मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा नेपालको तीन दशक लामो लोकतान्त्रिक यात्रामा कहिल्यै नदेखिएको दृश्य देखियो।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिँदा प्रहरीले उनीहरूलाई सासै फेर्न मुस्किल हुने गरी नाक-मुख थुनिदियो।
दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पुग्दा उद्घोषकले उनको सम्मान उठेर ताली बजाउन आग्रह गर्दै थिए। त्यहीबेला प्रधानमन्त्रीको नजिकै रहेका एक युवाले नारा लगाए- बैंकको मिटर ब्याज मुर्दावाद!, बैंकको ब्याज मिनाह गर्।
प्रहरीले उनलाई नियन्त्रणमा लिन लाग्दा अरू दुई युवा पनि नाराबाजीमा उत्रिए।
अचानक नाराबाजी भएपछि प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले तीनै जना युवालाई नियन्त्रणमा लिन खोजे। नारा लगाउनेहरूलाई नियन्त्रणमा लिएर भ्यानमा राख्दा प्रहरीहरूले अचम्मको शैली अपनाए, दुई-तीन जना मिलेर नारा लगाउनेहरूको मुख ट्याप्पै थुनिदिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल केही युवाहरूले असम्बन्धित कार्यक्रममा गएर जथाभावी नाराबाजी गरेपछि उनीहरूलाई पक्राउ गरिएको बताउँछन्।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।
‘कसैले आयोजना गरेको कार्यक्रममा अनाधिकृत रूपमा त्यसरी प्रवेश गरेर जथाभावी नाराबाजी गरेपछि हामीले नियन्त्रणमा लिएका हौं। कार्यक्रमसँग सम्बन्धित बोल्न त पाइयो। तर अरूले आयोजना गरेको कार्यक्रममा डिस्टर्ब गर्न त पाइएन,’ रिजालले भने।
प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।
‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने आफूहरूको माग भएको बताएका छन्,’ एसपी रिजालले भने।
नाराबाजीका क्रममा पनि उनीहरूले यही कुरा उठाएका थिए। यो कुरा पछिल्लो समय निकै चर्चा छ। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त सभा गरेर नै बैंकको ब्याज नतिर्न आह्वान गरिरहेका छन्।
पक्राउ परेका तीन जना युवा अहिले प्रहरीको बानेश्वर वृत्तको हिरासतमा छन्। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने कि नचलाउनेबारे प्रहरीले निर्णय गरिसकेको छैन।
सरकार प्रमुखको विरोध गर्ने वा उनीसमक्ष आफ्ना कुरा राख्न खोज्ने नागरिकको प्रहरीले मुखै थुनिदिएको उक्त घटनाका भिडिओ र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। लोकतन्त्रमा नागरिकको आवाज दबाउन पाइन्न भन्ने कुरालाई प्रतीकात्मक रूपमा प्रयोग गरिन्छ। तर मंगलबार बोल्न खोज्ने नागरिकको आवाज दबाउन प्रहरीले भौतिक रूपमै मुख बन्द गरिदिए पछि तीव्र आलोचना भइरहेको छ।
लोकतन्त्र विधिको शासन हो। यो प्रणाली आधारभूत रूपमा विधि र प्रक्रियामा चल्छ। लोकतन्त्रमा केही यस्ता व्यवहार र विम्ब हुन्छन् जसका माध्यमबाट नागरिकहरू आफू लोकतान्त्रिक शासन प्रणालीमा छौं भन्ने महशुस गरिरहेका हुन्छन्। आफैंले मतदानबाट चुनेर पठाएका सत्तासिनहरूको व्यवहार चित्त नबुझे उनीहरूले स्वतन्त्रतापूर्वक भन्न पाउँछन्, शान्तिपूर्ण रूपमा विरोध पनि गर्न सक्छन्। त्यही भएर नागरिकको अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अहम् पक्ष हो। यो कसीमा हेर्ने हो भने मंगलबारको घटना लोकतन्त्रको कुरूप विम्ब हो।
सत्ता गठबन्धनका दलहरूले भने मंगलबारको घटनालाई सामान्य रूपमा लिएका छन्। प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफूलाई उक्त घटनाबारे थाहै नभएको बताए।
बुधबार बिहान ८ बजे सेतोपाटीले यसबारे जिज्ञासा राख्दा उनले आफू भर्खर बालुवाटार पुगेको र घटनाबारे केही थाहा नभएको बताएका थिए।
‘त्यसो हो भने तपाईं घटनाबारे बुझ्नुहोला फेरि कुरा गरौंला’ भनेर संवाद टुंगिएको थियो।
एक घन्टापछि फेरि फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।
सत्तामा जान तम्तयार भएको अर्को दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले नाराबाजी गर्नेको मुख थुन्ने कुरा सरकारको निर्देशनभन्दा पनि घटनास्थलमा रहेका सुरक्षाकर्मीको तात्कालीक निर्णय भएको बताए।
‘सरकारले नै मुख थुन्नु भनेर निर्देशन दिएको होजस्तो मलाई लाग्दैन। ग्राउन्डमा भएका सुरक्षाकर्मीले मिसजजमेन्ट कारण त्यस्तो भयो होला,’ महतले भने,‘जे भएर भएको भए पनि बोल्छ भनेर नागरिकको मुखै थुन्न पाइन्न।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दानबहादुर कार्कीले मुख थुन्न निर्देशन नदिइएको बताए।
‘मुख थुन्नुस् भन्ने पनि निर्देशन कहिले हुन्छ र! मुख थुन्ने अभ्यास पनि छैन, जरूरी पनि छैन, कुनै आवश्यकता पनि छैन र गर्दा पनि गरिन्न,’ उनले भने, ‘हिजोको घटनामा पनि क्यामराले खिच्दा, सेकेन्ड सेकेन्डको एकै प्रकृतिको संयोगले खिचेका बेला त्यस्तो परेको होला। यो घटनालाई अतिरञ्जित गर्न खोजिएको छ।’
राजनीतिक दलका नेताहरूले सामान्य रूपमा लिएको र प्रहरी अधिकारीहरूले ‘त्यस्तो निर्देशन थिएन’ भनेर उम्किन खोजे पनि बोल्न खोज्ने नागरिकको मुख नै थुनिदिने दृश्य लोकतान्त्रिक शासन प्रणालीमा सामान्य र स्वाभाविक होइन। संविधानमै सुरक्षित रहेको नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई यस्ता घटनाले कुण्ठित गर्छन् भन्नेमा सबैले हेक्का राख्नुपर्छ।