नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा विज्ञ इन्द्रजित राई पक्राउ परेका छन्।
गत वैशाख १९ गते पक्राउ परेका राईलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ।
राईमाथि पूर्वगृहमन्त्री बादलको सुरक्षा विज्ञ हुँदा गृह मन्त्रालय र एजेन्टबीच समन्वयको काम गर्ने गरेको आरोप छ।
बादलसँग राईको सम्बन्ध निकै पुरानो हो।
२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो। १० वर्ष हिंसात्मक संघर्ष गरेको तत्कालीन नेकपा (माओवादी) खुला राजनीतिमा प्रविष्ट भयो।
पार्टीले खुला र मूलधारको राजनीतिक लय समात्नेबित्तिकै प्राध्यापक, पूर्वप्रशासक मात्र होइन, सेनाका पूर्वजर्नेल र सैन्य जानकारहरू पनि माओवादीमा जोडिन आइपुगेका थिए।
यही क्रममा मिसिएका थिए सेनाका उपरथी कुमार फुदुङ र सैन्य विषय जानकार भनिएका इन्द्रजित राई।
फुदुङ सेनाको उपरथीबाट निवृत्त भएको केही समयमै पुनर्स्थापित संसदमा विधायक बनाइएका थिए। पुनर्स्थापित संसदमा माओवादीबाट ८३ जना विधायक बनेका थिए।
२०६२/०६३ को आन्दोलनले विघटित प्रतिनिधि सभा ब्युँताएको थियो। २०६३ कात्तिक २१ गते तत्कालीन सात दल नेकपा (माओवादी)बीच सहमति भयो। जसअनुसार माओवादी अन्तरिम व्यवस्थापिकामा सहभागी भएको थियो।
त्यही कार्यकालमा फुदुङ विधायक बनेका थिए। तिनताका इन्द्रजित राई पनि सांसद बन्ने चर्चा थियो।
‘शान्ति प्रक्रियामा आएपछि सेना समायोजनको प्रश्न अहम् थियो। राज्य सञ्चालन, नीति-निर्माणमा पार्टीलाई अब्बल बनाउनु पनि छँदै थियो,’ माओवादी केन्द्रका एक नेता भन्छन्,‘पार्टीलाई सबै क्षेत्रमा स्थापित गराउने क्रममा कुमार फुदुङ, इन्द्रजित राईमात्र होइन, सूर्यबहादुर सेन ओली र रवीन्द्रप्रताप शाह जोडिएका हुन्।’
इन्द्रजितको पृष्ठभूमि भने फरक छ।
भोजपुरको आमचोक गाउँपालिका पुर्ख्यौली थातथलो भएका उनी भारतको मध्य प्रदेश, भोपालमा थिए। त्यहीँबाट विद्यावारिधि गरेको उनको दाबी छ।
माओवादीकै एक नेताका अनुसार भोपालमा रहेका इन्द्रजित तत्कालीन राजपरिवारकै चाहनामा ०५० को दशकमा काठमाडौं आएका थिए। र, आर्मी स्टाफ कलेजमा प्रशिक्षण दिन थालेका थिए। यसबाट उनको तत्कालीन राजसंस्थासँग निकट सम्बन्ध रहेको देखिन्छ।
२०६२/०६३ सालको जनआन्दोलनपछि माओवादी खुला राजनीतिमा आयो। माओवादी खुला राजनीतिमा आएसँगै विभिन्न क्षेत्रका मानिसहरू पनि यो पार्टीसँग जोडिन पुगे।
त्यही क्रममा राजसंस्थासँगको निकटता तोडेर इन्द्रजित राई माओवादीसँग जोडिन पुगे। माओवादीसँग जोडिनका लागि उनी बादलको सम्पर्कमा पुगे।
माओवादीले सशस्त्र द्वन्द्वका क्रममा उसले पश्चिम, मध्य र पूर्वी गरी तीन कमाण्ड बनाएको थियो। पूर्वी कमाण्डका इन्चार्ज थिए, बादल।
सशस्त्र संघर्षका बेला बादललाई नेकपा माओवादीको सैन्य रणनीतिकारको उपमा पनि दिइएको थियो।
पूर्वी क्षेत्रको माओवादीको उपल्लो तहको नेता पनि भएकाले इन्द्रजित बादलको सम्पर्कमा पुगे। त्यसमा पूर्वकै गोपाल किरातीलगायत नेताहरू सहयोगी बने। सैन्य क्षेत्रका जानकार पनि भएको हिसाबले उनको बादलसँग हिमचिम बढेको माओवादी नेताको बुझाइ छ।
‘माओवादीसँग फौजी ज्ञान त थियो, अन्तर्राष्ट्रिय अभ्यास, शान्ति प्रक्रिया, सेना समायोजनजस्ता विषयमा प्रभावमा पार्न सकिन्छ भनेर उनी बादलको सम्पर्कमा पुगे। त्यसको लाभ उठाए,’ माओवादीका एक नेता भन्छन्।
पहिलो संविधान सभामा इन्द्रजित समानुपातिक कोटाबाट सभासद बने।
सरकारले पूर्वरथी बालानन्द शर्माको नेतृत्वमा सेना समायोजन विशेष समिति बनाएको थियो। त्यसमा उनले पार्टीका तर्फबाट व्यवस्थापकीय भूमिका खेले।
२०६९ असारमा एकीकृत नेकपा (माओवादी) विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापासहितका नेताले नेकपा-माओवादी गठन गरे।
एकीकृत नेकपा (माओवादी)मा छँदा सल्लाहकारको भूमिका रहेका इन्द्रजित पार्टी विभाजनपश्चात् बादलसँगै लागे।
त्यहाँ पनि उनले सल्लाहकारकै भूमिका पाए र बादलकै वरिपरि रहे।
