प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन्।
आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सहभागी थिए। बैठकमा विभिन्न दलका शीर्ष नेतासँगै पूर्वपराराष्ट्र मन्त्रीहरूको पनि उपस्थिति थियो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफूले प्रबुद्ध व्यक्तिको समूह (इपिजी) को प्रतिवेदन बुझ्ने विषयमा, महाकालीको पानी आधा आधा गर्ने र नयाँ विद्युत परियोजना भारतलाई दिने विषयमा सचेत हुन सुझाव दिएको बताए।
‘हामी नेपाली प्रधानमन्त्रीको भ्रमणका बेला उत्पातै हुन्छ भन्ने सोच्छौं, त्यस्तो केही हुन्न,’ भट्टराईले भने,‘एक त यो परामर्श पनि सबै एजेन्डाहरू तय भइसकेपछि भएको छ।’
नेकपा (एमाले)का उपमहासचिव एंव पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भैरहवामा हवाई रूट दिने विषयमा छलफल गर्नुपर्ने सुझाव आफूले दिएको बताए।
‘बरू सम्झौता नभए केही बिग्रिँदैन तर नेपालको हितविपरीत हुने सम्झौता नगर्न भन्यौं,’ उनले भने,‘तपाईंले आफ्ना कुरा खुलस्त राखेर विश्वासको वातावरण बनाउनु होला भन्यौं।’
पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले सीमा विवाद समाधान गर्न आफूसँग भएका प्रमाण अध्ययन गरेर खुट्टा दह्रो पारेर कुरा गर्नुस् भनेर सुझाव दिएको बताए।
‘त्यसका लागि मैले केही प्रमाणहरू पनि प्रस्तुत गरेको थिएँ,’ उनले भने,‘ पानीका विषयमा केही समझदारी हुन लागेको छ भन्ने सुनेको छु। नेपालको पानी बगेर भारतमै जाने पनि त्यसमा हाम्रो स्वामित्व स्थापित हुनुपर्छ भन्ने हिसाबले कुरा राख्नुहोला।’
उनले भारतसँग विश्वासको सम्बन्ध आवश्यक रहेको भए पनि र त्यो अहिले घटिरहेको पनि बताएका थिए।
पूर्वपरराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासको साथ आफ्नो कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
‘पूरा तयारीका साथ जानुपर्छ। उर्जा, व्यापार, अरूण तेस्रो, फुकोट कर्णाली, तल्लो शारदाबारे गम्भीर गृहकार्य जानुस्,’ खड्काले भने,‘पहिला पनि तपाईंको भ्रमणमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने कुरामा छलफल गर्नुहोला भन्ने सुझाव दिएँ।’
पूर्वपरराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधदेखि बंगलादेशमा नेपाली बिजुली निर्यात गर्ने विषयमा खुलेर कुरा गर्ने सुझाव दिएको बताए।
‘जवाफमा प्रधानमन्त्रीले तपाईंहरूले भनेका कुराप्रति म सजग छु, नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर कुरा गर्छु भन्नुभयो,’ लोहनीले भने।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सबैले राष्ट्रिय हितलाई केन्द्रमा राखेको सुझाव र टिप्पणी राखेको बताए।
‘उहाँहरूले एकदम सकारात्मक रूप कुराहरू राख्नुभएको छ,’ उनले भने,‘यसपालि हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ।’