नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेताहरूसँग आफ्नो 'हिमचिम' नरहेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सक्ने राजनीतिक आकलनबारे नयाँ बानेश्वरमा पत्रकारहरूले राखेको जिज्ञासामा ओलीले कांग्रेसका नेताहरूसँग 'भेटेको बेला हेलो भन्ने बाहेक' सम्बन्ध नरहेको बताएका हुन्।
'कांग्रेस नेताहरू बोल्नै डराउनुहुन्छ। यसो बोलिहाल्यो भने पनि कसैले देख्यो कि...कस्तो त्रास हो? कोसँगको त्रास हो?,' उनले भने।
ओलीले शेरबहादुर देउवा विगतमा डेढ वर्ष प्रधानमन्त्री हुँदा एकपटक पनि आफूसँग नभेटेको र कुराकानी नगरेको बताए।
'भेट होला भन्ने डरले त्यति बेला संवैधानिक परिषद बैठक समेत बोलाएनन्,' ओलीले भने, 'भेट होला भन्ने डरले महाभियोगको प्रस्ताव राख्दा समेत जवाफ दिएनन्।'
एमाले अध्यक्ष ओलीले निर्वाचनपछि पनि देउवा त्यस्तै रहेको बताए।
पत्रकारहरूले मुलुकको आर्थिक संकटको सामना गर्न मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने सुझाव आर्थिक क्षेत्रबाट आइरहेको बारे ओलीलाई प्रश्न गरेका थिए।
जवाफमा ओलीले कांग्रेसको 'क्याल्कुलेसन' गलत भएको टिप्पणी गरे।
'कांग्रेसको क्याल्कुलेटर पुरानो भएछ,' ओलीले भने, 'त्यसले राम्ररी हिसाब किताब गर्दैन। क्याल्कुलेटर नै खराब छ। त्यसैले उनीहरू एमालेलाई कमजोर पार्न खोज्छन्। एमाले झन् मजबुत हुन्छ। त्यसकारण हामीलाई सरकारमा जाने कुनै हतारो छैन।'
ओलीले एमाले आफ्नो संगठन बलियो पार्न अहिले केन्द्रित रहेको बताए।
'तर यसको अर्थ मुलुकको स्थिति बिग्रिरहोस्, भत्किरहोस्, मुलुक जहाँसुकै जाओस् भनेर आफ्नो अनुकूलता मात्रै हेर्छौं भन्ने कुरा होइन,' उनले भने, 'हामी खुला छौं भन्दा पनि कांग्रेस डराइराखेको छ।'
ओलीले २०७९ पुस १० गते संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि बालुवाटार पुगेर छलफल गर्न चाहे पनि देउवाले नमानेको बताए।
उनले देउवाले त्यति बेला संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बहुमतीय सरकार आफ्नो नेतृत्वमा गठन गर्न खोजेको समेत टिप्पणी गरे।