सुनसरी जिल्लामा दुई उपमहानगर छन् धरान र इटहरी। मुलुकका चर्चित सहरमध्येमा पर्ने यी दुवै ठाउँका मेयरहरू पछिल्लो एक सातायता सीमा विवादलाई लिएर आमनेसामने छन्।
धरानका मेयर हर्क साम्पाङ र इटहरीस्थित उनका समकक्षी हेमकर्ण पौडेल आमनेसामने भएको मैदान चाहिँ सामाजिक सञ्जाल फेसबुक हो। जहाँ दुवै मेयरले एकअर्कालाई कटाक्ष गर्ने, प्रश्न सोध्ने र जवाफ पनि दिने गरेका छन्।
‘फेसबुक युद्ध’ मा सक्रिय दुई मेयरमध्ये धरानका साम्पाङले सदाझैं आफूलाई आक्रामक रूपमा पेश गरिरहेका छन्। त्यसक्रममा उनले आफ्ना समकक्षीलाई सम्बोधन गर्ने भाषामासमेत ख्याल गरेको देखिन्न। इटहरीका मेयर पौडेल भने हर्कको जवाफ शिष्ट र मर्यादित शैलीमा दिइरहेका छन्।
साँध जोडिएका यी दुई उपमहानगरका मेयरहरूबीच फेसबुक युद्ध चल्ने अवस्था कसरी आयो? धरान र इटहरीबीचको सीमा विवाद के हो?
इटहरी र धरानबीचको सीमा विवाद नयाँ होइन। यसअघि पनि पटक/पटक हुँदै आएको विवाद यसपटक पुनः ब्युँतिएको हो। यो विवाद ब्युँतिएपछि दुई मेयरबीच फोनमासमेत कुरा हुन छाडेको छ।
‘बसेर विवाद समाधान गरौं भन्नलाई मैले बारम्बार हर्कजीलाई फोन गरेँ उहाँले फोन रिसिभ गर्नुभएको छैन,' इटहरीका मेयर पौडेलले भने, ‘कल ब्याक पनि गर्नुभएको छैन। संवादका लागि हामीले पत्राचार पनि गरेका छौं। उहाँले कुनै रेस्पोन्स देखाउनु भएको छैन।’
धरानका मेयर साम्पाङ चाहिँ सुरूदेखि नै एकै वाक्य भनिरहेका छन्, ‘हामी इटहरीको भूमि एक इन्च पनि मिच्दैनौं। धरानको पनि मिच्न दिँदैनौं।’
यसपटक दुई छिमेकी स्थानीय सरकारबीच विवादको सुरूआत धरानका मेयर हर्क साम्पाङले गरेका हुन्।
अघिल्लो आइतबार धरान–इटहरी सीमा छुट्याउने बोर्ड राख्न लगाएर मेयर साम्पाङले पहिलो फायर खोलेका थिए। अघिल्लो आइतबार दिउँसो नगर प्रहरी र कर्मचारीहरू परिचालन गरेर धरान उपमहानगरले पानीपिया क्षेत्रमा ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ लेखिएको बोर्ड राख्यो। यो बोर्ड राखेको जानकारी मेयर साम्पाङले फेसबुकमार्फत् सार्वजनिक गरे।
मेयर साम्पाङको निर्देशनमा राखिएको सीमा छुट्याउने बोर्ड राखिएको पानीपिया क्षेत्र अहिलेसम्म इटहरीको २० नम्बर वडाका रूपमा चिनिन्छ। त्यहाँभन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध मान्दै आएको छ।
सरकार मातहतको नापी विभागले जारी गरेको नक्सा भने इटहरीले दाबी गर्दै आएअनुसारको छैन। नापी विभागले जारी गरेको नक्सामा सेउतीपुलदेखि दक्षिण पानीपिया क्षेत्र धरानमै पर्ने देखाइएको छ। यसैलाई र गुगल म्यापसमेतलाई आधार मानेर धरानले आफ्नो सीमा पानीपिया भएको बताइरहेको हो।
कुनै दुई मुलुककै झल्को दिने गरी दुई स्थानीय तहबीच सीमा विवाद उठ्नु स्वाभाविक हो कि अस्वाभाविक? संघीयताविद् समेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा सीमा विवाद स्वाभाविक भएको बताउँछन्।
‘नेपालमै पनि अरू विभिन्न स्थानमा यस्तो सीमा विवाद उठेका छन्। यसअघि पनि यस्ता विवाद देखिएका छन्,' उनले भने ‘त्यसैले सीमा विवाद अस्वाभाविक होइन। तर, यो विवादले भन्दा संवादमार्फत् हल गर्नुपर्ने विषय हो।’
प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारहरूलाई अनुदान दिने बेलामा सम्बद्ध स्थानीय तहको भूगोलको क्षेत्रफल, जनसंख्या, जनघनत्व लगायतका विषयहरूलाई सूत्रमा ढाल्ने गरेको छ। यसले पनि स्थानीय तहहरू आफ्नो भूगोल ठूलो भएको रूचाउँछन्। त्यसबाहेक प्राकृतिक स्रोत र त्यसबाट हुने आम्दानीका कारण पनि स्थानीय तहहरूबीचको सीमा विवाद पेचिलो हुने देवकोटाको भनाइ छ।
