आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेका तीनमध्ये एक क्षेत्र हो बारा-२। चार महिनाअघि मंसिरमा भएको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। वैशाख १० को उपनिर्वाचनमा उक्त क्षेत्रमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चाले त्यो क्षेत्रमा चासो बढेको छ।
बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उक्त क्षेत्रमा उम्मेदवार बनाउन माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा पार्टीमा भित्र्याएपछि उक्त क्षेत्रमा वैशाख १० को प्रतिस्पर्धा झन् रोचक हुने देखिएको छ।
मंसिरको चुनावमा यादवलाई सप्तरी-२ मा पराजित गरेका राउतले पछिल्लो समय उपेन्द्रप्रति आक्रामक टिप्पणी गरिरहेका छन्। पराजित भएको पाँच महिनामै यादव चोर बाटोबाट संसद पस्न लागेको भन्दै उनले नैतिक प्रश्न उठाएका छन् भने बारा-२ मा उपेन्द्रलाई टक्कर दिने पात्रका रूपमा कुशवाहालाई उभ्याएका छन्।
कुशवाहाले उपेन्द्रलाई टक्कर दिन सक्छन् कि सक्दैनन् भन्नेचाहिँ विभिन्न ‘फ्याक्टर’मा भर पर्छ।
उक्त क्षेत्रमा उपेन्द्र उम्मेदवार बन्ने पक्कापक्की छ। सेतोपाटीसँग कुराकानी गर्दै यादवले आफूलाई बारा-२ का जनताले उम्मेदवार बनाउन चाहेको तर आफूले पार्टी र गठबन्धनमा छलफल गरेर मात्र निर्णय लिने बताएका थिए। यादवको यो भनाइले के प्रष्ट हुन्छ भने उनी बारा-२ बाट निर्वाचन लड्दै छन्।
बारा- २ उपनिर्वाचनबाट संसद छिर्ने योजना उनले सप्तरी क्षेत्र नं २ बाट पराजित भएसँगै बनाएको देखिन्छ।
त्यसैअनुसार उनले बारा-२ बाट निर्वाचित आफ्ना विश्वास पात्र रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन पहल गरे।
मंसिर ४ को चुनावको केहीदिन अघि तत्कालीन पाँच दलीय गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेका यादव पुस १० मा एमाले- माओवादी गठबन्धन बन्दा त्यसैमा मिसिएका थिए। एमाले-माओवादी गठबन्धन भत्किएपछि उनी फेरि अहिलेको गठबन्धनको सामेल भइसकेका छन्। अब उनी बारा-२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रबल सम्भावना छ। पार्टीभित्र त उनले जे भन्यो त्यही भइहाल्छ!
अहिलेको सत्ता गठबन्धनमै रहेको राउत नेतृत्वको जनमत पार्टी भने यादवको विपक्षमा उभिएको छ। अहिले मात्र होइन, उपराष्ट्रपति निर्वाचनमा पनि जनमतले जसपाविरूद्ध उम्मेदवारी दिएको थियो।
मंसिर ४ को चुनावमा जसपाका यादवसँग ३ सय ५५ मतान्तरले हारेका कुशवाहा उम्मेदवार बने त्यो क्षेत्रमा आफ्नो जित पक्का भएको राउतको दाबी छ। यादवले १३ हजार ८ सय २३ मत पाएका थिए भने कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए।
राउतको जित्ने दाबीलाई बल पुग्ने गरी जनमत पार्टीको संगठन भने बारा-२ मा छैन।
गत निर्वाचनमा उक्त क्षेत्रमा जनमत पार्टीका उम्मेदवाका राजेश साहले २ हजार ७ सय २५ मत ल्याएका थिए। मधेस प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा जनमत पार्टीको प्रभाव निकै कमजोर देखिएको थियो।
विगत हेर्ने हो भने उक्त क्षेत्रमा कुशवाहाको व्यक्तिगत प्रभाव पनि बलियो देखिन्न। कुशवाहा २०६४ को निर्वाचनमा बारा-२ बाट निर्वाचित भएका थिए। २०५५ देखि माओवादी जनयुद्धमा लागेका कुशवाहाले २०७० मा पहिलो पटक माओवादी छोडेका थिए। चुनावमा टिकट नपाएपछि तत्कालीन सद्भावना पार्टीबाट उम्मेदवार बनेका कुशवाहाले २ हजार ९ सय मत ल्याएका थिए। उनी २०७४ मा माओवादी फर्किएका हुन्।
जसपाको भने यहाँ बलियो सांगठनिक पकड देखिन्छ। मंसिरमा भएको चुनावमा एमालेसँग गठबन्धन गरेको जसपाले संघ र प्रदेश सबैतिर निर्वाचन जितेको थियो। बारा क्षेत्र नं २ को प्रदेश १ एमालेले लिएको थियो भने प्रदेश २ जसपाले लिएको थियो। जसपाले पाएको प्रदेश सभा २ मा उसले जितेको छ भने एमालेले पाएको प्रदेश सभा १ मा समेत जसपाबाटै विद्रोह गरेका शारदा शंकरप्रसाद कलवारले निर्वाचित भएका छन्। कलवार अहिले जसपा प्रवेश गरिसकेका छन्।
यो क्षेत्रमा यादवहरूको बाहुल्यता पनि चुनावी परिणाममा प्रभाव पार्ने अर्को फ्याक्टर हो।
मंसिरमा विजयी भएका रामसहाय अहिले उपराष्ट्रपति भएपछि उनको व्यक्तिगत प्रभाव पनि त्यो क्षेत्रमा पर्ने देखिन्छ।
गत मंसिरमा भएको चुनावमा दुई स्वतन्त्र उम्मेदवारले पनि १०/१० हजारभन्दा बढी मत ल्याएका थिए।
स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए। उनी जसपाबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार बनेका हुन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७ सय ५० मत ल्याएका थिए। उनी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका हुन्।
जसपाको बागी उम्मेदवारले त्यति धेरै मत ल्याउँदा पनि आधिकारिक उम्मेदवारले जितेको उक्त क्षेत्रमा जसपाको बलियो पकड संकेत गर्छ। त्यही भएर उपेन्द्र यादवले बारा २ मा आँखा लगाएका हुन्। मंसिरमा समेत यादवलाई सो क्षेत्रबाट निर्वाचन लड्न स्थानीय पार्टीले सिफारिस गरेको थियो।
मंसिरमा जसपासँग गठबन्धन गरेको एमालेले यसपटक के गर्छ भन्ने पनि महत्वपूर्ण पाटो हो। यद्यपी बाराका अन्य क्षेत्रहरूको तुलनामा यो क्षेत्रमा एमाले कम प्रभाव छ।
यो क्षेत्रमा उपेन्द्र यादवको मुख्य चुनौती मंसिरमा व्यहोरेको पराजय अनि पर्यटक उम्मेदवार भन्ने हो। अर्कोतिर जनमत पार्टीको लागि सहजता भनेको सिके राउतको बढ्दो लोकप्रियता हो। जनमत पार्टीको उपस्थिति कमजोर रहेको क्षेत्रमा कुशवाहाको पार्टी फेरिरहने प्रवृत्तिलाई मतदाताले कसरी लिन्छन् भन्ने कुराले पनि परिणाममा फरक पार्न सक्ने देखिन्छ।