‘पार्टीका गतिविधिमा खासै सक्रिय नरहने, नेतृत्वकै वरिपरि भइरहने प्रवृत्ति देखिन्थ्यो, सेना समायोजनमा सल्लाह-सुझाव दिएकाले नेतृत्वले सहजै विश्वास गर्ने अवस्था बन्यो,’ तत्कालीन बादलको सचिवालयमा रहेका एक नेता बताउँछन्।
५ महिनापछि बनाइएका थिए सल्लाहकार
२०७४ फागुन १४ गते रामबहादुर थापा गृहमन्त्री नियुक्त भए। इन्द्रजित भने असार १५ गते मात्रै गृहमन्त्रीको सुरक्षाविज्ञ नियुक्त भएका थिए। गृह मन्त्रालयले सुरक्षा विज्ञ आफैं नियुक्त गर्न सक्दैन। मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपर्छ। इन्द्रजित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनाअनुसार नियुक्त भएको त्यतिबेलाका बादलको सचिवालयमा रहेकाहरूको भनाइ छ।
गृह मन्त्रालयमा रहँदा बादलको सचिवालयका अन्य सदस्य र इन्द्रजितबीच ‘शीतयुद्ध’ थियो। मन्त्रालयको काममा भन्दा बढ्ता ध्यान बिचौलिया भेटघाटमा हुँदा समन्वय नभएको तत्कालीन सचिवालय सदस्यहरू बताउँछन्।
‘उहाँ प्रधानमन्त्रीको चाहनाअनुसार आउनुभएको हो भनेर चर्चा हुन्थ्यो, अहिलेको प्रकरणबारे मन्त्रालयमा छलफल भएको होइन। बाहिर-बाहिर नै सेटिङ मिलाएको हुनुपर्छ,’ त्यतिबेला गृह मन्त्रालयमा रहेका एक अधिकारी भन्छन्।
बादललाई एमालेमै राख्ने ‘डिजाइनर’
शान्ति प्रक्रियामा आएको १० वर्ष नबित्दै माओवादी विभिन्न धारमा छिन्नभिन्न भयो। टुटफुट व्यहोर्यो। २०७१मा मोहन वैद्य समूहबाट नेत्रविक्रम चन्द समूह अलग भयो। २०७३ मा बादल समूह अलग भएर एनेकपा माओवादीमै फर्कने भयो। यो सबै घटनाक्रममा बादलसँग विमुख नभएका इन्द्रजित २०७५ जेठ ३ गते नेकपा बन्दा पार्टीको कार्यकारी कमिटीमा भने थिएनन्। सल्लाहकारकै भूमिकामा थिए।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनको तहमा पुग्यो।
त्यतिबेला बादल पक्षधर भनेर चिनिएका स्थायी कमिटीका देव गुरूङ, पम्फा भुसाललगायत नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल खेमामा लागे।
बादल भने अलमलमै थिए।
प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने क्रममा पम्फा भुसालले बादल पनि ओलीसँग नरहने बताएकी थिइन्।
त्यतिबेला बादल समूहमा करिब २७ जना केन्द्रीय सदस्य थिए।
‘त्यसमध्ये सबै संसद् विघटनलाई साथ दिनुहुँदैन भन्ने पक्षमा थियौं,’ त्यतिबेला बादलको पक्षमा खुलेका एक केन्द्रीय सदस्य भन्छन्, ‘सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने दावा तामाङबाहेक अरू ओलीसँग बस्नुपर्छ भन्ने पक्षमा हुनुहुन्नथ्यो।’
त्यतिबेला बादल गृहमन्त्री थिए। गृहमन्त्रीको सल्लाहकारको हैसियतले हरेकजसो बैठकमा इन्द्रजित सहभागी हुन्थे।
‘हरेक दिन मन्त्री क्वार्टर पुल्चोकमा हामी बैठक बस्थ्यौं। बैठकमा ओलीसँगै रहनुपर्छ भन्ने राई एक्ला हुन्थे,’ बादल समूहका एक अर्का नेता सुनाउँछन्, ‘राईकै जोडबलमा बादल एमालेमा रहेका हुन्।’
२७ जना केन्द्रीय सदस्यमध्ये बादलले दावा र मनोज थापालाई मात्रै एमालेमा राख्न सकेको ती नेताको भनाइ छ।
के गर्छ एमालेले?
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोगमा राई अहिले प्रहरी हिरासतमा छन्। इन्द्रजित र उनका छोरा नीरजले २०७६ असारदेखि चैतसम्म ५ करोड ५० लाख रुपैयाँ लिएको पीडितहरूले बताएका छन्। पक्राउ परेकाहरूले पनि त्यही बयान दिएका छन्। उनका छोरा नीरज फरार छन्।
पक्राउ परेका इन्द्रजित एमालेको सल्लाहकार कमिटीमा छन्। उनलाई पार्टीले निलम्बन भने गरेको छैन।
एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ। यही वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कमिटीको पाँचौं बैठक पनि काठमाडौंमै बस्दैछ। यस प्रकरणबारे त्यहीँ छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘यस प्रकरणमा प्रहरी अनुसन्धान जारी छ। निष्कर्ष आइसकेको छैन। हाम्रो सचिवालय र केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ। त्यहीँ छलफल गरेर निर्णय लिन्छौं,’ उनले भने।