संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो वार्षिकोत्सवको अवसरमा सार्वजनिक गर्ने भन्दै नयाँ दस्तावेज अघि सारेपछि त्यसले दलभित्र बहस सुरू गरेको छ।
पार्टीका नीति तथा विचार विभाग प्रमुख तथा महामन्त्री मुकुल ढकाल नेतृत्वको समितिले ‘नयाँ युगको संकल्प’ भन्दै नयाँ दस्तावेजको मस्यौदा अघि सारेको थियो। दस्तावेज लेखन समितिमा केन्द्रीय सदस्य रमेश प्रसाईं र कमल सुवेदी छन्।
त्यसलाई धेरै सदस्यले 'काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर' भन्ने उखान सुहाउँदो भएको टिप्पणी गरेको एक नेताले बताए।
'पार्टीका नीति तथा विचार विभाग प्रमुखका हिसाबले राजनीतिक कार्यदिशा, कार्ययोजना र मार्गदर्शक तय गर्नु अनौठो कुरा होइन। तर दस्तावेज ल्याउने बेला यो हो कि होइन भनेर व्यापक छलफल भएको छ,' एक केन्द्रीय सदस्यले भने, 'केही वैचारिक अस्पष्टता छन् भने त्यसलाई प्रष्ट्याउनु राम्रै हो। तर विचारै यही हो भनेर ल्याउनु ठीक भएन भन्ने नै धेरैको धारणा छ।'
पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पनि अहिले विचार ल्याउने उपयुक्त बेला नभएको र सेवा प्रवाहमै ध्यान दिनुपर्ने बताए।
‘पार्टीका नीति तथा विचार विभागका प्रमुखले नयाँ दस्तावेज ल्याउनु राम्रै कुरा हो। तर, त्यो दस्तावेजचाहिँ पार्टीमा भएका कुराको व्याख्या गर्ने, आममानिसहरूलाई पार्टीको नीति र कार्यदिशा बुझाउने हुनुपर्नेमा नयाँ विचार दिने ढंगबाट आयो,’ उनी भन्छन्।
पार्टी स्थापना दिवसका सन्दर्भमा भन्दा पनि महाधिवेशनमा विचारबारे बहस चलाउनु उपयुक्त हुने मान्यतामा आफू रहेको उनले बताए।
राजनीतिक दस्तावेजमाथि केन्द्रीय सदस्य र सांसदहरूका बीचमा छलफल चलाइएको थियो। त्यहाँ केही सदस्यले महामन्त्री ढकालले एमालेका दिवंगत 'नयाँ विचार' दिएर महासचिव मदन भण्डारी बन्न खोजेको भन्दै कतिपयले कटाक्ष गरेको एक नेताले बताए।
'इतिहासप्रति उहाँको बुझाइ सतही देखिन्छ। उहाँको दस्तावेजमा हाम्रो इतिहास गर्विलो छ भन्ने उल्लेख छ। कसरी के आधारमा गर्विलो छ भनेर व्याख्या-विवेचना गरिएको छैन। दस्तावेजमा कतै पनि नागरिक, नागरिकले गरेका संघर्ष भेटिँदैन। प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै गणतन्त्र प्राप्तिसम्म भएका संघर्ष आँखा चिम्लिएर कसरी दस्तावेज पूर्ण हुन सक्छ,' सदस्यहरूले राखेका धारणा उद्धृत गर्दै एक नेताले भने, 'यस्ता कुरा राखेर पार्टीमा नयाँ विचार दिएँ भनेर आत्मरति त गर्न सकिएला तर अहिले मदन भण्डारी बन्ने बेला होइन, सेवा प्रवाह चुस्त र व्यवस्थित बनाउने र यतापट्टि ध्यान दिने समय हो।'
समाजको अवस्थाको व्याख्या-विवेचना वस्तुनिष्ठ नभएको कतिपय सदस्यको बुझाइ रहेको अर्का नेताले बताए।
