कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि पहिलोपटक ‘नगरबस’ सञ्चालन गरिँदैछ। प्रदेशको राजधानी भएको पाँच वर्ष बिते पनि कमजोर यातायात भएको वीरेन्द्रनगरमा यातायात व्यवसायीहरूले संयुक्त रूपमा नगरबस चलाउन थालेका छन्।
शुक्रबार बिहान ८ बजेदेखि नगरबस सञ्चालन गरिने छ। पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा सुरू गर्न लागिएको छ। ती गाडीहरू छुट्टाछुट्टै समितिका हुन्।
अटोरिक्साको जोखिमपूर्ण र महँगो यात्राबाट आजित सर्वसाधारणलाई न्युनतम शुल्कमा उपत्यका भित्र यात्रा गराउने उद्देश्यका साथ यातायात व्यवसायीहरूले नै नगरबस चलाउने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेश सापकोटाले बताए।
तत्काल वीरेन्द्रनगर नगरपालिकासँग भने यसबारे सम्झौता भइसकेको छैन्।
‘हामीले नगरका मेयर, उपमेयरसँग यो विषयमा केही दिनअघि नै कुरा गरिसकेका थियौं, उहाँहरूले तत्कालै तपाईंहरू सेवा सञ्चालन गर्नुहोस्, भोलिको दिनमा त्यस्तो सम्झौता गर्नुपर्यो भने प्रक्रियामा जाउँला भन्नुभएको छ,’ उनले भने।
तत्काल व्यवसायहरूले नगरबसलाई व्यापारको रूपमा भने नलिने उनले बताए। अहिले सेवासँगै परीक्षणका रूपमा सञ्चालन गर्न लागिएको सापकोटाले बताए।
‘हामी व्यापारको हिसाबले पछि सोच्ने हो, अहिले सेवाका हिसाबले चलाउँदैछौं,’ संयोजक सापकोटाले भने, ‘मानिसको प्रतिक्रिया के आउँछ, उनीहरुलाई नगर बसको आवश्यकता कत्तिको रहेछ भन्ने कुरा पनि सुरूआती चरणमा हेर्छौं, त्यसपछि नतिजाका आधारमा थप बस चलाउने वा घटाउने कुरा पनि छलफल गर्छौं।’
यदि नगरबस चल्ने नै रहेछ भने केही समयपछि ईलेक्ट्रिक गाडीहरू ल्याएर चलाउने योजना यातायात व्यवसायीहरूको छ। सुरूआती चरणमा गाडीमा प्रयोग हुने डिजलको मात्र पैसा उठ्ने देखियो भने पनि नगर बसमा लगानी गर्न आफूहरू तयार भएको उनको भनाइ छ।
केही दिनअघि संयुक्त यातायात व्यवस्थापन समितिभित्र छलफल गरेर यो निर्णय गरिएको सापकोटाले बताए।
उनका अनुसार अहिले वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्साका लागि बनाएको न्यूनतम भाडा सम्बन्धि कार्यविधिमा रहेर नगरबस चलाउन लागिएको हो। नगरपालिकाले अटो रिक्साको भाडादर, रुट, कर लगायतका मापदण्डहरू तोकेर ‘अटो तथा इ-रिक्सा व्यवस्थापन कार्यविधि’ बनाएको छ।
कार्यविधिमा नगरपालिकाले अटोरिक्सालाई तोकिएको भाडामा १० रुपैयाँ घटाएर नगरबसमा यात्रा गराईने सापकोटाले बताए।
अहिले अटो रिक्सा सञ्चालकले कार्यविधिमा तोकिएअनुसारको भाडादर भने कार्यान्वयन गरेका छैनन्। सुरुमा कार्यविधि बनाउँदा अटोरिक्सा तथा इ-रिक्साले प्रतिव्यक्ति न्यूनतम २ ० रूपैयाँ लिन पाउने र पक्की सडकमा प्रतिकिलोमिटर ५ रूपैयाँका दरले थप हुने प्रावधान थियो। कच्ची सडकमा प्रतिकिकिलो मिटर १० रुपैयाँ थप हुने प्रावधान थियो।
एक वर्षअघि नगरपालिकाले अटो तथा इ-रिक्सा व्यवस्था समितिको सिफारिसमा भाडादर बढाएको थियो। न्यूनतम भाडा २० रुपैयाँ कायम राखी प्रतिकिलोमिटर थप हुनेमा पक्की सडकमा ८ रूपैयाँ र कच्ची सडकमा थप १२ रुपैयाँ तोकिएको तोकिएको छ। रिजर्भमा जाँदा भने प्रतिकिलोमिटर ३० रूपैयाँ लिन पाउने प्रावधान छ।
