नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई प्रहरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेको छ।
म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको हो।
आइतबार राति पक्राउ परेका रायमाझी सरकारी वकिलको कार्यालयमा प्रफुल्ल मुद्रा देखिन्थे। उनले समर्थकलाई हात हल्लाउनुको साथै मुस्कुराएर अभिवादन गरे।
आइतबार राति बुढानीलकण्ठको पासिकोटमा आफन्तको घरमा आश्रय लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनका छोरा सन्दीपलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
अहिलेसम्म टोपबहादुर रायमाझीसहित १३ जना पक्राउ परेका छन्। उनीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन्।
रायमाझी र खाणको बयान हुन बाँकी छ। खाणको आज बयान गरिएको छ। उनलाई जिल्ला परिसर काठमाडौंमा फिर्ता लगेपनि बयान नसकिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
तस्बिरहरू: