पछिल्लो हप्ता सत्तारूढ दलका तीन शीर्ष नेताहरूले सार्वजनिक रूपमा जे भने त्यसले राजनीति तरंगित भएको छ। यी अभिव्यक्तिले दलका नेताहरूको बदलिइरहने मनोदशाको पनि प्रतिनिधित्व गर्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका कुराहरू हेरौं।
‘भ्रष्टाचारकाविरूद्ध हामीले कडा कदम चाल्दै गएका छौं। तपाईंहरू ढुक्क के हुनुस् भने त्यहाँ कहीँकतै नरम हुने, यताउता गर्नेमा हामी छैनौं। बरू सरकार गए जान्छ भन्नेसम्म सोचिएको छ। किनभने दुई वटा ठूला पार्टीका अलि बढी मुछिएको हुनाले मिलेर केही गर्छन् कि भन्ने चर्चा चल्छ। मैले हेर्दा तत्काल त्यस्तो त छैन। तर, त्यो विषयमा गलत सम्झौता गर्नुभन्दा सरकार छोड्नु र जनतामा जानु लाभदायक छ।’
–प्रधानमन्त्री, पुष्पकमल दाहाल
प्रेस सेन्टरका प्रतिनिधिसँग कुराकानी गर्दै
‘ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन चाहेन। समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’
-माधवकुमार नेपाल, अध्यक्ष, एकीकृत समाजवादी
शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै
‘हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ। ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न किन नसक्ने? जाओस् न त सरकार! समाजवादीमा एमाले पनि थपियोस्। एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ? अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ।’
-गगन थापा, महामन्त्री, नेपाली कांग्रेस
शनिबार आयोजित एक कार्यक्रममा बौल्दै
मुलुकमा ९/९ महिनामा सरकार परिवर्तनको मनसुन चल्ने गर्छ। एकल दलको बहुमत हुँदा होस् वा बहुमत खण्डित भएको अवस्थामा होस्, दलभित्रको आन्तरिक शक्ति सन्तुलन नमिल्दा र दलहरूबीच समीकरण फेरिँदा सरकारहरू दुर्घटनामा पर्ने गरेको हाम्रो इतिहास साक्षी छ।
शीर्षस्थ नेताहरूको पछिल्ला अभिव्यक्तिले पुनः सरकार परिवर्तनको खेलको संकेत त गरिरहेको छैन भन्ने संशय राजनीतिक वृत्तमा उत्पन्न भएको छ।
सार्वजनिक रूपमा नेताहरूले दिने यस्ता प्रतिक्रिया सबै राजनीतिक घटनाक्रमको यथार्थसँग मिलिरहेका हुन्छन् भन्ने छैन। कतिपय नेताहरूले हतारिएर यस्ता प्रतिक्रिया दिने गरेका उदाहरण प्रशस्त छन्।
तर के यसपालि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सत्ता परिवर्तनको कसरतमा साँच्चै नै लागेको हो? कि अन्यत्रै यसको खेलोमेलो चलिरहेको छ?
नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धनभित्र असन्तुष्टि झांगिँदै गएको पछिल्ला घटनाक्रमले देखाउने बताए। गठबन्धन घटक दलले नै बजेटमा असहमति जनाउँदा सरकार नैतिक संकटमा परेको उनको तर्क छ।
‘म २०४८ सालदेखि नै निरन्तरजस्तो संसदमा छु। तर, सत्तापक्षका सांसदहरूले नै बजेट पारित गर्न दिँदैनौं भनेको सुनेको थिइनँ।
अहिले अचम्मको परिदृश्य देखिँदैछ। सांसद होइन मन्त्रीसमेत बजेटमा सन्तुष्ट छैनन्,’ उनले भने।
प्रचण्डमा हतासा देखिन थालेको पनि नेम्वाङले जिकिर गरे।
शुक्रबार प्रतिनिधि सभाको बैठकको सवालजवाफमा प्रधानमन्त्री प्रचण्डले सांसदको प्रश्न नै हराए। त्यतिमात्र होइन, उनले प्रश्नकर्ता सांसदको नामसमेत भुले।
काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने अम्बिका बस्नेतले जिल्लाको उत्तरी भेगका मूलखर्कबासीले आफ्नो घर जाँदा शिवपुरी राष्ट्रिय निकुञ्जलाई शुल्क बुझाउनु परेकोमा जवाफ माग गरेकी थिइन्। यो विषय बारम्बार संसदमा उठ्दै आएको छ।
तर, प्रधानमन्त्रीले सांसदको नाम र प्रश्न दुवै भुले। अम्बिका बस्नेतले दोहोर्याएर प्रश्न सोध्न पाइन्।
नेम्वाङ यसलाई इतिहासको विरलाकोटीको घटना भन्छन्। यसले प्रधानमन्त्रीको हतासाको प्रतिनिधित्व गर्ने उनको बुझाइ छ। त्यतिमात्र होइन। केही संकेत पाएरै प्रचण्डले गठबन्धनभित्र अलग्गै मोर्चा तयार गरेको नेम्वाङले बताए।
‘म त तर्क गर्ने मान्छे, उहाँले केही बुझेरै अलग्गै मोर्चा बनाउनुभएको होला,’ उनले भने, ‘हुन त एकाथरीले यो मोर्चालाई कांग्रेस र एमालेलाई तर्साउन नै सिर्जना गरिएको हो पनि भन्छन्। के थाहा, उहाँले कुनै संकेत बुझेरै मोर्चा बनाउनु पो भयो कि!,’ उनले भने।
यति भनिसकेपछि यो दस दलीय गठबन्धन फुटाउन एमालेले कुनै कसरत नगरेको भन्नचाहिँ छुटाएनन्।
‘म पार्टीको उपाध्यक्ष, दलको उपनेता भएका हिसाबले अध्यक्षज्यूसँग सँगै हुन्छु। संसदमा पनि, पार्टीमा पनि। उहाँले केही बताउनुभएको छैन,’ उनले अहिलेको गठबन्धन फुटाउने खेलमा एमाले लागेको इन्कार गर्दै भने, ‘पार्टीभित्रका गतिविधि त मलाई थाहा हुन्छ नि।’
समाजवादी मोर्चाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि टिप्पणी गरेका छन्।
उनले समाजवादी मोर्चा सरकार टिकाउनकै लागि भएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा देशबाहिर भएका बेला गठबन्धनभित्र पनि गठबन्धन बन्ने कुरा बुझ्नु आवश्यक भएको बताए।
‘सरकार गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। मोर्चा बनेको थाहा भयो। अब यो के हो? बुझ्न जरूरी भयो। त्यही गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेलामा, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ,’ लामिछानेले शुक्रबार प्रतिनिधि सभाको बैठकमा टिप्पणी गर्दै भनेका थिए।
प्रधानमन्त्री प्रचण्ड निकट माओवादी केन्द्रका नेताहरू भने सरकार परिवर्तनको बेमौसमी हल्ला चलेको बताउँछन्।
बजेटलाई लिएर सत्ता साझेदार दलबीच तिक्तता बढ्दा माओवादी केन्द्रका नेताहरू सशंकित हुँदै गएका छन्। उनीहरूले उपयुक्त विधि खोजेर गुनासो व्यवस्थापनमा जोड दिएका छन्।
‘बजेटलाई लिएर उपेन्द्र यादव र माधवकुमार नेपालको असन्तुष्टि छ। अर्थमन्त्रीबाट कमीकमजोरी भएकै पनि देखिन्छ,’ माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘यसको समाधानको विधि भनको अर्थमन्त्रीले जवाफ दिँदा गुनासाको सम्बोधन गर्छु भन्ने र रकमान्तर गरेर मिलाउने हो।’
