चार दिवसीय भारत भ्रमणलाई बिट मार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शनिबार साँझ सवा छ बजे स्वदेश फर्किए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको केही बेरमै हँसमुख मुद्रामा विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ प्रस्तुत भएका प्रचण्ड उत्साहित देखिन्थे।
त्यसो त, भारत भ्रमणमा निस्किनुपूर्व उनले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग नेपालका तर्फबाट उठाउने विषय राखेका थिए।
छलफलमा प्रधानमन्त्री निकै उत्साहित देखिएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'हामी के-के न भइहाल्छ भनेर सोच्छौं, उत्पातै केही हुँदैन' भनेका थिए।
कूटनीतिज्ञ र विश्लेषकहरूको बुझाइमा पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विगतको भन्दा फरक नहुने थियो।
तर प्रधानमन्त्री प्रचण्डले यी सबै अनुमानविपरीत नेपाल-भारत सम्बन्धमा आयाम थप्ने गरी समझदारी भएको बताए। विगतका तिक्तता पन्छाउन भ्रमण धेरै हदसम्म सफल भएको दाबी पनि गरे।
'दुई देशबीच विश्वासको संकट थियो। यसपटकको भ्रमणले नेतृत्व तहमा विश्वासको नयाँ आधार तय गरेको छ,' उनले भने, 'चाहे त्यो रेलसँग सम्बन्धित कुरा होस्, चाहे अनुदानमा पुलहरू बनाउने कुरा, सुख्खा बन्दरगाहकै कुरा किन नहोस्, टेक्निकल इन्स्टिच्युट बनाउने कुरा पनि भएका छन्। नेपाल-भारत सम्बन्धमा सन् २०१९ देखि अप्ठ्यारो आएको थियो। मेरो भ्रमण विगतको भन्दा फरक, विश्वासको वातावरण बनाउन मात्र होइन, परिणाममुखी नै भयो।'
उनले अहिले 'ट्रान्जिट ट्रिटी' सम्पन्न हुनुलाई सानो नठान्न आग्रह गरे। २५ वर्षका लागि सहज ढंगले व्यापार गर्ने समझदारी हुनु प्रधानमन्त्री प्रचण्डको दृष्टिमा असाधारण उपलब्धि हो।
'भन्सारमा सहजीकरण गर्न मेरो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच धेरै नै गम्भीर ढंगले कुराकानी भएको छ। खुला मनले कुरा भएको छ,' उनले भने।
लिपुलेक—लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा
प्रधानमन्त्री प्रचण्डले लिपुलेक—लिम्पियाधुराको समस्या समाधानको विभिन्न विकल्पमा कुरा भएको बताए।
उनले लिम्पियाधुरासहितको भूभाग दिएर बंगलादेश जाने बाटो माग्ने विकल्पमा कुरा भए पनि निचोड भने ननिस्किएको बताए।
'यो कुरा पक्कै पनि भयो। विभिन्न विकल्पहरूबारे किन नसोच्ने भन्ने कुरा भएको छ। त्यहाँ प्रधानमन्त्री मोदीजीसँग मात्र होइन, हामी समूह नै बसेको बेलामा पनि बंगलादेश मोडलको कुरा भएको हो। भारत-बंगलादेशको सीमा समस्या समाधान गर्न उनीहरूले जुन सफलता प्राप्त गरे, यो अनुभव हाम्रा लागि पनि हुन सक्छ भन्ने एउटा चर्चा भएको हो,' उनले भने।
नेपालका विज्ञहरूले पनि यस्तो सुझाव दिएकाले यो विकल्प छलफलमा आएको उनको भनाइ थियो।
'कुनै निष्कर्ष होइन, त्यो पनि एउटा विकल्प हो भन्ने कुरा भयो। हामीलाई त्यही भूभाग बराबर दिने हो भने त सजिलै हल हुन्छ भन्ने विज्ञहरूको भनाइ छ। त्यो भूमि सर्लक्क फिर्ता गरिदिए सबैभन्दा राम्रो हुन्छ अथवा रणनीतिक हिसाबले केही संवेदनशील हो भने अरू विकल्पमा पनि छलफल हुन सक्छन् भनिएको हो। मैले बुझेसम्म, यही कारण मोदीजी अलि उत्साहित भएर सिमानाको समस्या हल गरिदिऊँ भनेर मैलेभन्दा पहिल्यै बोल्नुभएको हो। यसलाई सकारात्मक रूपमै लिनुपर्छ,' प्रधानमन्त्री प्रचण्डले भने।
यसपटक सीमाको विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर कुरा गरेको उनले बताए। समाधान नभए सम्बन्ध सहज बनाउन सकिँदैन भनेर प्रष्ट कुरा राखेको पनि उनको भनाइ छ।
'सीमासम्बन्धी मैले खुलेर कुरा राखेँ। मोदीजीसँग कुरा गर्दा मैले समाधानको उपाय खोज्नैपर्छ, नत्र नेपाल-भारत सम्बन्धलाई सहज बनाउन सकिँदैन भनेँ। उहाँले पनि समाधान खोजौं, हामी तयार छौं भन्ने सकारात्मक जवाफ दिनुभयो। पत्रकार सम्मेलनमा पनि सीमालगायत थाँती रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त भयो। त्यो आफैंमा ठूलो कुरा हो। हामी खाली नकारात्मक र आलोचनात्मक मात्रै त होइनौं नि, समस्याको समाधान खोजेका छौं।'
