नेकपा (एमाले)को केन्द्रीय कमिटीको जारी बैठकमा समूह छलफलमा भाग लिएका सदस्यहरूले पार्टीमा विचौलिया हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
मधेश प्रदेशको समूह छलफलमा यस्तो कुरा उठेको हो।
‘पार्टीमा नवधनाढ्यहरू भित्रिएका छन्। विभिन्न तवरले आर्थिक लाभ लिएका, स्रोतको दोहन गरेकाहरू पनि पार्टीमा भटाभट आएका छन्,’ समूह छलफलमा उठेको कुरा एक सदस्यले उद्धृत गरे, ‘पार्टीका अधिवेशनहरू नै तिनले गरिदिन थालेका छन्। तिनैले टिकट पाउँछन्, यसले गर्दा पार्टीमा निरन्तर लागेका, क्रियाशीलहरू पछि परेको अवस्था छ।’
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरूट’को समीक्षामाथि आफ्ना धारणा राख्ने क्रममा मधेश
प्रदेशका सदस्यले लेवी संस्कृतिलाई बलियो बनाउन जोड दिएको बताइन्छ।
‘पार्टीमा लेवी संस्कृतिलाई बलियो बनाउँदा अपनत्व पनि बढ्छ, विचौलियाको पैसामा पार्टी कमिटी चल्ने अवस्था पनि आउँदैन,’ एक सदस्यलाई उद्धृत गर्दै एक नेताले बताए।
गण्डकी प्रदेशमा स्कुल–स्कुलमा अनेरास्ववियुको संगठन बनाउने परिपाटी बन्द गर्नुपर्ने विषय उठेको छ।
कास्कीबाट प्रतिनिधित्व गर्ने सदस्यले भ्रातृ संगठन बलियो बनाउने नाममा स्कुलमा जान नहुने तर्क गरेका हुन्।
‘जनसंगठनको अवस्थाबारे धारणा राख्दै एक सदस्यले स्कुलमा कमिटी बनाउने कुरा पुनःविचार गर्नुपर्छ कि भन्ने कुरा उठाउनु भएको हो,’ एक सदस्यले भने, ‘अनेरास्ववियु राजनीतिक चेतनाको नर्सरी भएकाले स्कुलमा संगठन बनाउन छाड्न नहुने पनि धारणा आएको छ।’
यता कर्णाली प्रदेशका सदस्यले पनि पार्टी पंक्तिमा सामूहिकताको भावना मर्दै गएको, सुविधाभोगी चिन्तन हाबी भएको, सत्ताको लालसा बढेकोमा चिन्ता व्यक्त गरेका छन्।
‘आफूभन्दा माथिल्लो तहका नेतालाई सम्मान गर्ने चलन हटेको, नेतृत्वको निर्देशन मान्ने परिपाटी कमजोर बन्दै गएको, लाभ, हानी हेरेर संगठनमा जोडिने क्रम बढेको विषय पनि उठेको छ,’ एक नेता भन्छन्, ‘संगठनको जिम्मेवारी पूरा नगर्दा पार्टी कमजोर बनेकै विश्लेषण छ।’
५० प्रतिशतले पनि सदस्यता नवीकरण गरेनन्
दसौं महाधिवेशनका बेला एमालेको संगठित सदस्य संख्या ७ लाख ८९ हजार ६२० पुगेको बताइएको थियो। अहिले ५० प्रतिशत सदस्यले मात्रै सदस्यता नवीकरण गरेको प्रारम्भिक प्रतिवेदन आएको छ।
‘सबै एकीकृत गर्न त बाँकी छ। तर, सबै प्रदेशको रिपोर्ट हेर्दा ५० प्रतिशतको हाराहारीमा सदस्यता नवीकरण भएको अनुमान छ,’ पोलिट्ब्युरो सदस्य ठाकुर गैरे भन्छन्, ‘कतिपय सदस्यहरूको मृत्यु भएकाले पनि सदस्यता नवीकरण कम भएको हुनसक्छ। अर्को, पार्टी विभाजनपछि कतिपयले नवीकरण गरेका छैनन्।’
अहिले प्रत्येक पालिकाको जनसंख्याको दुई प्रतिशत एमालेको संगठित सदस्य रहेको जिकिर गर्दै, त्यसलाई तीन प्रतिशतमा पुर्याउने लक्ष्य पार्टीले लिएको उनले बताए।
प्रदेश र जिल्ला अधिवेशन अबको लक्ष्य
‘मिसन ग्रासरूट’ले कार्यकर्ता पंक्तिमा उत्साह ल्याए पनि संगठन कमजोर नै रहेको विश्लेषण सदस्यको छ। उपनिर्वाचन परिणामले पनि एमालेलाई धक्का दिएकाले अब पार्टीमा युवालाई समेट्नुपर्ने उनीहरूको धारणा छ।
‘अबको एमालेको कार्ययोजना भनेको मातहतका कमिटीको अधिवेशन हो। त्यसबाहेक हामीले जितेका पालिकाहरूको कामको समन्वय, संयोजन आदिमा पनि लाग्छौं,’ गैरेको भनाइ छ।
केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन तथा मिसन ग्रासरूटको समीक्षामाथि सदस्यहरूले सुझाव राखिरहेका छन्। त्यसपछि समूह नेताहरूले छलफलको निष्कर्ष पेश गर्नेछन्।
एमालेले शनिबार बिहान ८ बजे स्थायी कमिटीको बैठक बोलाएको छ। आज ८ समूहले राखेको सुझावको आधारमा स्थायी कमिटीले कार्ययोजना तय गर्नेछ।
शनिबारै केन्द्रीय कमिटीमा कार्ययोजना प्रस्तुत गर्ने, अध्यक्षको राजनीति प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिने छ।