गत मंसिरमा भएको चुनावमा बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गरेका छन्। मंसिरमा भएको निर्वाचनमा यादवले सप्तरी क्षेत्र नं २ बाट हारेका थिए।
उनै यादव सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नं २ को उम्मेदवार बन्न खोजेका छन्। उम्मेदवार बन्ने चर्चाबारे हामीले यादवसँग संक्षिप्त कुराकानी गरेका छौं।
बारा-२ मा तपाईं उम्मेदवार बन्ने चर्चा चलेको छ, तपाई आकांक्षी भएर हो कि चर्चा मात्रै हो?
अब स्वाभाविक छ नि। खाली भएपछि चर्चा चलिहाल्छ।
तपाईं उठ्ने तयारीमै हो?
व्यक्तिभन्दा पार्टीले गर्ने निर्णय हो। पार्टीले जे निर्णय गर्छ, गठबन्धनले जे निर्णय गर्छ त्यही हुन्छ।
पार्टी र गठबन्धनले निर्णय गरेपछि तपाईं उम्मेदवार बन्ने हो?
उहाँहरूले गरेपछि कुरा अघि बढ्छ।
अहिलेसम्म उम्मेदवार बन्ने मनस्थिति छैन?
अहिलेसम्म त्यो विषयमा केही भएको छैन।
यसको मतलब, पार्टी र गठबन्धनले चाहेमा तपाईं तयार हो?
हो।
तपाईं आफैं पार्टी अध्यक्ष हुनुहुन्छ, तपाईंले चाहेपछि स्वाभाविक उम्मेदवार होला नि?
मैले चाहनेभन्दा पनि पार्टीले चाहनुपर्यो अनि गठबन्धनले चाहनुपर्यो। त्यो कुरा ठूलो हो।
तपाईंको पार्टीका कतिपय नेताहरूले बारा-२ को उम्मेदवार तपाईं हो भनेर औपचारिक रूपमै भनिसकेका छन्?
जनताले नै डिमान्ड गरिरहेको छ।