पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगा दाहालले प्रचण्ड र नेत्रविक्रम चन्द 'विप्लव' सँगै बसेको फोटो राखिन्।
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा (विप्लव) महासचिव विप्लवको फोटो मात्र छैन, त्यो सँगै प्रधानमन्त्रीकी स्वकीय सचिव समेत रहेकी गंगाले लेखेकी छन्— समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल!
शान्ति सम्झौतालगत्तै बालुवाटारमा सार्वजनिक हुँदा माओवादीका सबै प्रमुख नेताहरूले खरानी रङका 'सफारी सुट' लगाएका थिए।
संयोग, यसपालिको भेटमा प्रचण्ड र विप्लवले उस्तै रङका कोट लगाएका थिए। उनीहरूको हाउभाउ मित्रवत मात्र थिएन, दुवैबीच बढ्दै गएको निकटताको स्पष्ट सन्देश दिन्थ्यो।
यही असार ४ गते नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस) सँगै विप्लव नेतृत्वको नेकपालाई पनि सम्मिलित गरेर 'समाजवादी मोर्चा' घोषणा गरेपछि नै प्रचण्डले विप्लवलाई दिन थालेको महत्वको चर्चा सुरू भएको हो।
विप्लवका लागि समाजवादी मोर्चा पहिलो 'स्टेसन' मात्रै हो। उनको खास गन्तव्य माओवादी केन्द्र हो भन्ने अब स्पष्ट भइसकेको छ। विप्लवले अहिलेसम्म पनि संसदीय राजनीतिलाई व्यवहारतः स्वीकार गरेका छैनन् र 'संसदीय भास' मा रमेर मुलुकले पार पाउँदैन भन्ने उनको विश्वास देखिन्छ।
त्यसो भए पछाडि फर्किन नसक्ने गरी 'संसदीय भास' चुर्लुम्म डुबेको माओवादी केन्द्रसँग उनी किन नजिकिँदै छन्?
यसमा विप्लवको जति रूचि र स्वार्थ छ, त्यति नै प्रचण्डको पनि छ।
यी दुईबीचको निकटताले सबभन्दा धेरै चर्चा, अनुमान, आशंका र तरंग पनि नेकपा माओवादी केन्द्रमै सिर्जना गरेको छ। अरू दलले यी दुईको बढ्दो सम्बन्धलाई खासै चासो वा महत्व दिएका पनि छैनन्।
विप्लव माओवादी केन्द्रमा फर्किने मात्रै होइन, उनलाई अध्यक्ष प्रचण्डले महासचिव नै बनाउँदैछन् भन्ने आशंकाले सो दलका नेता तथा कार्यकर्ता तरंगित भएका छन्।
आखिर अहिले आएर प्रचण्ड र विप्लव किन एकाएक आपसमा नजिकिएका छन्?
यसका पछाडि मुख्य दुई कारण छन्।
पहिलो, प्रचण्डको स्वार्थ।
दोश्रो, विप्लवको बाध्यता।
प्रचण्डले जहिले पनि पार्टीभित्र आफूलाई केन्द्रमा राख्ने गरेका छन्। पार्टीमा थुप्रै उतारचढाव आए तर ३५ वर्षदेखि उनको पद जहिल्यै पनि सुरक्षित छ। आफूलाई पार्टीको केन्द्रमा राख्ने र नयाँ विकल्प हुर्किन नदिने कुरामा उनी सधैं सचेत देखिन्छन्। पार्टीभित्र आफ्नो वर्चश्व कमजोर हुन नदिन उनले सधैं विभिन्न खालका रणनीति अपनाउँदै आएका छन्। विप्लवसँगको निकटता पनि त्यही रणनीतिको एउटा पाटो भएको एक नेताले सेतोपाटीलाई बताए।
आफ्नो विकल्प खडा हुन नदिन उनले माओवादी केन्द्रमा राम्रो प्रभाव राख्ने र उनको उत्तराधिकारी हुन सक्ने ल्याकत राख्ने दुई उपमहासिचवलाई सधैं समदूरीमा राखे। माओवादी केन्द्रमा व्यक्तिगत प्रभावको हिसाबले प्रचण्ड पछि वर्षमान पुन र जनार्दन शर्मा जति प्रभावशाली अर्को नेता छैन। उनीहरूबीच एक किसिमको प्रतिस्पर्धा रहिरहोस् र दुवै जना आफूसँग भर परून् भन्ने प्रचण्डको रणनीति देखिन्थ्यो।
