कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरू हुनै लाग्दा विराटनगरमा बिहानैदेखि प्रहरीको धरपकड सुरू भएको छ।
कोशी प्रदेशको बर्खे (बजेट) अधिवेशन आइतबार (आज)बाट सुरू हुँदैछ। प्रदेश सभा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ। तर, पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रशासनले धरपकड सुरू गरेको हो।
आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
प्रदेश सभालाई लक्षित गरेर प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा पनि जारी गरेको छ।
तर, आन्दोलनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्।
गत पुस १७ गते प्रदेश सभा बैठकले कोशी प्रदेश नामकरण गरेको थियो।
पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेश सभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो।