नेपाली कांग्रेसले आउँदो भदौमा नीति महाधिवेशन गर्ने तयारी गरेको छ।
१४ औं महाधिवेशनका बेला कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।
यसअघिका महाधिवेशनमा कांग्रेसले नीति र नेतृत्वबारे सँगसँगै छलफल गर्दै आएको थियो।
महाधिवेशनमा नेतृत्व चयनको विषय प्राथमिकतामा पर्ने र नीति गौण हुने गरेको गुनासा आएपछि कांग्रेसले नीति महाधिवेशन बेग्लै गर्ने निर्णय गरेको थियो।
२०७८ कात्तिक अन्तिम साता बसेको केन्द्रीय समिति बैठकबाट नेतृत्व र नीति महाधिवेशन बेग्लाबेग्लै समयमा गर्ने निर्णय भए पनि अहिलेसम्म नीति महाधिवेशनको मिति तय भइसकेको छैन।
महाधिवेशनबाट सभापतिमा देउवा दोस्रो कार्यकालका लागि चुनिएको डेढ वर्ष भइसकेको छ। महाधिवेशनका बेला ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएको थियो, तर लामो समयसम्म त्यसको सुरसारसमेत गरिएन।
कांग्रेसले नीति महाधिवेशनमा छलफल गर्ने भनेर सांगठानिक, राजनीतिक विषबस्तुका प्रतिवेदन र नीति तथा कार्यक्रमका प्रतिवेदन नेतृत्व महाधिवेशनमा छलफलमै ल्याएको थिएन।
पार्टीले लिने नीति, योजना र कार्यक्रमबारे बहस आवश्यक परेकोले अब छिट्टै नीति महाधिवेशन गरिने नेताहरू बताउँछन्।
नीति महाधिवेशन गर्न आवश्यक पर्ने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भने सभापति देउवाले चयन गरिसकेका छन्।
पार्टी उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्यलाई गत वैशाख १८ मा मनोनीत गरिएको थियो। यो प्रतिष्ठानले पार्टीले लिने नीतिबारे बहस गर्न सक्छ।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट नीति महाधिवेशन मिति तोक्ने तयारीसमेत गरेको छ। महामन्त्री गगन थापाका अनुसार जेठ मसान्तभित्र केन्द्रीय समिति बैठक बस्छ। ‘भदौमा नीति महाधिवेशन गर्ने तयारी छ,’ उनले भने।
यसअघि पार्टीभित्र नीति महाधिवेशन गरेको परम्परा नभएकोले कसरी प्रक्रिया अघि बढाउने भन्ने विषयमा पनि केन्द्रीय समितिले छलफल गरी निर्णय लिनुपर्ने हुन्छ।
महाधिवेशन प्रतिनिधि र उनीहरूमध्येबाट चयन भएका महासमिति सदस्य मात्रै कांग्रेसभित्र प्रतिनिधिका रूपमा आएका छन्।
कांग्रेसमा विधान संशोधन वा कुनै नीतिबारे छलफल गरी निर्णय लिनुपरे महासमिति बैठक बस्ने परम्परा छ। महाधिवेशन भएको वर्षबाहेक हरेक वर्ष कम्तीमा एक पटक महासमिति बैठक राख्नुपर्ने विधानमा उल्लेख छ।
कतिपय नेताहरूले महासमिति बैठकलाई नै नीति महाधिवेशनमा रूपान्तरण गरिनुपर्ने बताइरहेका छन्।
पहिलो पटक गर्न लागिएको नीति महाधिवेशनमा महाधिवेशन प्रतिनिधि कि महासमिति सदस्यलाई प्रतिनिधिका रूपमा बोलाउने कांग्रेसले निर्णय गरिसकेको छैन।
१४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए भने यसको करिब आधा महासमिति सदस्य थिए।
नीति महाधिवेशनअघि कांग्रेसले भ्रातृ तथा विभागलाई पूर्णता दिने तथा संगठन संरचनालाई सक्रिय बनाउने तयारीसमेत गरेको छ।
वडादेखि निर्वाचन क्षेत्रीय भेलाहरू भइरहेका छन्। अब असारमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रूपमा गाउँ-गाउँमा खटाएर नेता/कार्यकर्ता र जनताका गुनासा सुन्न पठाउने तयारीमा कांग्रेस जुटेको छ। त्यसपछि भने नीति महाधिवेशनको प्रक्रिया अघि बढ्ने छ।