कर्णाली प्रदेशको बुधबार हुने भनिएको मन्त्रीको शपथ अन्तिममा आएर रोकिएको छ।
कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको नाम सिफारिस भए पनि अन्तिममा आएर वरियता विवाद सुरू भएको हो।
नेपाली कांग्रेसको संसदीय दलले मंगलबार कर्णाली सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गरेको थियो। दलले जाजरकोटका सांसद वेदराज सिंह, सुर्खेतका सांसद खड्क पोखरेल र दैलेखका सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो।
उनीहरूलाई बुधबार नै शपथ गराउने निर्णय गरिएको थियो।
उनीहरूमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको थियो।
केन्द्रमा भएको सत्तासमीकरण फेरबदलपछि यी मन्त्रालय लिएका एमालेका मन्त्रीहरूले २०७९ चैत २६ गते राजीनामा दिएका थिए। एमाले मन्त्रीहरूले राजीनामा दिएपछि कर्णालीमा कांग्रेसलाई लिएर माओवादीका राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिन खोजिएको थियो।
यसैअनुसार सोमबार बसेको कांग्रेसको कार्यसम्पादन समिति र मंगलबार बसेको संसदीय दलको बैठकबाट मन्त्रीका लागि नाम सिफारिस गरिएको थियो।
कांग्रेस सांसदहरूले आफूहरूलाई पन्छाएर 'जुनियर' लाई मन्त्री बनाइएको भन्दै केन्द्रीय नेतृत्वलाई गुहारेपछि बुधबार हुने भनिएको शपथ रोकिएको हो।
जाजरकोटका सांसद राजीवबिक्रम शाह र सुर्खेतका सांसद जानकी सिंहले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएका छन्। शाह र सिंह दुवै केन्द्रीय सदस्य हुन्। दुवै जना सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका छन्।
मन्त्रीमा सिफारिस भएका सिंह जाजरकोट र पोखरेल सुर्खेतका जिल्ला सभापति हुन्। बिसी दैलेखको पूर्वसभापति हुन्।
कांग्रेस संसदीय दलले आफूलाई बेवास्ता गरेर मन्त्रीका लागि नाम सिफारिस गरिएको राजीवबिक्रम शाहले बताए।