नेकपा (एमाले) ले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ।
एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले दसौँ महाधिवेशनको विधान सम्मेलनले पारित गरेको कार्यकारिणी कमिटीमा लाग्ने उमेर हद हटाउने निर्णय गरेको हो।
एमालेको विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ।
त्यसलाई हटाउने र पारित गर्न विधान महाधिवेशनमा प्रस्ताव लैजाने निर्णय भएको एक पदाधिकारीले बताए।
‘एमालेमा अब कुनै पनि तहको कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हद छैन,’ ती सदस्यले भने, ‘सचिवालय बैठकले हटाउने र पारित गर्न विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ।’
एमालेको मौजुदा विधानमा संशोधनको तीनवटा अवस्था छ।
पहिलो, केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशनसमक्ष प्रस्तुत गर्नुपर्नेछ।
दोस्रो, केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरू हुनुभन्दा एक महिनाअगाडि नै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनुपर्नेछ ।
तेस्रो, विधानमा संशोधन पेश गर्न चाहने प्रदेश वा स्थानीय कमिटी वा सदस्यले लिखित सुझाव तोकिएबमोजिम केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्नुपर्नेछ। यस्तो सुझावका सम्बन्धमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्नेछ।
त्यही भएर यो प्रस्ताव विधान सम्मेलनमा लैजाने तयारी गर्न लागिएको एमालेले बताएको छ।
देखाउने मुकुन्द न्यौपाने, सजिलो केपी ओलीलाई
एमालेले २०७८ असोजमा सम्पन्न विधान महाधिवेशनबाट ११ औं महाधिवेशनबाट लागु हुनेगरी ७० वर्षे उमेर हद लगाएको थियो।
तर, अहिले पार्टीमा मुकुन्द न्यौपाने भित्र्याउनका लागि विधान संशोधन गर्नुपरेको ती पदाधिकारीले बताए।
गत चैत २६ गते नेकपा (एकीकृत समाजवादी) परित्याग गरी एमाले फर्किएका पार्टी संस्थापकमध्ये एक मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिन विधान बाधक थियो। ७० वर्ष उमेर पार गरेकाले उनलाई केन्द्रीय कमिटीमा ल्याउन विधान संशोधन गर्नुपरेको एमालेका नेताहरूको तर्क छ।
यो पनि:
एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य (सूचीसहित)
‘विधानमा ७० वर्षे उमेर हद राख्दा मुकुन्दजीलाई जिम्मेवारी दिन कठिन भएकाले प्रावधान हटाइएको हो,’ ती नेताले भने।
तर, यसले सजिलो पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भएको छ। २०१० सालमा जन्मेका पोखरेल आउँदो फागुनमा ७० वर्ष पूरा हुनेछन्।
यही विधान कार्यान्वयन रहेको अवस्थामा एमालेको ८ औं र ९ औं महाधिवेशनबाट महासचिव निर्वाचित भएका पोखरेल पाखा लाग्नुपर्ने अवस्था थियो।
त्यस्तै २००८ सालमा जन्मेका अध्यक्ष ओली पनि ७२ वर्ष लागिसकेका छन्।
पछिल्लो सचिवालय निर्णयले दुवै नेतालाई सजिलो भएको एमालेका पदाधिकारीहरू बताउँछन्।