धरान र इटहरीको विवाद भएको पानीपिया क्षेत्रमा चार वटा सामुदायिक वन छन्। यी सबै वनमा उपभोक्ताहरू भने इटहरी र रामधुनी नगरपालिकाका छन्। बरमपुर सामुदायिक वन, हाँसपोसा सामुदायिक वन, भवानीपुर सामुदायिक वन र शान्तिनगर सामुदायिक वन यही क्षेत्रमा पर्छन्।
इटहरीका जनप्रतिनिधिहरू नापी विभागको कमजोरीले विवाद उब्जिएको बताउँछन्।
उनीहरूका अनुसार विभिन्न जातीय संस्कार अनुसार अन्त्येष्टि गरिने स्थलसमेत रहेको यी जंगल क्षेत्रको संरक्षण पञ्चायतकालदेखि नै तत्कालीन हाँसपोसा गाविसले गर्दै आएको थियो।
स्थानीय तह पुनःसंरचनाका क्रममा पहिलेको हाँसपोसा गाविस इटहरीमा गाभियो। त्यसपछि सो क्षेत्र आफ्नो संरक्षणमा आएको इटहरीको भनाइ छ। बालानन्द पौडेल नेतृत्वमा रहेको ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ ले हाँसपोसालाई इटहरीमा समेटेको थियो।
‘त्यसबेला हामीले ४ हजारभन्दा बढी स्थानीय निकायलाई ७१९ वटामा झारेर सरकारलाई प्रतिवेदन बुझाएका थियौं,' आयोगका सदस्य रहेका अधिवक्ता सुनिलरञ्जन सिंहले भने, ‘तर, पछि सरकारले आयोगको सिफारिसभन्दा संख्या बढाएर स्थानीय तहको संख्या ७५३ पुर्यायो। धेरै सीमा विवाद त्यही विन्दूबाट सुरू भएको हो।’
आयोगले सकेसम्म वडाहरू नटुक्रिने गरी सीमा तोकेको थियो। त्यसबेला वडाहरू नटुक्रिने गरी सीमा तोक्दा हाँसपोसा इटहरीमा परेको थियो।
‘दशकौंदेखि संरक्षण र भोगचलन इटहरीले गरेको आधारमा त्यो भाग हाम्रो हो भन्ने इटहरीको दाबी छ,' मेयर पौडेलले भने ‘तर, नापी विभागले जारी गरेको नक्सा त्रुटिपूर्ण भएकाले विवाद बल्झिरहने गरेको छ।’
धरानका मेयर साम्पाङले नापी विभागको नक्सा अनुसार धरानको सीमाना खोज्नु आफ्नो कर्तव्य हुने बताइरहेका छन्। ‘सरकारको आधिकारिक नक्सा अनुसारको सीमाना निर्धारण गर्नु हाम्रो दायित्व हो। हामीले त्यही काम गरेका हौं,’ उनले भने।
संघीयताका विज्ञ सांसद देवकोटा र आयोगका सदस्य अधिवक्ता सिंह सकेसम्म दुवै स्थानीय तहले आफैं बसेर यो विवाद सल्टाउनु पर्ने बताउँछन्।
‘यस्तै विवाद सुल्झाउन भनेर प्रदेशमा अलग्गै संयन्त्रको परिकल्पना संविधानले गरेको छ,' देवकोटाले भने ‘तर, प्रदेशले त्यो कानुन नै बनाएको छैन।’
सीमा र संख्या निर्धारण आयोगका सदस्य सिंह भने प्रदेश समन्वय परिषदले यसको हल खोज्नुपर्ने बताउँछन्।
‘छिमेकी स्थानीय तहमा सीमा विवाद निस्कँदा भोलि त्यसले समस्या निम्त्याउँछ,' उनी भन्छन्, ‘त्यसैले कि प्रदेश समन्वय परिषदले कि संघीय सरकारले मध्यस्थता गरेर यसको हल खोज्नुपर्छ।’
दुई स्थानीय तहबीच मौलाएको सीमा विवादले जनस्तरमै वैमनस्यता उत्पन्न गर्ने चिन्ता इटहरीका मेयर पौडेलको छ।
‘त्यसैले संवादमा बसेर हल खोज्नुको कुनै विकल्प छैन,’ उनले भने।
दुई मेयरको 'वाकयुद्ध'
यसपटकको विवादले दुई मेयरलाई फेसबुक जुहारीमा उतारेको छ। इटहरीले मान्दै र दाबी गर्दै आएको ठाउँ (सेउती पुल) भन्दा पाँच किलोमिटर दक्षिण झरेर धरानले सीमा बोर्ड राखेको जानकारी पाएपछि त्यही दिन नै एमाले निकट युवा संघ इटहरीका कार्यकर्ताले उखेलेर फ्याँकिदिए।
आफूले राखेको बोर्ड उखेलेर फ्याँकिएपछि क्रुद्ध बनेका धरानका मेयर साम्पाङले फेसबुकमा फायर खोल्न सुरू गरे। उनले त्यहीबेला लेखे ‘इटहरीको युवा संघले बोर्ड उखेलेछ, धरानको युवा संघ अब के गर्छ?’