'दस्तावेज त लेखियो तर समाजको नाडी नछामिकन। यो त बिरामीको अनुहार हेरेर औषधि दिएजस्तो भयो! समाजमा रहेका समस्याको चुरोमा पुग्नुपर्यो नि! हाम्रो समाज कहाँ छ, पुँजीवादी हो कि, सामन्तवादी हो कि, यसबारे दस्तावेज बोलेको छैन। यही भएर सबैले विमति राखेका छन्,' उनले भने।
महामन्त्री ढकालले छलफलका लागि प्रस्ताव गरेको दस्तावेजमा शासकीय स्वरूप परिवर्तनको कुरा छ। संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीको सट्टा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विचार अघि सारिएको छ।
पार्टीका कतिपय सांसदहरूले यसमा चाहिँ धेरैको विमति नरहेको बताए। पार्टीको घोषणापत्रमै उल्लेख गरेको कुरा दस्तावेजमा व्याख्या गर्न खोजिएको उनीहरूले तर्क गरे।
'जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने नै पार्टीको सुरूदेखिको विचार हो। अहिलेको दस्तावेज त्यसैगरी आएको छ,' एक सांसदले भने।
प्रदेशको हकमा केही फेरबदल गर्न खोजिएको तर त्यसको व्याख्या नभएको उनले बताए।
'पार्टीको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने, मुख्यमन्त्रीले फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने कुरा थियो,' उनले भने, 'अहिले गभर्नरको अवधारणा ल्याइएको छ, यो किन अघि सारियो? यसको जवाफ दस्तावेजले दिएको छैन।'
त्यस्तै 'जान्नेलाई छान्ने' भनेर दस्तावेजमा व्याख्या गरिएको तर जान्नेको परिभाषा र के र कसरी छान्ने भन्ने विधि स्पष्ट नभएको भन्दै प्रश्न उठेको ती सांसदले बताए।
परिवारवादलाई पूर्णतः निषेध गर्ने भनेर सबै प्रष्ट हुँदाहुँदै दस्तावेजले संशोधन गर्न खोजेको केही नेताको बुझाइ छ।
‘परिवारवादलाई ठाउँ दिनु हुँदैन भन्नेमा सबै प्रष्ट देखिन्छन् तर दस्तावेजमा निर्वाचित भएर आएमा बाधा पर्ने छैन भनेर खुकुलो बनाउन खोजिएको छ। यो त्रुटिपूर्ण छ,' एक केन्द्रीय सदस्यले भनेर
नयाँ दस्तावेज 'नयाँ युगको नयाँ संकल्प' असार ७ गते सार्वजनिक गर्ने तयारी नीति तथा विचार विभागको छ।
पार्टी सभापति रवि लामिछानेनिकट एक नेताले भने अहिलेको दस्तावेजमा आएका कैयन कुरा अपरिपक्व भएको र नमिलेकाले असार ७ गतेभित्र त्यसलाई अन्तिम रूप दिन सम्भव नरहेको निष्कर्षमा पार्टी नेतृत्व पुगेको बताए।
'दस्तावेजमा अहिले साथीहरूले लेखेका कैयन कुराहरू परिपक्व ढंगबाट आएका छैनन्। हामी मूलतः अहिले व्यवस्थालाई नै बलियो बनाएर परिणाम निकाल्न काम गर्नुपर्छ भन्ने पक्षमा छौं,' उनले भने, 'त्यसका लागि वृहत् छलफल र केही समय चाहिने हुँदा असार ७ मा यो दस्तावेज सार्वजनिक हुँदैन।'
अर्का नेताले पनि अहिले दस्तावेजमा व्यापक पुनर्लेखन हुने संकेत गरे।
'केहीले नेताहरूले संशोधन र अधिकांशले पुनर्लेखनको माग गर्नुभएको छ। सबैका सुझाव समेटेर समृद्ध दस्तावेज आउँछ। त्यसका लागि समय लाग्छ,' उनले भने।
यो पनि पढ्नुहोस्- रास्वपा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिने
हेर्नुहोस् रास्वपाको प्रस्तावित ६८ पृष्ठको दस्तावेज