्यसबारे थप केही कुरा भएको छैन,’ उनले सेतोपाटीसँग भने।
वामदेवप्रति किन सकारात्मक छैन एमाले पंक्ति?
वामदेव एमालेमा फर्कन खोजेको दोस्रोपटक हो। २०५४ सालमा एमाले विभाजन गरेका वामदेव २०५८ मा एमालेमै फर्किएका थिए।
त्यतिबेला उनलाई पार्टीको ठूलो पंक्ति तत्कालीन सशस्त्र संघर्षरत नेकपा (माओवादी)लाई बुझाएर फर्किएको आरोप लाग्यो।
अहिले पार्टी विभाजन नगरी त्यसैत्यसै किनारा लागेका वामदेव नेतृत्वको आकांक्षा जीवितै राखेर एमालेमा फर्कन लागेका हुन्।
आठौं र नवौं महाधिवेशनमा उपाध्यक्ष जितेका वामदेव एमालेमा फर्किने बाटो पाए अध्यक्ष बन्नेमा आशावादी नै छन्।
हुन त पार्टी अध्यक्ष केपी ओलीले वामदेवको सदस्यता एमालेमै भएकाले प्रवेश गर्नुनपर्ने सार्वजनिक रूपमै बताएका थिए।
वामदेव भने अहिले आफूसँग रहेको नेकपा एकता राष्ट्रिय अभियान नामको पार्टी संरचना एमालेमा गाभ्ने बताउँदै आएका छन्। र, सोही अनुसार जिम्मेवारी पाउनुपर्ने बताइरहेका छन्।
उनले दुई वर्षअघि २०७८ भदौ १८ गते पार्टी अध्यक्ष ओलीलाई ‘स्वेच्छाचारी’ र ‘निरंकुश’ बनेको आरोप लगाउँदै एमाले परित्याग गरेको घोषणा गरेका थिए।
दुई–दुईपटक ससद् विघटन गरेर संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गरेको भन्दै निन्दा र भर्त्सना नै गरेका थिए।
‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नु भएका गलत नीति र विचार अनुसार नचल्दा एकपछी अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अँगाल्नु भयो । त्यतीमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो। म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ उनले एमाले छाड्दै भनेका थिए।
रोचक कुरा! त्यसको ठीक दुई महिनाअघि भने वामदेवको कुरा अर्कै थियो।
उनले बालुवाटार पुगेर कहिल्यै नफर्कने गरी एमालेमा आएको भनेका थिए।
अदालतले एमाले ब्युँताएपछि २०७८ असार १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक डाकेका थिए।
वामदेवले त्यही बैठकमा गएर अब ओलीले ननिकाल्दासम्म एमालेमै रहने बताएका थिए।
वामदेवको यही अस्थिर चरित्रका कारण उनलाई एमालेमा ठाउँ दिनु हुँदैन भन्ने कतिपय कार्यकर्ताको मत छ।
‘नेकपा विभाजनको सूत्राधार नै वामदेव हुन्। उनलाई पार्टीमा किन ल्याउने? उमेर र ऊर्जा एमाले आन्दोलन कमजोर बनाउन खर्चिएका वामदेवले जीवनको उत्तरार्द्धमा पार्टीमा आएर गर्छन् चाहिँ के ?,’ एक नेताले आक्रोशित स्वरमा भने।
अवसर खोज्न गुटको दैलो चहारिरहने र अवसरको स्वाद फेरिरहने पृष्ठभूमि पनि उनीसँग नभएको होइन।
२०७५ पुस २९ गतेको तत्कालीन नेकपाको चौथो स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउनुपर्ने भन्दै १६ बुँदे असहमति दर्ज गरेका थिए।
उनले बैठकमा अघि सारेको फरक विचारमा सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागू गनुपर्ने राय थियो।
‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन। तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रूपमा सरकार संचालन गर्नेतर्फ नै ध्यान बढि दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रूपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी दिने व्यवस्था गर्ने। कुनै पनि कमिटीको अध्यक्षता गर्न दुवै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने। अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागू गर्ने,’ उनले त्यतिबेला प्रस्ताव गरेका थिए।
२०७० मा ओलीलाई संसदीय दलको नेता र २०७१ को नवौं महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन वामदेवकै अहम् भूमिका छ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला २०७६ जेठमा सचिवालय बैठक बसेको थियो। त्यस बैठकमा प्रचण्ड, माधवकुमार नेपालसहितका नेताले ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अवस्थामा पुर्याइसकेका थिए।
स्थायी कमिटी बैठकमा एक व्यक्ति एक पदको मान्यता अघि सारेको र त्यसपछिका समूहगत भेलामा पनि ओलीलाई हटाइहाल्नुपर्ने बताएको वामदेव त्यतिबेलाचाहिँ उनकै पक्षमा उभिएर दुवै पद जोगाइदिएका थिए।
तथापि, कहिले प्रचण्ड-माधवकुमार नेपालको दैलो र कहिले केपी ओलीको दैलो चहारेर वामदेवले नेकपा क्षतविक्षत बनाएको आरोप एमाले संस्थापन पक्षले लगाउँदै आएको छ।
यही कारण नेतृत्वलाई वामदेवको प्रस्तावप्रति कुनै रूचि नरहेको एमालेका नेताहरू बताउँछन्।
उनले अध्यक्ष ओलीलाई बुझाएको कार्यपत्रको पूर्णपाठ