उनले युवा संघ धरानलाई लक्षित गर्दै लगातार फेसबुकमा लेखिरहे।
‘धरानका युवा संघले आफ्नो सीमानाको बारेमा केही नबोल्ने हो ? ल ल ..।’
मेयर साम्पाङ यतिमै रोकिएनन्। उनले इटहरीका मेयर हेमकर्ण पौडेलविरूद्धै पनि फेसबुकमा लेखे। बोर्ड उखेलेर फ्याँक्नेलाई कारबाहीको माग गर्ने धरानको उजुरीपछि इटहरीका मेयरले पनि प्रशासनमा सीमा विवाद संवादबाट टुंगो लगाउनु पर्ने विषय भएकाले कसैमाथि कारबाही नगर्न अनुरोध गर्दै पत्र लेखे।
त्यसपछि साम्पाङले फेसबुकमा लेखे ‘इटहरीको मेयरज्यूले अराजक समूहले हाम्रो बोर्ड लगेको घटनालाई कसरी हेर्नुभएको छ? कारबाही गरे राम्रो हुने छैन भन्ने खालको अभिव्यक्ति पो आको छ त। कतै उहाँले नै हटाउन लगाउनु भा त होइन ?’
साम्पाङले यसरी आफूविरूद्ध लक्षित अभिव्यक्ति लगातार दिन थालेपछि इटहरीका मेयर पौडेलले पनि फेसबुकमै लेख्न थाले। उनले नगरको सीमा विवादमा भुलिनुभन्दा कालापानी र लिपुलेकतिर लड्न जाऊँ भनेर हर्कलाई प्रस्ताव गर्दै लेखे, ‘धरान नगरप्रमुख ज्यू नमस्कार, सामाजिक सञ्जाल हेर्नुभएको छ? जनता छिमेकी भएर झगडा नगर, लिपुलेक र कालापानीको सीमाना खोज्न जाऊँ भन्दैछन्। बोकौं चन्द्रसूर्य झण्डा, बाँधौं टाउकोमा कफन मारिए सहिद, बाँचे योद्धा, जाने मेयरज्यू? म तपाईंसँग सहकार्य गर्न तयार छु। जय नेपाल।’
इटहरीका मेयरको यस्तो अभिव्यक्ति आएपछि धरानका मेयर साम्पाङले पौडेललाई ‘कहिल्यै अफिसबाट बाहिर ननिस्कने’ भन्दै लेखे ‘कहिले अफिसबाट बाहिर ननिस्कनेले लिम्पियाधुरा जाऔं भनेछ।’ यति लेखेर उनले हाँसोको इमोजी राखेका छन्।
त्यसपछि इटहरीका मेयर पौडेलले साम्पाङले मर्यादा नाघेको आरोप लगाउँदै अर्को स्टाटस लेखे।
‘धरान नगरप्रमुख ज्यू पदीय मर्यादा नभुलौं, शब्द चयनमा ख्याल गरौं। सम्मान लिन र दिन सिकौं, दुनियाँमा धेरै मानिसहरू चर्चा र शक्तिको चुचुरोमा पुगेका थिए र छन्। आखिर एउटा समयसम्म न हो, अन्त्यमा टेक्ने र विसर्जन हुने त माटोमै हो। जमिनमा बस्ने मानिसको विचार, भावना आवाजलाई नि स्वीकार र सम्मान गर्नु, सुन्नु, मनन गर्नु अग्लो हुँदै गरेको मानिसको महानता हो। भौतिक शरीर माटोमा विलय भएको दिन छोड्ने स्कृति भनेको कर्म , व्यवहार अनि मलामी नै हुन् प्रमुख ज्यू। जय नेपाल।’
इटहरीतिर विवाद सल्किएकै बेला नापी विभागकै नक्सामा आधारित भएर धराने मेयर साम्पाङले बराहक्षेत्र नगरका पनि केही क्षेत्र धरानको भनेर दाबी गरे। त्यो अभिव्यक्तिपछि बराहक्षेत्र नगरले कोकाहाको पानी ल्याउने क्रममा आफूसँग कुनै समन्वय नगरेको भन्दै हर्कको खानेपानी अभियानको कामै रोकिदिए। त्यसपछि जिसस सुनसरीको समन्वयमा शनिबार दुई पालिकाबीच सहमति भएको छ।
अब लिखित सम्झौता गरेर बराह क्षेत्रबासीलाई नि:शुल्क खानेपानी दिने लगायतका सहमति गर्ने र खानेपानी अभियान पुन:सुरू गर्ने सम्झौता भएको छ।