फरार रहेका नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेले आनाकानी गरेका छन्।
फरार रहेका सांसद निलम्बन हुने व्यवस्थासहित प्रतिनिधि सभाको नयाँ नियमावली पारित भए पनि घिमिरेले अहिलेसम्म कोइरी निलम्बन भएको सूचना सभामा दिएका छैनन्।
गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीको नियम २४८ को उपनियम ३ मा 'अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ' भन्ने व्यवस्था छ।
हेर्नुहोस् नियमावलीको व्यवस्था
सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो। तर सांसद कोइरी तारेख गुजारी फरार छन्।
प्रहरी प्रधान कार्यालयका तर्फबाट नायब महानिरीक्षक टेकप्रसाद राईले २०७९ साल पुस ७ गते नै सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएका थिए। तर सभामुख घिमिरेले नयाँ नियमावली पारित भएपछि पनि कोइरीलाई निलम्बन गरेको सूचना प्रतिनिधि सभा बैठकमा सुनाएका छैनन्।
हेर्नुहोस् पत्र
प्रतिनिधि सभाको बैठकमै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले कोइरीलाई कारबाही गर्नुपर्ने विषयमा सभामुखको जवाफ मागे पनि घिमिरेले कुनै जवाफ दिएका छैनन्। स्वतन्त्र पार्टीकी सांसद डाँगीले वैशाख १२ गतेको बैठकमा 'लक्ष्मी महतो कोइरी सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् वा नगराई', भन्दै प्रश्न गरेकी थिइन्। उनले सभामुखबाट नै आफूले जवाफ सुन्न चाहेको बताएकी थिइन्।
संसद सचिवालयले भने कोइरी स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित हुँदै आएको जनाएको छ।
'उहाँले २०७९ माघ २५ गतेदेखि अस्वस्थ भई उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुने भनेर पत्र पठाउनु भएको छ', संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, 'उहाँले दुई पटक सचिवलायमा पत्र पठाउनु भएको छ।'
संसद सचिवालयले सांसद कोइरीलाई तलब भत्ता भने दिएको छैन।
'हाम्रो लेखा शाखाबाट उहाँलाई कुनै तलब भत्ता गएको छैन', प्रवक्ता गिरीले भने, 'उहाँको स्वकीय सचिवले समेत तलब भत्ता पाउनुभएको छैन।’
सभामुखको नेतृत्वमा रहने कार्यव्यवस्था परामर्श समितिमा रहेका कांग्रेस सांसद रामहरि खतिवडाले सभामुखले कोइरीलाई कुनै राजनीतिक रूपमा नहेरी निलम्बन गर्नुपर्ने बताए।
'सभामुखले यो र त्यो भन्न पाइँदैन। हामीले उहाँलाई सबैको सभामुख बनाउन चाहेका छौं,’ खतिवडाले भने, ‘विगतमा सभामुखहरूले पार्टी राजनीतिभन्दा माथि उठेर काम गरेका छैनन्। अग्नि सापकोटा सभामुख भएका बेला नेकपा एमालेका साथीहरूले समेत प्रश्न उठाएको थिए। अहिले त्यो प्रश्न उठाउने ठाउँ उहाँहरूले दिनुहुन्न भन्ने हामीलाई लागेको छ।'
हालका सभामुख घिमिरे एमालेबाट निर्वाचित सांसद हुन्। सभामुख निर्वाचित भएपछि उनले पार्टीबाट राजीनामा दिइसकेका छन्।
'सभामुखले संसदमा नियमावली भित्र रहेर काम गर्न भन्दै रूलिङ गर्नुहुन्छ', खतिवडाले भने, 'कोइरीको निलम्बनको विषयमा पनि उहाँले रूलिङ गर्नुपर्छ भन्ने मलाई लाग्छ।'
सांसद खतिवडाले प्रतिनिधि सभाको नियमावली सभामुखले कार्यान्वयन गर्नुपर्ने बताए।
'नियमावली बनाउने बेलामा हामीले एउटा कर्मचारी अदालतमा मुद्दा पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था रहेकाले सांसदलाई विशेषाधिकार हुनु हुँदैन भनेर भनेको हो', खतिवडाले भने, 'कोइरीको विषयमा मैले पटक-पटक संसदमा कुरा उठाएको छु। सभामुखले के गर्नुहुन्छ हामी हेरिराखेका छौं।'