नेपाली कांग्रेस कोशी प्रदेशका सांसदहरूले केन्द्रमा एउटा र प्रदेशमा अर्को सत्ता गठबन्धनको कल्पना पनि गर्न नसकिने बताउँदै ‘सबैलाई भाग पुर्याउने गरी अघि बढेको’ छलफल तत्काल रोक्न माग गरेका छन्।
आफ्नै पार्टी केन्द्रका प्रभावशाली नेताहरूले नै सबै दलले मुख्यमन्त्रीको पालो पाउने गरी ‘राष्ट्रिय सहमतिका आधारमा प्रदेश सरकार बनाउने’ छलफल अघि बढाएपछि कांग्रेस कोशी प्रदेशका सांसदहरूले यस्तो माग गरेका हुन्।
कोशी प्रदेशको प्रतिकूल गणितलाई आधार बनाउँदै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहितको टिमले यस्तो प्रस्ताव अघि सारेको कांग्रेस नेताहरूले नै बताएका छन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीसमेतको सहमतिमा यस्तो छलफल अघि बढाइएको बताउँदै कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीले भने, ‘नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालैपालो नेतृत्व गर्ने गरी प्रदेशमा ‘सहमतिका आधारमा सरकार’ को प्रस्ताव अघि आएको हो।’
यो पनि:
कोशी प्रदेश सरकारको गाँठो फुकाउनै सकस
कार्की र शर्मा निकटहरूले पनि यस्तो छलफल अघि बढेको बताए।
‘नयाँ सरकार बनाउन कठिन हुने अवस्था एकातिर छ। अर्कोतिर बजेट पारित नहुने अवस्था छ। त्यसैले प्रदेश सभाको पाँच वर्षे कार्यकाल जम्मा ६० महिनाको हुन्छ, त्यो ६० महिनामा हरेक दलले १५ महिना सरकारको नेतृत्व गर्ने गरी छलफल अघि बढाउने कुरा जानकारी हामीलाई आएको छ’, कांग्रेस कोशी प्रदेशका ती पदाधिकारीले भने, ‘यो प्रस्ताव आफैंमा गलत र संघीयता बद्नाम तुल्याउने ढंगको छ। माथिबाट यो लादियो भने यहाँ विद्रोह हुनेछ।’
वैशाख २८ मा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका महामन्त्री थापा र शर्मा अनि सहमहामन्त्री आङ्देम्बेले यसबारे प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतको भनाइ छ।
आइतबार मात्रै ललितपुरमा लामो ‘कफी गफ’ गरेका मुख्यमन्त्री कार्की र महामन्त्री शर्माबीच आलोपालोबारे कुरा भएको स्रोतको भनाइ छ। यद्यपि मुख्यमन्त्री कार्की, कांग्रेस महामन्त्री शर्मालगायतले भने यस्तो प्रस्तावबारे छलफल भएको कुरा अस्वीकार गर्दै आएका छन्।
कोशी प्रदेश कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले यस्तो हल्ला आफूले सुनेको जानकारी दिए।
‘यस्तो हल्ला मैले पनि सुनेको छु तर यो हाम्रो आधिकारिक प्रस्ताव होइन, हुनु पनि हुँदैन’, पार्टी सभापति शेरबहादुर देउवा निकटसमेत रहेका उपनेता कार्कीले सेतोपाटीसँग भने, ‘प्रदेश सभालाई प्रतिपक्षविहीन तुल्याउने कुरा असम्भव छ। फेरि केन्द्रमा एउटा र प्रदेशमा अर्को खाले गठबन्धन हुनु हुँदैन।’
कोशी प्रदेशमा अहिले एमाले नेता हिक्मत कार्की नेतृत्वमा माओवादी, राप्रपा र जसपासहितको सरकार छ।
माओवादी र जसपाले तत्काल सरकार छाड्नुपर्ने आवाज कांग्रेस र एकीकृत समाजवादीको छ। तर, अर्को सरकार बन्ने सम्भावना कमजोर भएको भन्दै माओवादी र जसपा सरकारमै बसिरहेका छन्।
उपनेता कार्कीले माओवादी र जसपाको यो शैली आश्चर्यलाग्दो रहेको टिप्पणी गरे।
केन्द्रीय गठबन्धन अनुसार नेकपा माओवादी र जनता समाजवादी पार्टीले तत्काल सरकार छाड्नुपर्ने र केन्द्रकै गठबन्धन अनुसार नयाँ सरकार बनाउन पहल थाल्नुपर्ने उनले बताए।
