आफ्ना सरकारका पालामा ल्याएको कार्यक्रम मौजुदा सरकारले निरन्तरता नदिएपछि नेकपा (एमाले) रूष्ट बनेको छ।
सरकारको नीति कार्यक्रम केबल कर्मकाण्डी भएको टिप्पणी गरेका एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक राखेर नीति कार्यक्रम बजेटका प्राथमिकता, सिद्धान्त र संविधानको भावनाभन्दा पनि बाहिर गएको निष्कर्ष निकाल्दै प्रतिवादको निर्देशन दिएका हुन्।
एमाले संसदीय दलको बैठक आज बसेको थियो।
नीति कार्यक्रमलाई पुराना कार्यक्रमहरूबाट तानतुन गरिएको र गन्तव्यहीन, ‘फाल्तु दस्तावेज’को संज्ञा दिँदै कडा शब्दमा विरोध गर्न भनेका हुन्।
‘सरकारले प्रस्तुत गरेको कार्यक्रम वाक्य, वाक्यमा त्रुटि छन्। तल्लो अनुच्छेद र माथिल्लो अनुच्छेदसँग संगति मिल्दैन। संविधानको भावनाको पनि प्रतिकूल छ। विकेन्द्रीकरणको सिद्धान्त, सरकारकै प्राथमिकतासँग कतै मेल खाँदैन, यसलाई कडा प्रतिवाद गरेर जानुपर्छ,’ दलका नेता ओलीले बैठकलाई दिएको निर्देशन उद्धृत गर्दै सांसद ठाकुर गैरले जानकारी दिए।
दलका नेता ओलीले सांसदहरूलाई संघीय संसद्मा शुक्रबार प्रस्तुत गरेको नीति कार्यक्रम वाक्यवाक्य केलाएर प्रतिवाद गर्न निर्देशन दिएको पनि उनले बताए।
युवराज खतिवडा र सुशील ज्ञवालीलाई पनि बोलाइएको थियो बैठकमा
दलका नेता ओलीले सम्बोधन गर्नुअघि पूर्वअर्थमन्त्री युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृतले सुशील ज्ञवालीले पनि सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गरेका थिए।
उनीहरूले पनि नीति कार्यक्रम अर्थतन्त्रको सिद्धान्त, प्राथमिकतासँग मेल नखाने बताएका थिए।
उनीहरूले संकटापन्न अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नेगरी कार्यक्रम ल्याइनुपर्नेमा एमाले सरकारको पालामा ल्याइएको कार्यक्रम काट्नमै बढ्ता ध्यान खर्च गरेको बताएको गैरेको भनाइ थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसिइओ ज्ञवालीले एमाले नेतृत्वको सरकारपछि विपद् व्यवस्थापनमा काम नै हुन नसकेको बताएको गैरेको कथन थियो।
‘हाम्रा पालामा जति घर बने बने, प्राधिकरणले आफ्नो काम सरकारलाई बुझाइसकेपछि एउटा पनि घर थपिएका छैनन्। विपद्पछि निम्तिएको समस्या ज्युँका त्युँ छ!,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै गैरेले भने।
एमालेले प्रधानमन्त्री कृषि कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी प्राविधिक विश्वविद्यालयजस्ता आफ्नो पालामा अघि बढाइएको कार्यक्रम मौजुदा सरकारले काटेकोमा क्षोभ प्रकट गरेको गैरेको भनाइ थियो।
उनले नीतिमा टेकेर भन्दा पनि नेताको अनुहार हेरेर कार्यक्रम तर्जुमा गरेकाले यसको प्रतिवाद गर्ने नै आजको बैठकको निष्कर्ष रहेको पनि बताए।
ओलीले भोलि सदनमा बोल्ने
नेकपा (एमाले)का अध्यक्ष ओलीले जेठ ४ गते सदनमा बोल्ने बताएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। पार्टीका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई पनि प्रहरी हिरासतमै छन्। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई धेरै तथ्य थाहा भएको र सदनलाई ४ गते जानकारी गराउने भनेर उनले वैशाख २८ गतेको केन्द्रीय कमिटीमा बताएका थिए।
अध्यक्ष ओलीले भोलि सदनमा बोल्ने जानकारी बैठकलाई गराएको पनि गैरेको भनाइ थियो।