भयो पनि त्यस्तै।
लामो समयसम्म पुन र शर्माबीच पार्टीमा प्रतिस्पर्धा चल्यो। त्यो कहिलेकाहीँ मनमुटावमा पनि पुग्यो। दुई जनानिकट कतिपय नेता तथा कार्यकर्ता समेत अर्को समूहलाई देख्नै नसक्नेसम्म भए।
गएको महाधिवेशनपछि एकअर्कालाई उछिनेर महासचिव बन्न पुन र शर्मा दुवैले एक हदसम्म प्रयत्न गरे। दुवैको यो आकांक्षामा प्रचण्डले केही हदसम्म मलजल पनि गरे। दुवैलाई महासचिव त मलाई नै बनाउँछन् भन्ने एक किसिमको विश्वास थियो।
तर प्रचण्डले उनीहरू दुईबीचको मनमुटावलाई देखाएर तेस्रो र कमजोर व्यक्तिलाई महासचिव बनाउन खोजेपछि दुवै जना झस्किए। त्यसपछि पुन र शर्माले आफूहरूमध्ये जसलाई बनाए पनि आपत्ति नहुने प्रचण्डलाई बताए। पुन र शर्मा दुवैले सँगै भेटेर प्रचण्डलाई सो कुरा भनेका थिए।
त्यसले भने प्रचण्डलाई नै झस्कायो।
यी दुई प्रभावशाली नेताबीच एकमत होस् भन्ने उनले चाहेका थिएनन्। महासचिव बन्ने होडमा दुवैबीच झनै मनमुटाव होला र दुवै जना आफूमा झनै निर्भर होलान् भन्ने प्रचण्डको आकलन र आशा थियो।
झस्किएका प्रचण्डले पुन र शर्मा दुवैलाई महासचिव बनाएनन्। बरू आफूलाई चुनौती दिन नसक्ने र पार्टीमा कार्यकर्ताहरूले पनि भविष्यका नेता नठान्ने देव गुरूङलाई महासचिव बनाए।
पार्टी पंक्ति निराश भयो। तर प्रचण्डलाई गएर कसले भन्ने!
पुन र शर्माले पनि गुरूङलाई महासचिव बनाएको कुराको सार्वजनिक रूपमा विरोध गरेनन्।
पार्टीभित्र असन्तुष्टि भने विस्तारै चुलिँदै गयो।
प्रचण्डले आफूहरूलाई पन्छाउन खोजेपछि र पार्टी पनि कमजोर बन्दै गएपछि पुन र शर्मा दुवैले पछिल्लो समय आपसमा 'सुलह' गरेको देखिन्छ।
'पार्टी जोगाउने र संगठन निर्माणमा लाग्नेमा दुईबीच समझदारी बनेको छ,' एक माओवादी नेताले भने, 'हामी एक ठाउँमा नउभिने हो भने पार्टी झनै कमजोर हुन्छ भन्ने दुवैमा (पुन र शर्मा) रियलाइजेसन छ।'
दुईबीच बढ्दै गएको समझदारी प्रचण्डलाई झनै बिझेको छ। अझ पछिल्लो समयको एउटा घटनाले उनी बिच्किएको एक नेताले बताए।
पुन उपचारका क्रममा चीनमै थिए। अध्यक्ष प्रचण्डले शर्मालाई संगठन विभागको बैठक राख्न भने। शर्मा विभाग प्रमुख हुन्। उनले पुन नआई बैठक नराखौं भनेर टारिदिए। पुन र शर्मा पार्टीलाई पुनर्जीवन दिन सघन छलफल गर्नुपर्ने र पार्टी जीवनलाई चलायमान बनाउनुपर्नेमा छन्।
दुवै नजिकिने क्रम बढेपछि प्रचण्ड विप्लवलाई पार्टीमा ल्याउन र सम्भव भए महासचिव नै बनाउन अग्रसर भएका हुन्।
'अध्यक्षको यो शैली हामीलाई नौलो लाग्दैन। यस्ता अनेक प्रयोग गर्नुहुन्छ। विप्लवलाई पार्टीमा ल्याएर प्रयोग गर्नुभयो भने अचम्म नमाने हुन्छ,' माओवादीका अर्का नेताले भने ,'दुई उपमहासचिवबाट प्रचण्ड आफैंले चुनौती देख्नुभएको छ। त्यसलाई सन्तुलनमा राख्न उहाँले विप्लवलाई ल्याउन खोज्नुभएको हो।'
विप्लवलाई पार्टीमा ल्याएर महाचसिव बनाउने र आफ्नै स्थान सुदृढ गर्ने प्रचण्डको रणनीति भएको अब देखिन थालेको एक नेताले बताए। त्यसका लागि नेता तथा कार्यकर्तासँगको भेटघाटलाई उनले तीव्रता दिएका छन्।
'वर्षमान र जनार्दनको झगडा देखाएर अध्यक्षले देव गुरूङलाई महासचिव बनाउनुभयो। तर अहिले दुई नेता धेरै कुरामा एकमत हुन थालेका छन्। यसलाई अध्यक्षले चुनौतीको रूपमा लिनुभएको छ,' माओवादीका अर्का एक नेताले भने, 'आफूलाई भेट्न आउने पार्टीका नेता तथा कार्यकर्तालाई समेत उहाँले अब सबै हेडक्वार्टरमा गोलबन्द हुनुपर्छ है भन्न थाल्नुभएको छ। यसको अन्तर्य यही हो भन्ने हाम्रो बुझाइ हो।'
हेडक्वार्टर बलियो बनाउनुपर्छ भन्नुको मतलब प्रचण्डबाहेक अरूलाई मान्नु हुन्न भनेको हो। २०६८ सालताका उनीविरूद्ध पार्टीमा अरू नेताहरूले 'धोबीघाट गठबन्धन' गरेपछि पनि प्रचण्डले यसै भनेका थिए।
२०६८ साउनमा तत्कालीन उपाध्यक्षहरू मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा 'बादल' सहितका नेताहरू धोबीघाटको एउटा रेस्टुरेन्टमा भेला भएर प्रचण्डविरूद्ध मोर्चा कसेका थिए। त्यो बेला पनि प्रचण्डले सो गठबन्धन तोड्न प्रयास गरे। नसकेपछि र आफू नै फालिन सक्ने अवस्था आएपछि उनी बाबुराम भट्टराईलाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भए।
प्रचण्डले वर्षमान पुन र जनार्दन शर्माको निकटतालाई धोबीघाट गठबन्धनजस्तै ठानेको एक नेताले बताए।
प्रचण्डले अहिले विप्लवलाई पार्टीमा ल्याउन उपाध्यक्ष कृष्णबहादुर महराको सहयोग लिएका छन्। महराकै पहलमा प्रचण्ड विप्लवसँग नजिकिएको ती नेताले बताए।
'वर्षमान र जनार्दनको पार्टीमा पकड बलियो भएपछि र उनीहरूसँग प्रतिस्पर्धामा आफू पछाडि परेपछि महराले विप्लवलाई ल्याउन बल गर्नुभएको हो,' ती नेताले भने, 'महराले समेत विप्लव कार्ड प्रयोग गर्न खोज्नुभएको हो। अहिले प्रचण्ड र महरा एक ठाउँमा छन्।'
माओवादी केन्द्रका महासचिव देव गुरूङले भने विप्लव नेतृत्वको पार्टीसँग एकता गर्नेबारे छलफल चलिरहेको तर टुंगोमा नपुगेको बताए।
'हामीले पार्टी एकताका लागि छलफल गरिरहेका छौं। छलफल गर्दैमा एकता हुन्छ भन्ने होइन,' उनले भने, 'सम्भव भयो भने एकता हुन्छ। भएन भने हामी एउटै मोर्चामा रहन्छौं।'
प्रचण्ड र विप्लव मिल्नुको दोश्रो कारण विप्लव स्वयंको बाध्यता हो।
माओवादी सशस्त्र क्रान्ति भाग-२ को नेतृत्व गर्ने र 'दोस्रो प्रचण्ड' बन्ने महत्वकांक्षा लिएका विप्लवको क्रान्तिले कहिल्यै गति समातेन। उनको पार्टीमा फुट मात्र आएन, उनीमाथि गम्भीर आरोप पनि लागे। आफ्नो राजनीति लड्खडाएको र अब के गर्ने भन्ने भेउ नपाएका बेला प्रचण्डले ओच्छ्याएको रेडकार्पेट विप्लवका लागि सञ्जिवनी बुटी जस्तै बनेको छ।
'२०६९ सालमा विद्रोह गरेर अहिलेसम्म उहाँले माओवादीलाई क्षति पुर्याउनेबाहेक के पाउनुभयो? उहाँले कुनै उपलब्धि हासिल गर्न सक्नुभएन। त्यसैले उहाँसँग अरू विकल्प पनि छैन,' माओवादीका अर्का एक नेताले भने, 'प्रचण्डको स्वार्थ र विप्लवको बाध्यता मिलेको हो। अरू केही होइन। यसको केही उपलब्धि पनि हुन्न।'
२०६९ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा 'बादल' सँगै पार्टीबाट बिद्रोह गरेर बनेको नेकपा-माओवादीको सचिव बनेका थिए विप्लव।
२०७१ मंसिरमा त्यो पार्टीबाट पनि फुटेर उनले आफ्नै नेतृत्वमा 'नेकपा (माओवादी)' गठन गरे। त्यसलगत्तै उनी अर्धभूमिगत बनेका थिए। २०७३ फागुनमा 'नेपाल कम्युनिस्ट पार्टी' गठन गरेका विप्लवले 'एकीकृत जनक्रान्ति' गर्ने घोषणा गरे। २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा फर्किएका विप्लव २०७९ वैशाख २१ गते आफ्नै पार्टीबाट निष्कासनमा परेका थिए। उनलाई धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली सहितका बहुमत सदस्यहरूले पार्टीबाट निकालेका हुन्।
माओवादी छाडेर गएपछि कुनै राजनीतिक उपलब्धि हासिल नगरेका विप्लवलाई पार्टीमा ल्याउँदैमा कुनै चमत्कार नहुने माओवादीका अर्का नेताको पनि दाबी छ।
'२०६९ यता विप्लवका गतिविधि नियाल्ने हो भने उनको क्षमता थाहा हुन्छ। उनले पार्टी बनाउन सक्दैनन् भन्ने पनि प्रस्ट हुन्छ,' माओवादी केन्द्रका एक नेताले भने, 'पार्टीमा ल्याएर कुनै जिम्मेवारी दिनु एउटा कुरा हो तर मुख्य जिम्मेवारी दिइयो भने ठूलो भुल हुन्छ। यसले पार्टीलाई हानि मात्रै गर्छ।'
प्रचण्डले चाहे भने विप्लवलाई महासचिव बनाउन सक्छन् तर विप्लव सबैका लागि स्वीकार्य हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न चाहिँ प्रचण्डका लागि पनि महत्वपूर्ण हो। अहिले नै देव गुरूङ महासचिव भएर पनि महासचिव जस्तो बन्न नसकेको एक पदाधिकारीले बताए।
विप्लवको विचार र राजनीतिक लाइन नै अहिलेको माओवादी केन्द्रलाई 'सुट' नहुने अर्का पदाधिकारीले तर्क गरे।
'विप्लवले अझै एकीकृत जनक्रान्ति छाडेका छैनन्। हामीले लोकतान्त्रिक प्रक्रिया स्वीकार गरिसकेका छौं। जनक्रान्तिमा विश्वास गर्ने विप्लवलाई लोकतन्त्र मान्ने हाम्रो पार्टीमा महत्वपूर्ण जिम्मेवारी कसरी दिन मिल्छ? उनलाई पार्टीमा ल्याउन सकिएला तर महत्वपूर्ण भूमिका दिन सम्भव छैन,' ती पदाधिकारीले भने, 'विप्लवलाई ल्याउनेबारे पार्टीमा केही छलफल भएको छैन। दुई जना बसेर मात्रै सबै कुरा टुंगिँदैन पनि।'
पार्टीमा प्रस्ताव ल्याएर विप्लवलाई महासचिव बनाउन पनि गाह्रो हुने उनले बताए।
प्रचण्डले पार्टीमा जहिले पनि समस्या देखाउने अनि आफूलाई केन्द्रमा राख्ने गरेको ती नेताको दाबी छ। अहिले भने बढ्दो उमेरसँगै शक्तिमै रहिरहने हुटहुटीले अनेक प्रयोग हुन थालेको उनले बताए।
'सानो समस्या छ भने ठूलो समस्या ल्याएर थुपारेपछि सानो आफैं ठीक हुन्छ भन्ने प्रचण्डको पुरानै रणनीति हो। यसपटक विप्लवलाई रेडकार्पेट बिच्छ्याइनुको कारण पनि त्यही होला,' ती नेताले भने, '७० वर्ष पुग्न लागेका प्रचण्ड आफ्नो उमेरबारे सचेत छन्। तर नेतृत्वमा रहिरहने उनको चाहना भने कम भएको छैन।'