शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने कार्यसूची थियो।
तर, संसद् नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गरे। वेल घेर्न थाले।
विरोधको कारण थियो, पशुपतिमा लगाइएको सुनको जलहरी।
दुई वर्षअघि नै जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन भएको भन्दै महालेखाले प्रश्न उठाएको थियो।
त्यसैलाई टिपेर सिन्धुली २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको बताएका थिए।
‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।
एमालेले दाहालको भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ। उसले दूधको दूध, पानीको पानी छुट्टयाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा सांसद दाहाल भने आफ्नो भनाइप्रति अडिग छन्।
‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ।’
उनले यस विषयलाई संसदीय छानबिन समिति बनाएर निरूपण गरिनुपर्ने बताए।
‘केपी ओली मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदमा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’ उनले भने।
उनले नीति कार्यक्रममाथिको छलफललाई अन्यत्र मोड्न असंसदीय गतिविधि गरेको बताए।
‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमालेले आज जसरी उत्तेजित भएर संसदीय मूल्य-मर्यादा नाघिरहेको छ, यसले घाटा उनीहरूलाई नै हुने हो।’
प्रतिनिधि सभा बैठक अझै पनि सुरू हुन सकेको छैन।