तर कार्यविधिमा तोकिएको भाडादर कार्यान्वयन नगरी उनीहरूले मोलमोलाइमा भाडा लिने गरेका छन्। वीरेन्द्रनगरमा सञ्चालित अटो तथा इ-रिक्साको भाडामा चालकहरूको मनोमानी रहेको कुरा ‘व्यवस्थापन समिति’ को अध्ययन प्रतिवेदनले नै उल्लेख गरेको छ।
यसरी अटोरिक्सा चालकहरुको मनोमानी भाडा असुलीबाट पीडित सर्वसाधारणलाई नगरबसको निश्चित भाडाले राहत पुर्याउने सापकोटाले बताए।
‘नगरपालिकाले अटो रिक्सालाई निश्चित शुल्क लिने गरी कार्यविधि बनाएको छ, हामीले त्यसमा १० रूपैयाँ कम लिने कुरा गरेका छौं,’ सापकोटाले भने, ‘हामीले गाडीमा कहाँदेखि कहाँसम्मको भाडा कति छ भनेर टाँस्दिन्छौं, यात्रुहरूले हेरेर चढ्छन्।’
सुरूआती चरणमा वीरेन्द्रनगर उपत्यकाको मुख्य राजमार्ग धुलीयाबीटदेखि बांगेसिमलसम्म नगरबसको रुट हुने उनले बताए। उक्त राजमार्ग उपत्यकको मध्य भागमा पर्छ। माथिल्लो भागमा आवास क्षेत्र, बजार क्षेत्र, प्रशासनिक क्षेत्र लगायत छन् भने तल्लो भागमा आवास तथा कृषि क्षेत्र पर्छन्।
धुलीयाबीटदेखि बांगेसीमल सम्मको दुरी ६ किलोमिटर छ। यो दुरीभित्र मात्र सिँधै नगरबस चल्ने छैनन्। सञ्चालक व्यवसायीहरूले कर्णाली प्रदेश अस्पतालाई पनि एउटा विन्दु बनाएका छन्। धुलियाबीटदेखि बांगेसीमल जाने नगरबस मूलपानी चोकबाट भित्र छिरेर कर्णाली प्रदेश अस्पतालको गेटसम्म पुग्नेछन्। त्यहाँ जाने यात्रुलाई छोडेर, फर्किने यात्रुहरूलाई चढाएर फेरि नजिकैको कुमाइ चोक झरेर बांगेसीमलतर्फ जानेछन्। बांगेसीमलबाट धुलियाबीट जाने नगरबस कुमाइचोकबाट भित्र र छिरेर अस्पताल पुग्नेछन्। त्यसरी नै ती गाडी पनि नजिकैको मुलपानी चोकमा झरेर धुलियाबीटतर्फ लाग्नेछन्।
‘प्रदेश अस्पताल आम सर्वसाधारणले सेवा लिन जाने मुख्य गन्तव्य भएकाले त्यसलाई लक्षित गरेका छौं, कर्णाली प्रदेश अस्पताल जाने र फर्किनेलाई नछुटाउन नजिकैका दुईटा चोकबाट रूट परिवर्तन गरेका हौं,’ सापकोटाले भने।
अटो रिक्साले धुलीयाबीटबाट प्रदेश अस्पतालम्म पुगेको भाडा ४०० रुपैयाँ सम्म लिएकोमा नगरबसले ७०–८० रूपैयाँमा उक्त सेवा दिने उनले बताए। उनका अनुसार नगर बसहरु निश्चित पोइन्टमा १० मिनेटसम्म रोकिनेछन्। यात्रु नचढे पनि अर्को पोइन्टका लागि त्यसपछि गुडिहाल्ने सापकोटाले बताए।
अहिलेसम्म वीरेन्द्रनगरभित्र यात्रा गर्ने यात्रुहरूका लागि सार्वजनिक सवारी साधन भनेकै अटोरिक्सा छ। अरू विकल्प नै नभएपछि अटो व्यवसायीहरूले आफूखुसी भाडा लिन पाएका हुन्। नगरपालिकाभित्र ९ सयको हाराहारीमा अटोरिक्सा छन्।
वीरेन्द्रनगरले आफ्नो नीतिमा नगरबस सञ्चालन गर्ने उल्लेख गरे पनि आन्तरिक स्रोत नभएकाले कार्यान्वयन गर्न सकेको छैन। नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र सवारी व्यवस्थापनका लागि प्रारम्भमा कम्तीमा चारवटा बस सञ्चालन गर्नु पर्ने निष्कर्ष निकालेको छ।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले अहिले उपत्यकामा नगरबस चलाउन अघि सरेका व्यवसायीहरुसँग आवश्यक प्रक्रिया पूरा गरिने बताए।
‘अहिलेसम्म हामीले किनेर चलाउन सकेका छैनौं, व्यवसायीहरु अघि सर्नुभएको छ,’ खनालले भने, ‘उहाँहरूसँग गर्नुपर्ने समन्वय नगरपालिकाले गर्छ।’