‘हाम्रो चुनावदेखिकै गठबन्धन अनुसार अघि बढ्न आवश्यक छ’, नेता कार्कीले थपे, ‘माओवादी र जसपाले सरकार छाडेर नयाँ सरकार बनाउन पहल थाल्नुपर्छ। हाम्रो गठबन्धनसँग बहुमत पुग्ने अवस्था हुँदा पनि उनीहरूले किन सरकार छाडेका छैनन् यो बुझिनसक्नुभयो।’
कांग्रेस संस्थापन पक्षका नेता कार्कीमात्रै होइन संस्थापनइतर शेखर कोइराला पक्षका सांसदहरूको भनाइ पनि उस्तै छ।
प्रदेशमा मिलीजुली सरकारबारे छलफल अघि बढेको भन्ने हल्लाबारे नेतृत्वले प्रष्ट पार्नुपर्ने बताउँदै कोइराला पक्षका नेता केदार कार्कीले ‘त्यस्तो छलफल अघि बढेको आफूले नपत्याउने’ बताए।
‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, हामी लोकतन्त्रकै लागि लडेर आएका हौं’, उनले भने, ‘यस्तो दलले बहुमतको सरकार र अल्पमतको जिम्मेवार प्रतिपक्षको मान्यतामा आफूलाई अडिग राख्छ। केन्द्र होस् अथवा प्रदेश जहाँ पनि कांग्रेस यो मान्यताबाट पछि हट्दैन। त्यसैले यदि आलोपालो र सहमतिका नाममा भाग पुर्याउने छलफल अघि बढाइएको हो भने त्यो तत्काल रोकिनुपर्छ। र, केन्द्रीय गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बन्नुपर्छ।’
उनले पनि केन्द्रको गठबन्धनको स्पिरिट अनुसार माओवादी र जसपाले तत्काल प्रदेश सरकार छाड्नुपर्ने उल्लेख गरे।
‘९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद चाहिने हो, हाम्रो गठबन्धनसँग ठ्याक्कै त्यति संख्या छ’, कांग्रेस प्रदेशको संसदीय दलमा उम्मेदवार बनेर दोस्रो भएका कार्कीले थपे, ‘यस्तो अवस्थामा माओवादी र जसपा सरकारमा किन बसिरहेका छन्? उनीहरूले तत्कालै सरकार छाडेर नयाँ पहल थाल्नुपर्छ।’
कांग्रेसकै अर्का सांसद समशेर राईले ‘प्रदेशमा आलोपालो नेतृत्व गर्ने बजार हल्ला’ बारे आफू केही नबोल्ने बरू जेठ ४ मा हुने संसदीय दलको बैठकले सबै कुरा तय गर्ने बताए।
‘बजार हल्लाबारे मलाई केही बोल्नु छैन’, इलामका सांसद राईले भने, ‘तर, कुरा यत्ति हो केन्द्रमा जुन गठबन्धन छ। प्रदेशमा पनि त्यही अनुसार सरकार बन्नुपर्छ। दायाँ/बायाँ केही हुँदैन।’
कांग्रेस संस्थापन पक्षकै एक सांसदले नेता कृष्णप्रसाद सिटौलानिकट सांसदहरू चाहिँ आलोपालोमा जाँदा कांग्रेसलाई फाइदा हुने पक्षमा रहेको आरोप लगाएका छन्।
‘संसदीय दलका नेता उद्धव थापासहितका सिटौला पक्षका माननीयहरू आलोपालोको पक्षमा उभिएको पाइएको छ, यो अनावश्यक लोभले न पार्टीलाई फाइदा गर्छ न यो व्यवस्थालाई’, ती सांसदले भने, ‘उनीहरूकै रिपोर्टिङका आधारमा मध्यावधिको भय देखाउँदै केन्द्रमा नेताहरू आलोपालोको पक्षमा उभिएको पाइएको छ।’
ती सांसदको आरोप पुष्टि हुने गरीको अभिव्यक्ति दलका नेता थापाले बारम्बार दिँदै आएका छन्।
केही समयअघि सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा सर्वदलीय सरकारको आह्वान गरेका थिए।
मुख्यमन्त्रीले त्यस्तो आह्वान गर्नासाथ दलका नेता थापाले ‘मुख्यमन्त्रीको आह्वान सकारात्मक’ भनेर स्वागत गरेका थिए। अहिले पनि के गर्ने भन्ने विषयमा केन्द्रको निर्देशन कुरिरहेको थापाले बताउँदै आएका छन्।
कोशी प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। कांग्रेससँग २९, माओवादीको सभामुखसहित १३, राप्रपासँग ६, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ जना सांसद छन्।