धरान उपमहानगर वडा नम्बर २० को पकुवा खोला बगरमा यतिबेला उत्सवी माहोल छ। कोही नौमती बाजा बजाइरहेका छन्, कोही त्यसको धुनमा छमछमी नाचिरहेका छन्।
यो रमाइलोको केन्द्रमा छन् मेयर हर्क साम्पाङ। झण्डै ४२ किलोमिटर लामो दुरी पार गरेर कोकाहा खोलाको पानी धरान आइपुगेको खुसीयालीमा धरानवासी पकुवा खोला किनारमा भेला भएर यतिबेला नाचगान गरिरहेका हुन्।
निर्वाचित भएदेखि धरानमा खानेपानीको स्रोत थप्न श्रमदान अभियान चलाइरहेका मेयर साम्पाङको पछिल्लो प्रोजेक्ट हो, कोकाहा। धरानभन्दा ४२ किलोमिटर पश्चिमोत्तर क्षेत्रबाट जंगल, भीरपाखामा पाइप विछ्याउँदै कोकाहाको पानी धरानसम्म ल्याउन उनको अभियान कामयाब बनेको छ।
कोकाहा अभियान सुरू हुँदा असम्भव काममा हात हालेको भन्दै धेरै आलोचना व्यहोरेका मेयर साम्पाङले अन्ततः पानी धरानसम्म ल्याइछाडेका छन्।
अघिल्लो वर्षको स्थानीय चुनावमा भोट दिएर सघाएका धराने जनताले वर्ष दिनभन्दा लामो समयदेखि उनको श्रम अभियानमा पनि दरिलो साथ दिइरहेका छन्। खानेपानी अभावले पिरोलिएको धरानमा अर्को स्रोत थपिएको खुसीयाली साट्न यतिबेला पकुवा बगर धरानेहरूको नाचगानले गुल्जार बनेको छ।
‘एकपछि अर्को खानेपानीको स्रोत धरानमा थपिँदैछ’, मेयर साम्पाङका सक्रिय सहयोगी दत्तकुमार लिम्बूले भने, ‘आजको खुसीयाली अर्को स्रोत थपिएकोमा हो। हामी यतिमा रोकिँदैनौं। मेयर सा’बको अगुवाइमा हामी निरन्तर काममा जुटिरहनेछौं।’
अघिल्लो वर्ष स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेपछिको विजयोत्सवभन्दा कम छैन आज धरानमा देखिएको खुसीयाली।
‘कोकाहाको पानी धरान आइपुग्दैन भनेर अनेक अड्चन लगाउने काम भयो, यसबीचमा विभिन्न बहानामा मुद्दा लगाउने काम पनि भयो’, मेयर साम्पाङले पकुवामा भेला भएका सर्वसाधारणलाई भने, ‘अन्ततः पानी आयो। हाम्रो श्रम खेर गएन। परिश्रमको पसिना कहिल्यै खेर जाँदैन भन्ने प्रमाण आज यहाँ फेरि प्रमाणित भयो।’
पकुवा खोला किनारमा मेयर साम्पाङकै अगुवाइमा निर्माण भइरहेको साबुन उद्योग निर्माणस्थलभन्दा थोरै उत्तरमा पर्ने पकुवा खोलामा कोकाहाको पानी झारिएको छ। केही दिनयता दिनरात त्यही फिल्डमा खटिएका मेयर साम्पाङ र उनको श्रम अभियानका सहयोगीहरू सोमबार रातिदेखि मंगलबार बिहानसम्म पकुवा खोलामै बास बसे। उनीहरूको साथमा उपमेयर अइन्द्रविक्रम बेघा पनि थिए।
कोकाहाको पानी झारिएको पकुवाको ‘वास आउट प्वाइन्ट’ मा पाइपबाट मध्यरातमा पानी झरेपछि त्यहाँ पहिलो खुसीयाली छल्किएको थियो। मंगलबार बिहानको राति १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको थियो।
त्यसबेला मेयर साम्पाङ त्यहाँभन्दा केही किलोमिटर दुरीको फिल्डमै खटिएका थिए। पानी पकुवामा झर्नासाथ श्रमदानका अभियन्ताहरूले त्यो पानी छ्यापाछ्याप गरेर, नुहाएर खुसीयाली मनाएका थिए।
कोकाहाको पानी धरान नल्याई घर नफर्कने वाचा गरेका मेयर साम्पाङ आइतबार पटनालीमा नै अगुवा श्रमदाताहरूसँग रात बिताएका थिए भने सोमबार राति पनि पाइपमा एयर लिक गर्न आफैं खटिएका थिए।
