आधा घन्टाका लागि स्थगित गरिएको कोशी प्रदेशसभा बैठक साढे तीन घन्टा बितिसक्दा पनि सुरू भएको छैन।
नेकपा एमाले र राप्रपाबाहेकका दलहरूले विश्वासको मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सरकारका सबै मन्त्री प्रदेशसभाबाट बाहिरिएका थिए। त्यसपछि साँझ ५ बजेर २० मिनेटमा आधा घन्टाका लागि भनेर बैठक स्थगित गरिएको थियो।
मुख्यमन्त्री कार्कीले संसद बैठक शुक्रबारलाई सार्न दबाब दिएका थिए। विपक्षीहरूले भने बिहीबारै सुरू गर्नुपर्ने अडान लिइरहेका छन्। मुख्यमन्त्री र अन्य मन्त्रीहरू बिनाखबर अनुपस्थित भएपछि सभामुखको कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की परिरहेको छ।
यसबीच मुख्यमन्त्री कार्कीले सरकार टिकाउन आवश्यक एक मत जोहो गर्न जनता समाजवादी पार्टी (जसपा) लाई फकाउन खोजिरहेको जसपा प्रदेश समितिका एक नेताले बताएका छन्।
जसपाका एक जना सांसद र एक जना गैरसांसदलाई मन्त्री बनाउने प्रस्ताव मुख्यमन्त्रीले पठाएको उनले जानकारी दिए। यही प्रस्तावका कारण जसपाले बिहीबारको बैठकमा तटस्थ बस्ने निर्णय लिएको उनको दाबी छ।
ती नेताका अनुसार मुख्यमन्त्री कार्कीले जसपा नेता जयराम यादव र सांसद निर्मला लिम्बूलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन्।
‘हाम्रो पार्टीभित्रका केही नेतालाई गैरसांसदका रूपमा छ महिना मन्त्री बनाउने आश्वासन मुख्यमन्त्रीले दिएको बुझिएको छ,’ उनले भने, ‘यस्तो प्रस्ताव आएपछि नै विश्वासको मतको विपक्षमा उभिनुपर्ने जसपाले आज तटस्थ बस्ने निर्णय लिएको हो।’
यसबारे जसपाका केन्द्रीय सदस्य जयराम यादवले 'सरकारलाई विश्वासको मत दिएर जान सकिने' बताएका छन्।
‘संघमा जस्तो गठबन्धन छ, प्रदेशमा पनि त्यस्तै हुनुपर्छ भन्ने छैन,’ यादवले बुधबार सञ्चारकर्मीसँग भनेका थिए, ‘सरकारलाई विश्वासको मत दिएर जान सकिन्छ।’
सांसद निर्मला लिम्बू भने कार्की नेतृत्वको सरकारलाई मत दिने पक्षमा छैनन्। यसअघि मन्त्री हुँदा आफ्नो अपमान गरेको र प्रदेश नामकरणमा बाइपास गरेको जस्ता कारणले उनी रूष्ट रहेको नेताहरू बताउँछन्।
‘आन्तरिक विवादकै कारण पार्टीले आज तटस्थ बस्ने मध्यमार्गी बाटो समातेको हो,’ ती नेताले भने, ‘अन्यथा उपराष्ट्रपति जिताउने, अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन जिताउने र समाजवादी मोर्चाको घटकले तटस्थ बस्ने निर्णय किन गर्नुपर्थ्यो?’