वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले पनि निर्वाचन क्षेत्रमै व्यस्त छन्।
उनले आफ्ना कार्यकर्ता, समर्थक र मतदाता भेटिरहेका छन्। आइतबार पनि उनी बारामै रहनेछन्। सोमबार विराटनगर गएर मंगलबार काठमाडौं फर्किने यादवको तयारी छ। यद्यपी विराटनगर जाने/नजानेबारे सोमबार मात्रै टुंगो हुनेछ।
सभामुख देवराज घिमिरेलाई फोन गरेर उनले मंगलबार आफूले शपथ लिने जानकारीसमेत गराएका छन्।
मंगलबार सपथ लिएलगत्तै उनी जसपा संसदीय दलको नेता बन्ने एक सांसदले बताए।
‘उहाँको अगाडि अरू कसले संसदीय दलको नेता बन्छु भन्न सक्छ? आफ्नै लागि भनेर उहाँले आफ्ना एसम्यान रामसहाय प्रसाद यादवलाई लाई संसदीय दलको नेता बनाउनुभएको थियो,’ जसपाका ती सांसदले भने,‘रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि संसदीय दलका उपनेता नवलकिशोर साहले नेतृत्व गर्नुभएको छ। अब अध्यक्ष आफैं दलको नेता बन्ने पक्कापक्की जस्तै छ।’
उपनिर्वाचनबाट सांसद जितेर आफू नै संसदीय दलको नेता बन्ने योजना यादवले धेरै पहिला बनाएका थिए। गत पुस १३ गते संसदीय दलको नेता चयन गर्ने बेला उनले संघीय परिषद अध्यक्ष अशोक राईलाई रोकेका थिए। राईलाई रोकेर उनले आफूनिकट रामसहाय प्रसाद यादवलाई संसदीय दलको नेता बनाएका थिए।
दलको नेता बनेपछि मात्रै उनी तत्काल सरकारमा जान्छन कि जाँदैनन् भन्ने थाहा हुने जसपाका एक नेताले बताए।
‘सरकारमा उहाँ जाने/नजाने भन्ने कुरा उहाँलाई बाहेक अरूलाई थाहा छैन। आफू नगए कसलाई पठाउनुहन्छ भन्ने पनि उहाँलाई मात्रै थाहा छ,’ जसपाका ती नेताले भने,‘उपनिर्वाचनको बेलामा धेरैलाई मन्त्री बनाउने आश्वासन दिनुभएको छ। एक जनालाई मन्त्री बनाउँदा कसलाई बनाउनुहुन्छ भने अनुमान लगाउन गाह्रो छ।’
वर्तमान सरकारमा जसपाबाट संघीय परिषद अध्यक्ष अशोक राई शिक्षा मन्त्री छन्। जसपाको भागमा परेको अर्को मन्त्रालय खाली छ। यादवलाई वन तथा वातावरण मन्त्रालयमा कसैलाई पठाएका छैनन्।
यादव अहिलेसम्म तीन पटक सरकारमा गइसकेका छन्। आफ्नो पार्टी सरकारमा गएको बेलामा उनी एक पटक मात्रै सरकारमा गएका छैनन्। २०७८ सालमा गठन भएको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मात्रै यादव मन्त्री बनेका थिएनन्।
यसपालि उपनिर्वाचन हुनुअघिसम्म यादव सांसद थिएनन्। त्यसैले उनको ध्यान सांसद बन्न केन्द्रीत थियो।
मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग १८ हजारको मतान्तरमा यादव पारजित भएका थिए। जसरी पनि संसदमा छिर्ने आफ्नो महत्वकांक्षा पूरा गर्न यादवले बारा क्षेत्र नं २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएका हुन्।
सत्ता गठबन्धनकै बलमा ५ हजारको मतान्तरसहित उपनिर्वाचनबाट विजयी भएपछि यादवको नजर अब सरकारमा रहने जसपाका नेताहरूको बुझाइ छ।