पकुवामा पानी झरेको खबर पाएपछि उनी साढे १२ बजेतिर टोलीसहित आइपुगे। आउँदाआउँदै उनी भक्कानिए। पाइपबाट छङछङ झरिरहेको पानी छुँदै रुँदै गरिरहे। धेरैबेर धुरूधुरू रोएका उनी राम्ररी बोल्नै सकेनन्।
‘सबैलाई धेरैधेरै धन्यवाद’, उनले यत्ति भने।
उनकै साथमा रहेका उपमेयर बेघाले ‘धरानले आज इतिहास रचेको’ भन्दै सबैलाई धन्यवाद दिए।
धरानमा थपिएको पछिल्लो खानेपानीको स्रोत अन्यभन्दा भरपर्दो हुने मेयर साम्पाङको भनाइ छ। यसअघि धरानमा मेयर साम्पाङकै श्रमअभियानको बलमा पकुवाखोला, निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट पानी थपिएको छ। अहिले कोकाहाको पानी पनि थपिएपछि त्यसले ठूलो राहत हुने अपेक्षा यहाँ छ।
‘कोकाहाको पानी दैनिक कति लिटरसम्म आउँछ भन्ने कुरा अब यो पानीलाई ट्यांकीमा राखेपछि मात्रै थाहा हुन्छ’, धरान खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले भने, ‘अहिले पानी झारेका मात्रै छौं। अब यसलाई ट्यांकीमा पठाएपछि परिमाणबारे थाहा हुनेछ। धरानको खानेपानी आपूर्तिमा यसले ठूलो सहयोग पुग्ने निश्चित छ।’
खानेपानी प्रमुख पोखरेलले कोकाहाको पानी दैनिक १२ लाख ९६ हजार लिटरसम्म ल्याउने लक्ष्य रहेको बताए।
‘कोकाहा बाह्रैमास पानी बग्ने खोला हो’, उनले भने, ‘त्यसैले प्रति सेकेण्ड १५ लिटर पानी आउने हाम्रो प्रारम्भिक अनुमान छ।’
उनले भनेको दरमा पानी आपूर्ति भयो भने कोकाहाबाट एक मिनेटमा नौ सय लिटर, १ घण्टामा ५ लाख ४० हजार लिटर र २४ घन्टामा १२ लाख ९६ हजार लिटर पानी धरान आइपुग्नेछ।
१ लाख ६६ हजार जनसंख्या भएको धरानमा दैनिक सरदर ३ करोड लिटर खानेपानी आवश्यक पर्छ। धरानमा नियमित आपूर्ति हुँदै आएको खानेपानीको परिमाण दैनिक डेढ करोड लिटर मात्रै छ। त्यसमा मेयर साम्पाङको अगुवाईमा थपिएको अन्य स्रोतहरूबाट दैनिक ५० लाख लिटर पानी थपिएको थियो।
वर्ष दिनमा खोलाबाट थपेको पानी ५० लाख लिटर र कोकाहाबाट थपिने करिब १३ लाख लिटर गरी ६३ लाख लिटर पानी श्रम अभियानबाटै थपिने अवस्थामा आइपुगेको छ। खानेपानी प्रमुख पोखरेलले कोकाहाको मुहानमा थप काम जारी रहेको र केही दिनमै अपेक्षा अनुसारको पानी धरान आइपुग्ने जानकारी दिए।
यसरी धरानको खानेपानीमा छोटो समयमै देखिने परिवर्तन ल्याएका मेयर साम्पाङले पछिल्लो केही दिनयता सामाजिक सन्जाल फेसबुकमा ‘सिंगो धर्ती नै सुकेपछि कसको के लाग्छ र’ भन्दै नआत्तिन धरानबासीलाई आग्रह गर्दै आएका थिए।
निरन्तरको खडेरीले खानेपानीका स्रोतहरू सुकेपछि महिना दिनयता धरानमा खानेपानी अभाव फेरि चुलिएको छ। विपी प्रतिष्ठानका विद्यार्थीहरू त रित्तो भाँडा बोकेर आन्दोलनमै उत्रिए। निरन्तरको खडेरीले पानीका स्रोतहरू सुकेपछि चुलिएको अभाव मनसुन सुरू भएपछि नहुने अपेक्षा खानेपानी बोर्ड र मेयर साम्पाङको छ।
