पशुपतिमा सुनको जलहरी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदको भनाइ सच्याउन सहमत भएपछि नेकपा (एमाले) प्रतिनिधि सभाको अवरोध हटाउन राजी भएको छ।
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि छलफलमा थिए।
छलफलमा पशुपतिमा पित्तलको जलहरी हालिएको भन्ने आफ्ना सांसदको भनाइ सच्याउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको एमाले प्रमुख सचेतक गिरीले सेतोपाटीलाई जानकारी दिए।
‘पशुपतिको शिवलिङ्गमा सुनको जलहरी हाल्दा त्यहाँ पित्तल प्रयोग भएको भन्ने सांसद लेखनाथ दाहालको अभिव्यक्तिमा कुनै सत्यता नरहेको, त्यसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको भन्ने कुरा तथ्यहीन हो भनेर प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बताउने सहमति भएको छ,’ गिरीले भने, ‘प्रधानमन्त्रीले यति भनेपछि सदन नियमित प्रक्रियामा अघि बढ्छ।’
गत जेठ १० गते नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसद दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा अनेक भ्रष्टाचार भएको बताएका थिए। ओम्नी, यति, वाइडबडी मात्र नभई स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब घोटाला भएको र पशुपतिमा राखिएको सुनको जलहरीसमेत पित्तल भएको बताएका थिए।
त्यही अभिव्यक्तिलाई लिएर एमाले उत्तेजित भएको हो।
शनिबार तीन नेताबीच सकारात्मक छलफल भएको र आफूहरू सदन खुलाउन पनि सकारात्मक नै भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
‘कुराकानी सकारात्मक भएको छ, भरे समस्या नहोला भन्ने लाग्छ,’ नेम्वाङले बताए।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि प्रतिनिधि सभाको अवरोध हटाउन तीन दल सहमत भएको बताए। ‘तीन दलबीचमा प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सौहार्दपूर्ण कुराकानी भएको छ। सदनको अवरोध हटाउन एमाले सकारात्मक छ,’ पाण्डेले भने ।
प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजे बस्नेछ । आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र पारित गर्ने कार्यसूची छ।