बजेटमा बढेको असन्तुष्टिकै कारण सरकार ढल्ने सम्भावनालाई भने उनले नकारे।
‘सरकार फेरबदलको हल्ला साँचो होइन। मैले हिजोमात्रै प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेको थिएँ। त्यस्तो संकेत पाएको छैन,’ उनले भने।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे। गठबन्धन एकढिक्का रहेकाले कल्पना गर्नु पनि बेकार हुने उनको तर्क थियो।
‘सरकार फेरबदल हुन त संस्थागत निर्णय हुनुपर्यो,’ उनले आफ्नो तर्कमा उभिँदै भने, ‘कसैले निर्णय नगर्दासम्म कल्पना गर्न सकिँदैन।’
देउवा–पोखरेल भेटेको निराधार हल्ला
जेठ ३० गते उपचारको लागि सिंगापुर गएका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किइसकेका छन्। एक सातापछि फर्कने भनेको देउवा १० दिनपछि फर्किए।
माआवादी वृत्तमा भने कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच सिंगापुरमै भेट भएको चर्चा रहेछ।
‘सभापति देउवा र पोखरेलबीच सिंगापुरमै भेट भएको रहेछ। संयोग हो कि, सल्लाहमै हो त्योचाहिँ प्रष्ट हुन सकेको छैन,’ माओवादीका एक नेताले भने। पोखरेल अहिले प्रवासी नेपाली मञ्च मलेसियाको अधिवेशनको सिलसिलामा क्लालालम्पुर पुगेका छन्। हामीले उनीसँगै रहेका नेकपा (एमाले)का केन्द्रीय सदस्य कृष्णबहादुर केसीलाई सोधेका थियौं।
उनले देउवासँग उपाध्यक्ष पोखरेलको भेट नभएको बताए।
‘हामी अस्तिका दिन आएका हौं। हिजो राति अबेरसम्म अधिवेशनमै थियौं। अहिले बिहान हुँदैछ। आएकै दिन सिंगापुरमा भएका देउवालाई कसरी भेट्न सम्भव छ?,’ उनले इन्कार गर्दै भने।
सरकार परिवर्तनको हल्लाबारे गठबन्धन बैठकमै चर्चा
देउवा शुक्रबार स्वदेश फर्किए। शनिबार अपराह्न सत्ता गठबन्धनको बैठक बसेको थियो। त्यसो त शनिबार बिहानै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।
शनिबार ४ बजे बसेको सत्ता गठबन्धनको बैठकमा सरकार परिवर्तनबारे चलाइएको हल्लाबारे पनि छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
‘तपाईं सिंगापुरमा भएका बेला महत्त्वपूर्ण राजनीतिक भेटघाट भयो भनेर उहाँ हल्ला चल्यो! को-कोसँग भेट गर्नुभयो? सरकार परिवर्तन हुन लागेको हो? भनेर हामीले सोध्यौं,’ पाण्डेले सेतोपाटीसँग भने।
जवाफमा देउवाले सिंगापुर आफू विशुद्ध उपचारका लागि गएको र त्यस्तो कुनै भेट, छलफल नभएको प्रस्ट्याएका थिए।
‘म त्यहाँ आँखाको उपचारका लागि गएको हुँ। सिंगापुरमा राजनीतिक भेटघाट त के मैले मिडियालाई पनि भेटिनँ,’ देउवाको भनाइ उद्धृत गर्दै पाण्डेले भने।
देउवाले पनि सरकार फेरबदलको हल्ला अनावश्यक भएको बताए उपाध्यक्ष पाण्डेको भनाइ थियो। बजेटको असन्तुष्टिलाई देखाएर एमालेले सरकारै फेरबदलको हल्ला चलाएको पाण्डेको बुझाइ छ।
‘केपी ओलीमा सत्तामा बस्न नपाएको छटपटी छ। सत्ता नभइ एकछिन बस्न नसक्ने मानिस अहिले बाहिरै रहनु परेको छ। त्यसैको छटपटी हो। अहिले कांग्रेसलाई सरकार किन फेर्नुपर्यो?,’ उनले प्रश्न गर्दै भने, ‘अर्थलगायत महत्त्वपूर्ण मन्त्रालय उसकै हातमा त छ नि! यसर्थ यो एमालेले चलाएको वाहियात् हल्ला हो।’
उनले एमालेका दोस्रो तहका नेताको पार्टीभित्र केही सीप नचल्ने बताए।
‘बाहिर एमालेका दोस्रो तहका नेताहरू खुब लागेका छन् भन्ने पनि छ। तर, तिनीहरूको त्यहाँ कुनै भूमिका छैन। उनीहरूले सास त केपी शर्मा ओलीसँग सोधेर फेर्छन्,’ उनले कटाक्ष गरे।