प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज बिहान बालुवाटारमा कुराकानी भयो।
भेटवार्तामा नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेका प्रकरण र अघि बढेका अनुसन्धानको विषय पनि उठ्यो।
रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
यो प्रकरणमा प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर रविले जिज्ञासासमेत राखेका थिए।
‘प्रधानमन्त्री प्रचण्ड उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ। उहाँ निकै खुसी हुनुहुन्छ। प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्याउने हुटहुटी नै पाएँ,’ लामिछानेले भने।
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुंगोमा पुर्याउने बताएका थिए।
‘तपाईंहरूले भ्रष्टाचारका प्रश्न उठाउनुभयो, कुरा राख्नुभयो। मैले त फाइल नै खोलेँ, काम नै गर्न सुरू गरेँ,’ प्रधानमन्त्री दाहालले रास्वपा सभापति रविलाई भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा लिएको छ, यसमा सरकारलाई सहयोग गर्नुहोस्।’
सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि प्रधानमन्त्रीको भनाइ थियो।
‘भ्रष्टाचारका फाइल खोलेका बेला तपाईंहरूले समर्थन नै फिर्ता लिनुभयो। हुन त यो संयोग मात्र पनि होला,’ उनले भने, ‘सरकारले भ्रष्टाचारका यस्ता विषयमा निष्पक्ष र इमान्दार ढंगबाट छानबिन गर्छ।’
रास्वपाले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
यो पनि: प्रधानमन्त्रीलाई भेटेर रवि लामिछानेले भने तीन कुरा