प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रालयको संख्या भागबण्डाको प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालयको प्रस्ताव गरेका हुन्।
उनले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई ३ मन्त्रालयको प्रस्ताव गरेका छन्। यद्यपि रास्वपा आजको बैठकमा सहभागी थिएन।त्यस्तै, प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा)लाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ।
जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउन प्रचण्डले प्रस्ताव गरेका छन्।
'प्रधानमन्त्रीले एउटा प्रारम्भिक प्रस्ताव राख्नुभएको छ। अहिलेसम्म संख्याबारे छलफल भएको थिएन। आजको बैठकमा संख्या प्रस्ताव भएको छ,' बैठकमा सहभागी एक नेताले भने,'नेकपा एस र जसपाले ३ मन्त्रालय मागेका छन्। जनमत पार्टीले १ मन्त्री र १ राज्यमन्त्री मागेको छ। बुधबार यसबारेमा थप छलफल हुन्छ।'
बैठकमा प्रचण्डले रास्वपा तत्काल सरकारमा आएन भने पनि उसका लागि ३ मन्त्रालय खाली राख्नुपर्ने बताएका थिए।
आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे समेत कुराकानी भएको थियो। मन्त्रालयको संख्या प्रस्ताव गर्ने बेलामा प्रचण्डले आफूले सबै दलसँग छुट्टाछुट्टै कुराकानी गरेको आधारमा राखेको बताएका थिए।