‘श्रमदानबाट थपिएको पानीकै कारण यसपटक फागुन चैतमा ट्यांकर कुदाउनु परेको थिएन’, मेयर साम्पाङले भने, ‘तर, यसपटक उच्च खडेरीले धर्ती सुख्खा भएपछि कसको के लाग्छ, अभाव भयो। हामी थाकेका छैनौं। स्रोत थप्न निरन्तर लागिरहेका छौं।’
साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको अर्को साता अर्थात् जेठ दोस्रो सातादेखि सहरमा खानेपानीको स्रोत थप्ने अभियान सुरू भएको थियो। उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरबासीलाई आह्वान गरेका थिए। कामको सुरूआत आफैंले गरे। दिनभरि ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर खटिएपछि उनलाई सघाउनेको ओइरो लाग्यो।
यसरी करिब महिना दिनको श्रमदान र सहयोगी दाताको आर्थिक सहयोगले पकुवाको पानी धरानसम्म आइपुग्यो। पकुवाको पानी धरानसम्म आइपुग्दा श्रमदानमा खटिने टोलीले ठूलो युद्ध जिते बराबरको खुसीयाली मनाएको थियो। पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को योजनामा खटिन थाल्यो। त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो।
सुख्खायाममा कमिला कुद्ने यी खोलाबाट ल्याउने पानी भरपर्दो र अडिलो नहुने आवाज त्यसबेला पनि नउठेको होइन, जसरी अहिले पनि उठिरहेको छ। तर, यिनै खोलाहरूबाट थपिएको खानेपानीको स्रोतकै कारण धरानमा हिउँदमा अरुबेला जस्तो खानेपानी अभाव उच्च भएन।
अहिले थपिएको कोकाहाको पानी भरपर्दो हुने विश्वास यहाँ छ। धरानको वडा नं २० स्थित हात्तिसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुँदै धरान ल्याइएको छ। यो अभियानको लागि देशविदेशबाट ४ करोडभन्दा बढी रुपैयाँ बराबरको आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग प्राप्त भएको मेयर साम्पाङको सचिवालयले जनाएको छ। अबको केही दिनमा विस्तृत हिसाब सार्वजनिक हुने सचिवालयको भनाइ छ। यसअघि पनि कोकाहा अभियानको हिसाब सार्वजनिक भएको थियो।
मेयर साम्पाङका आलोचकहरू, राजनीतिक दल, दलका नेताहरूले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।
सुरूमा खोलाबाट धरानसम्म ल्याइएको पानी सोझै खानेपानीका धाराबाट वितरण हुने गरेको थियो। खोलाको पानी प्रशोधन नगरी घरघरै पठाउँदा त्यसको गुणस्तरबारे चर्को आवाज उठेको थियो। त्यसपछि भने प्रशोधन गरेर मात्रै धारामा पठाउन थालिएको छ।
खोलाबाट ल्याइएको पानी पूर्णरूपले प्रशोधन गरेर मात्रै घरघरै पठाइने खानेपानी बोर्ड प्रमुख पोखरेल बताउँछन्। अहिले पकुवाको वास आउटमा झरेको पानीलाई स्यान्डपिटमा पठाइने र त्यसपछि फिल्टर गरेर ट्यांकीमा पठाइने बोर्डको भनाइ छ।
‘अहिले सुरूमा खोलाबाट पानी हामीले बनाएको स्यान्डपिटमा जान्छ। त्यहाँ बालुवा, गिटी ढुंगाहरू राखेर फिल्टर हुने व्यवस्था गरिएको छ,’ पोखरेलले भने, ‘फिल्टर भएको पानी त्यसपछि रिजर्भ ट्यांकमा जान्छ। त्यो रिजर्भ ट्यांकबाट मात्रै धारामा पानी पठाइनेछ।’
खानेपानीको गुणस्तरमा कुनै कमजोरी नहुने बताउने पोखरेलले बेला–बेला यलमहरू हाल्ने गरिएको सुनाए। खानेपानीको गुणस्तर कायम गर्न गोर्खा वेलफेयर ट्रष्टले सघाएको उनको भनाइ छ।