इपिजी प्रतिवेदनको विषय चर्काएर समझदारीको वातावरण बिथोल्न चाहिनँ
प्रधानमन्त्री प्रचण्डले प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन देखाएर बन्न लागेको विश्वासको वातावरण खल्बल्याउन नचाहेको पनि बताए।
यसबारे जुन तौरतरिकाले कुरा राख्नुपर्थ्यो, त्यसमा आफू नचुकेको उनको भनाइ छ।
'पहल भइराखेको र सकारात्मक परिणाम आउन लागेका बेलामा वातावरण बिगारेर, धेरै नकारात्मक कुरा गरेर नेपाललाई धेरै फाइदा छैन,' उनले भने, 'हो इपिजीबारे हामी सबैको चासो छ। मैले आफ्नो ढंगले कुरा नगरेको पनि होइन। तर यो विषयलाई बढी उचालेर बन्दै गरेको आर्थिक तथा द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न उचित थिएन। हामीले जुन तरिकाले कुरा गर्नुपर्ने थियो, गरिएको छ।'
उनले भारतलाई विश्वासमा लिँदै जाँदा इपिजी प्रतिवेदन बुझ्ने ठाउँमा पुर्याउन सकिने विश्वास पनि व्यक्त गरे।
'मलाई लाग्छ, यी सबै गर्दै गएपछि इपिजी प्रतिवेदन लिने काम पनि हुन्छ। जुन विश्वासको वातावरणबीच प्रधानमन्त्री मोदीसँग कुराकानी भएको छ, त्यही वातावरणअनुसारै सबै कुरा मिल्दै जान्छ,' उनले भने।
चीन भ्रमण तय भएको छैन
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण निकै नै फलदायी भएकाले यसमा चीन जोड्न उचित नरहेको बताए।
'भारत र चीनलाई धेरै नजोडौं भन्छु म। भारत भ्रमण सफलतापूर्वक सम्पन्न भयो। चीनको प्रसंग अलग्गै हुन्छ। चीन भ्रमणको मिति टुंगो लागेको पनि छैन,' उनले भने।
चीनले बोआओ फोरममा बोलाएर फेरि उतैबाट रद्ध भएको पनि उनले बताए।
अखण्ड भारतको नक्सा सांस्कृतिक हो भन्ने जवाफ आयो
प्रधानमन्त्री प्रचण्डले भारतले नवनिर्मित संसद भवनको भित्तामा नेपालका भूभागसमेत राखेर नक्सा राखेकोबारे पनि सोधेको बताए। तर भारतले त्यसलाई सांस्कृतिक भनेर टारेको पनि उनले जानकारी दिए।
'नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेको छु। यति बुझ्नुहोला,' उनले भने, 'यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने उहाँहरूको भनाइ छ। यही विषयमा धेरै ठूलो बहस गरेर अर्थ थिएन।'
कम्युनिस्ट मात्रै होइन, प्रधानमन्त्री हुँ
भारत मध्यप्रदेशको उज्जैनको महाकालेश्वरमा गेरू वस्त्र लगाएर दर्शन गरेकामा पनि उनले प्रष्टीकरण दिए।
सांस्कृतिक कूटनीतिअन्तर्गत मन्दिर दर्शन गरिएको र रूद्राक्ष चढाएको उनले बताए।
'म मुस्लिम समुदायको कार्यक्रममा गएर मुस्लिमजस्तै बनेको छु। क्रिश्चियनको गिर्जाघरमा गएर प्रार्थना गरेको छु। बुद्धिष्टहरूको कार्यक्रममा त्यस्तै कपडा लगाएर सहभागी भएको छु। अरूकोमा जान हुने, हिन्दुकोमा चाहिँ जान नहुने हुन्छ र,' उनले भने, 'म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो। धर्मनिरपेक्षवादी हुनु भनेको धर्मविरोधी हुनु त होइन नि!'
नेपालले रामायण, बुद्धिस्ट सर्किट बनाउने, पूर्वको पाथिभरादेखि बडीमालिकासम्म धार्मिक पदमार्ग बनाउने कुरा गरिरहँदा यस्तो कुरामा संकीर्ण हुन नहुने प्रधानमन्त्रीको तर्क थियो।
'म त अहिले कम्युनिस्ट मात्रै होइन नि, प्रधानमन्त्री हुँ। प्रधानमन्त्रीले त सबैलाई समेटेर लैजानुपर्छ,' उनले भने, 'मसँग हुने सुरक्षाले त सकेसम्म गेरू वस्त्र नलाउन पाए हुन्थ्यो भनेर जोड गरेकै हो। तर मुख्य अतिथिले लगाउनै पर्ने रहेछ। नलगाउँदा त्यहाँ हिन्दुहरूलाई चोट पुग्न सक्थ्यो। त्यो राम्रो कुरा हुन्थ्यो त?'
प्रधानमन्त्री प्रचण्डले हवाई रूटमा पनि आंशिक सफलता मिलेको बताए। अहिले नेपालगञ्जबाट 'लो अल्टिच्युड' को उडान अनुमति दिने र निकट भविष्यमै नेपालगञ्ज या महेन्द्रनगरबाट तयारी गर्ने विषयमा भारत सकारात्मक रहेको उनले बताए।
'नेपाल-भारत संयुक्त लगानीमा मल कारखाना खोल्ने सैद्धान्तिक सहमति तथा व्यापारको निम्ति बजारको सुनिश्चितता गर्ने समझदारी हुनु आफैंमा धेरै महत्त्वपूर्ण कुरा हो,' प्रधानमन्त्री प्रचण्डले भने।
उनले भारत भ्रमण फलदायी भएकाले सबै मिलेर सहमति-समझदारीलाई कार्यान्वयनमा पुर्याउनुपर्ने पनि बताए।