नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँका दीपकराज जोशीसँग भेटघाट गरेका छन्।
सोमबार सभापति देउवा निवास धुम्बाराहीमा देउवा र जोशीबीच कुराकानी भएको हो।
दीपकराज कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनी गत वैशाखमा भएको स्थानीय चुनावमा व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यतिबेला उनी ११ हजार ८ सय २६ मत ल्याएर पराजित भएका थिए।
सभापति देउवाले भेट्न खोजेपछि जोशी धुम्बाराही पुगेका हुन्।
तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यहाँ कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार छन्। गत मंसिरमा भएको चुनावमा यो क्षेत्रबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल फागुन २५ मा राष्ट्रपति बनेपछि रिक्त प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी पनि थिए। उनी पराजित भए। तनहुँमा रामचन्द्र र गोविन्दराजबीच राजनीतिक टकराव थियो। पौडेलले राष्ट्रपति भएपछि कांग्रेसका सबै पदबाट राजीनामा दिएका थिए।
पौडेलले कांग्रेस छाडेको र उपनिर्वाचनसमेत भएकोले गोविन्दराज जोशी समूहलाई कांग्रेसमा फर्काउन सभापति देउवासहित कांग्रेस शीर्ष नेताहरूले कोसिस गरिरहेका छन्।
जोशी लामो समयदेखि तनहुँमा कांग्रेस स्वतन्त्र समूह, बिपी समाज लगायतबाट राजनीतिमा क्रियाशील भइरहेका छन्। गत मंसिरमा गोविन्दराज उम्मेदवार हुँदा उनले ६ हजार ८ सय ७८ मत ल्याएका थिए। यो मत उपनिर्वाचनमा कांग्रेसमा थप गर्नका लागि सभापति देउवा जोशी समूहसँग छलफलमा जुटेका हुन्।
२०७४ को चुनावमा तनहुँ १ मा रामचन्द्र पौडेल पराजित भएका थिए। रामचन्द्रलाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि कांग्रेसले अनुशासनको कारबाही गरेको थियो। जोशीलाई २०७५ पुस २४ मा कांग्रेस अनुशासन समितिले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। यद्यपी आफूमाथि कारबाहीको पत्र अहिलेसम्म नपाएको गोविन्दराज बताउँछन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत चैत १९ को बैठकले २०७९ को चुनावबाहेक त्यसअघिका चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्नेलाई अनुशासनको कारबाही गरेको थियो।
२०७९ मंसिर ४ को चुनावमा जोशी तनहुँ १ मा उम्मेदवार बने पनि उनी त्यसबखत कांग्रेसमा थिएनन्, स्वतन्त्र ढंगले उम्मेदवारी दिएका थिए। त्यसकारण उनीमाथिको कारबाही कांग्रेसले फुकुवा गरिदिएको छ।
कांग्रेसले उपनिर्वाचन हुने क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा मात्रै नेता, कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको थियो। यसकारण कांग्रेसले चुनावी रणनीतिअनुसार यो निर्णय गरेको चर्चासमेत हुने गरेको छ। गोविन्दराजले पनि कांग्रेसको चुनावी रणनीति भएको टिप्पणी गरेका थिए।
यो पनि: उपनिर्वाचनमा हामी चुप बस्ने निर्णय भएको छ: गोविन्दराज जोशी
चैत २० मा तनहुँ पुगेका महामन्त्री गगन थापाले पनि गोविन्दराज जोशी लगायतलाई समेटेर कांग्रेसलाई एकढिक्का बनाएर जाने बताएका थिए। थापाले जोशी समूहसँग सभापति देउवाले पनि कुराकानी गरिरहेको बताएका थिए। यसै सिलसिलामा सोमबार दीपकराज जोशीले सभापति देउवालाई भेटेर कुराकानी गरेका छन्।
जोशीले सभापति देउवासँग विभिन्न विषयमा कुराकानी गर्दै ५ मागसमेत राखेका छन्।
पहिलो, गोविन्दराज जोशीलाई सम्मानजनक भूमिकासहित लैजानुपर्यो।
दोस्रो, तनहुँ कांग्रेसमा जोशी समूहबाट ३३ प्रतिशत भूमिका हुनुपर्दछ, कहाँ कसलाई जिम्मेवारी दिने हो दिनुपर्यो।
तेस्रो, बिपी विचार समाजका कुलबहादुर गुरूङ लगायतलाई पनि व्यवस्थापन गर्नुपर्यो।
चौथो, २०४६ सालदेखि कांग्रेसबाट बाहिर गएकाहरूलाई पार्टीमा ल्याउनुपर्यो।
पाँचौं, ममाथि तनहुँमा स्थानीय चुनावका बेला भएको हमला छानबिन गरी राहत दिने व्यवस्था गर्नुपर्यो।
सभापति देउवालाई यी मागहरू राखेर आफू धुम्बाराहीबाट फर्केको दीपकराजले सेतोपाटीलाई बताए।
‘जोशी समूहका तर्फबाट मैले उहाँसँग विभिन्न विषयमा माग राखेको छु,’ जोशीले भने, ‘सभापति देउवा पार्टीलाई सुदृढ बनाएर लैजानेमा भन्दा पनि उपनिर्वाचनमा बढी केन्द्रित रहनुभयो।’
व्यासको मेयर उम्मेदवार रहेका दीपकराजमाथि वैशाख ३० गते तनहुँमा आक्रमण भएको थियो। व्यास नगरपालिका वडा नम्बर ८ रिस्तीस्थित साविक गाविस भवनमा रहेको मतदान केन्द्रमा जोशीमाथि कुटपिट भएको थियो। कांग्रेस कार्यकर्ताले कुटपिट गर्दा उनको टाउकोमा चोट लागेको थियो।
सभापति देउवासँग त्यस दिन आफूमाथि भएको आक्रमणबारे पनि कुराकानी गरेको दीपकराजले बताए।
‘ममाथि भएको हमलाको छानबिन र उचित राहत दिनुपर्छ भनेँ,’ उनले भने, ‘सभापति देउवालाई तपाईंको छोरालाई पिटेको भए के फिल गर्नुहुन्थ्यो त्यसरी नै यो विषयलाई हेरिदिनुपर्यो भनेको छु। यसबारे उहाँले खासै प्रतिक्रिया दिनुभएन।’
सभापति देउवाले कांग्रेस एकढिक्का भएर जानुपर्नेमा जोड दिएका थिए। साथै गोविन्दराज र दीपकराजलाई पार्टीमा कुनै भूमिका दिन सकिने देउवाको भनाइ थियो। सभापति देउवाले गोविन्दराजलाई केन्द्रीय सदस्य मनोनीत गर्न सकिने संकेत गरेका थिए। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सभापति देउवाले अझै २३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।
तर आफूले सम्मानजनक भूमिका हुनुपर्ने कुरा दोहोर्याएको दीपकराजले बताए।
‘पार्टीमा जाने मेरो त इच्छा होइन, बुवाका लागि म अलिकति नरम भएर सभापति देउवा भेट्न गएको हुँ,’ दीपकराजले भने, ‘बुवा र मलाई पार्टीमा केही भूमिका दिने प्रस्ताव देउवाको छ। हाम्रो त समूह नै छ। समूहकै व्यवस्थापनको विषय हो। व्यक्तिगत स्वार्थका लागि मात्रै त धेरै कुरा गरिएन।’